Comments Add Comment

बालबालिकालाई आवश्यक छ यी कुरा

धेरै अभिभावकलाई लाग्छ, आफ्ना बालबच्चालाई भौतिक सेवा र सुविधा उपलब्ध गराएपछि अभिभावकको जिम्मेवारी पुरा हुन्छ । त्यसैले उनीहरु आफ्ना बालबच्चालाई राम्रो खानपान, सुकिला लुगाफाटो उपलब्ध गराउँछन् । राम्रै विद्यालयमा पढाउँछन् । बैंक ब्यालेन्स गरिदिन्छन् । घर-घडेरी जोडिदिन्छन् । तर, यी कुराले मात्र पुग्दैन । बालबच्चालाई हुर्काउने क्रममा अरु थुप्रै कुराको ख्याल राख्नुपर्छ ।

स्नेह 

बच्चालाई जहिलेपनि अभिभावकको प्रेममय स्पर्शको खाँचो हुन्छ । बच्चाले यस्तो अनुभूत गर्न सकोस् कि आमाबुवाको निम्ती मेरो कति महत्व छ । एक सौम्य आलिङ्गान, थोरै प्रोत्साहन, प्रशंसाले बच्चालाई सधै खुशी राख्न सकिन्छ । साथसाथै आत्माविश्वास पनि बढाउन सकिन्छ । बच्चालाई कहिलेपनि आफू अपहेलित भएको वा आफ्नो कारणले अभिभावकलाई झर्को लागिरहेको छ भन्ने महसुस नहोस् । उनलाई आफ्नो जीवन मूल्यवान छ भन्ने कुरा बुझाउन सक्नुपर्छ ।

बच्चालाई प्रोत्साहित गरौं

यदि बच्चाले कुनैपनि राम्रो काम गर्ने प्रयास गर्छ भने अभिभावक त्यसको मुकदर्शक भएर बस्नुहुँदैन । वा बच्चाको सकारात्मक प्रयासप्रति तपाई बिना प्रतिक्रिया बस्नु उचित हुँदैन ।

चाहे त्यो जतिसुकै सानो काम किन नहोस् । यदि बच्चाले सकारात्मक ढंगले प्रयास गर्छ भने उसलाई प्रोत्साहित गर्नुपर्छ । यसले उनमा आत्ममनोबल त बढ्छ नै नराम्रो काम गर्नु हुँदैन भन्ने बोध पनि हुन्छ ।

 अर्को बच्चासँग तुलना नगरौं

अक्सर अभिभावकले गर्ने ठूलो गल्ती हो यो । आफ्नो बच्चाले राम्ररी खाएन, राम्ररी सरसफाई गरेन, राम्ररी गृहकार्य गरेन भने अभिभावकले अर्को बच्चासँग तुलना गरेर आफ्नो बच्चामा ईष्र्या पैदा गरिरहेका हुन्छन् । उनीहरुको मनोबल पनि कमजोर बन्दै जान्छ ।

अर्को महत्वपूर्ण कुरा के पनि हो भने कुनैपनि बच्चा समग्रमा पूर्ण हुँदैनन् । सबैको केही न केही कमजोरी हुन्छ । त्यसैले अर्को बच्चासँग उसको कुनै हालतमा तुलना हुन सक्दैन । बरु, आफ्नो बच्चाको प्रवृत्ति, गुण र क्षमतालाई बुझेर त्यही अनुसार उनलाई हौसला दिनुपर्छ ।

बच्चाको कुरा सुनौं

आमाबुबाले आफ्नो कुरामात्र बच्चामाथि लाद्ने होइन, उनको कुरा पनि सुन्नुपर्छ । मनन गर्नुपर्छ । बच्चाले के भन्न खोजिरहेको छ ? के चाहेको छ भन्ने कुरालाई बेवास्ता नगरौं । उनीहरुको कुरालाई गम्भीरतासाथ सुन्नुपर्छ । उनीहरुको भावनाको कदर गर्नुपर्छ ।

बच्चा यदि आमाबुबासँग कुराकानी गर्दैन भने आफूले नै त्यस्तो अभ्यास गर्नुपर्छ । ताकी बच्चा खुलेर कुरा गर्न सकोस् । यसले उनीहरु प्रष्ट रुपमा आफ्नो विचार राख्नसक्ने त हुन्छन् नै आत्माविश्वासी पनि ।

 परनिर्भर नबनाउनुहोस्

बच्चालाई माया गर्ने भनेर सबै काम अभिभावकले गरिदिनुपर्छ भन्ने होइन । कति अभिभावक बच्चालाई खाना ख्वाउने, दाँत सफा गरिदिने मात्र होइन, होमवर्क समेत गरिदिने हुन्छन् ।

यदि बच्चा सक्षम छ भने उसको सबै काम उसैलाई गर्न छाडिदिनुपर्छ । उसले खेलेको खेलौना आफैलाई मिलाउन दिनुपर्छ । खाना आफै खान दिनुपर्छ । लुगा लगाउन, पुस्तक मिलाएर ब्यागमा राख्न, जुत्ताको लेस बाँध्न, दाँत ब्रस गर्न सबै काम बच्चालाई गर्न दिनुपर्छ । यदि उसले नसकेको आवस्थामा आफूले सहयोग गर्न सकिन्छ । यसले बच्चालाई कर्मशिल, स्वभिमानी बनाउँछ । साथै आमाबुबालाई सहज पनि हुन्छ ।

संस्कार दिनुहोस्

बच्चालाई सानैदेखि संस्कार सिकाउँदै लानुपर्छ । संस्कारले मानिसलाई पथभ्रष्ट हुन दिँदैन । पितापूर्खाले अँगाल्दै आएको संस्कारमा बच्चालाई पनि अभ्यस्त बनाउँदै लानुपर्छ ।

कसरी बोल्ने, कस्तो व्यवहार गर्ने भन्ने कुरा सानैदेखि अनुभूत गराउनुपर्छ । आफूले मनाउँदै आएको चार्डपर्व विधिगत रुपमा कसरी मनाउने र त्यसको सामाजिक, सांस्कृतिक फाइदाबारे पनि बुझाउनुपर्छ ।

स्वस्थ्य दिनचर्यामा अभ्यस्त बनाउने

बच्चालाई सही समयमा सुताउने, उठाउने, ख्वाउने, शौचालय पठाउने अभ्यास गर्नुपर्छ । घरमा यस्तो तालिका निर्धारण गर्न सकिन्छ । जस अनुरुप बच्चाको दैनिकी तय होस् । राति सही समयमा सुताउने, उठ्ने समय पनि निर्धारण गरिदिने । ठिक-ठिक समयमा खाने बानी गराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment