Comments Add Comment

सागमा स्वर्ण विजेता सुजल श्रेष्ठ सम्मानित

३ पुस, काठमाडौं । सूर्यबहादुर थापा प्रतिष्ठानले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल धनकुटाका खेलाडी र प्रशिक्षकलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

सागको पुरुष फुटबलमा स्वर्ण जितेका नेपाली यू २३ राष्ट्रिय फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ तथा करातेका प्रशिक्षकद्वय कुशल श्रेष्ठ र तारा गुरुङलाई खेलकुदको माध्यमबाट धनकुटाको शान बढाएकोमा प्रतिष्ठानले सम्मान गरेको हो ।

नेपालले साग फुटबलमा भुटानलाई २-१ गोलले पराजित गर्दै लगातार दोस्रो पटक स्वर्ण जितेको हो ।

१३औं सागमा करातेमा नेपालले १० स्वर्ण, ४ रजत र ५ कांस्य जितेको थियो । जसमा कुशल र तारा प्रशिक्षक थिए । खेलाडीका रुपमा कुशल १० औं सागका स्वर्ण विजेता पनि हुन् ।

उनीहरुलाई प्रतिष्ठानका अध्यक्ष सुनील थापालगायलते दोसल्लाका साथै जनही नगद २५ हजार र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

थापाले सीमित श्रोत र साधनका बावजुद देशको गौरव बढाएकोमा खेलाडीलाई बधाइका साथै धन्यवाद दिँदै पदक विजेता खेलाडी र प्रशिक्षकले धनकुटालाई गौरवान्वित तुल्याएको बताए ।  उनले प्रतिष्ठानले विगतमा पनि खेलकुदको जागरण र विकासका लागि सहयोग गर्दै आएकोमा भविष्यमा पनि सहयोगले निरन्तरता पाउने प्रतिबद्धता जनाए ।

सम्मानित प्रशिक्षक श्रेष्ठले आफ्नो ठाउँको परिवारका सदस्यले गरेको सम्मानको छुट्टै महत्व हुने धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment