Comments Add Comment

बाँसपानी हत्याकाण्ड : दश वर्षसम्म पीडितलाई न्याय न क्षतिपूर्ति

४ पुस, सुर्खेत । दश वर्षअघि बर्दिया राष्ट्रिय निकुञ्जको सीमा क्षेत्र बाँसपानीमा नेपाली सेनाले गोली चलाउँदा सुर्खेत हरिहरपुर कप्सेराका तीन महिलाको घटनास्थलमै मृत्यु भयो ।

विसं २०६६ फागुन २६ गते निकुञ्ज सुरक्षार्थ खटिएका सेनाले गोली चलाउँदा ३५ वर्षीय देवीसरा सुनार, १३ वर्षीय चन्द्रकला र २९ वर्षीय अमृता सुनारको मृत्यु भएको थियो । देवीसरा र चन्द्रकला आमाछोरी हुन् ।

पीडित परिवारले न्याय पाउनुको साटो १० वर्षसम्म उल्टै घटना ओझेलमा पारिएको गुनासो गरेका छन् । ‘घटनापछि विभिन्न आयोग र छानबिन समिति पनि बने, ती सबैको निष्कर्ष पीडितलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्नु भन्ने नै थियो’, मृतक अमृताका पति रत्नबहादुरले भने, ‘उल्टै घटना सामसुम पारियो, दोषीलाई कारवाही त के क्षतिपूर्तिसमेत पाउन सकिएन ।’ न्याय र उचित क्षतिपूर्तिको आशामा पीडित परिवारका सदस्य वीरेन्द्रनगर आइपुगेका छन् ।

देवीसराकी छोरी शान्तिले सबैतिरबाट कारबाहीको सिफारिस हुँदासमेत सरकारले दोषी सैनिक कर्मचारीलाई कारबाही गर्न नसकेको बताइन् । शान्तिको आरोप छ, ‘सेना र वनरक्षकको टोलीले घेरा हालेर नियन्त्रणमा लिइ हत्या गरेको हो, आफ्नै वनमा काउलो टिप्न जाँदा सेनाको गोली खानुपर्‍यो ।’ हालसम्म मृतकका परिवारले तीन लाख मात्र पाएको बताएका छन् ।

‘हाम्रो आम्दानीको मुख्य स्रोत काउलो थियो, त्यही काउलो लिन गएकी श्रीमती गुमाएँ’, रत्नबहादुरले भने, ‘राज्यबाटै पीडित भयौँ, अहिले बालबालिकाको बिचल्ली छ, न दोषीलाई कारवाही भयो न क्षतिपूर्ति पाइयो ।’ घटनापछि तत्कालीन सरकार, नेपाली सेना र निकुञ्ज कार्यालयले पीडित परिवारलाई १० लाख क्षतिपूर्ति तथा दोषी सैनिकलाई कारबाही गर्ने आश्वासन दिएको थियो ।

पीडित परिवारले सहमतिअनुसार क्षतिपूर्ति र दोषीलाई कारबाही हुनुपर्ने मागसहित पुनः दबाब बढाएका छन् । घटनापछि निकुञ्ज कार्यालयले किरिया खर्च उपलब्ध गराएको थियो ।

उक्त क्षेत्रका कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्टले पीडित परिवारका सदस्यले चासो नदिएकाले समयमै राहत तथा क्षतिपूर्ति दिलाउन पहल नभएको बताए ।

उनले त्यतिबेलाको सहमतिका आधारमा क्षतिपूर्ति दिलाउन गृह मन्त्रालयसमक्ष पहल गरिसकेको जानकारी दिँदै भने, ‘फाइल पेश भइसकेको छ, यो विषयमा मैले पटक-पटक गृहमा पुगेर दबाब पनि दिएको छु ।’

के भएको थियो बासँपानीमा ?

विसं २०६६ फागुन २६ गते बाँसपानी कालिकास्थानमा गाउँलेहरु जङ्गलमै बास बसेका थिए । बर्दिया राष्ट्रिय निकुञ्जका चार वनरक्षक र निकुञ्जको सुरक्षार्थ खटिएका ज्वाला दल गणका सहसेनानी सुबोध कुँवरको नेतृत्वमा पुगेको १७ जनाको टोलीले गाउँले सुत्ने तयारी गरिरहेका बेला हवाई फायरिङ गर्‍यो । पुरुषहरु भाग्न सफल भए भने महिलाहरु ओढारमा लुकेका थिए । लुकेकै अवस्थामा सेनाले गोली प्रहार गर्दा तत्कालीन हरिहरपुर गाविस-२ कप्सेराका तीनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनापछि सरकारले विसं २०६६ चैत ४ गते सहन्यायाधिवक्ता सरोजप्रसाद गौतमको संयोजकत्वमा वन तथा भू-संरक्षण र रक्षा मन्त्रालयका प्रतिनिधि सम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, इन्सेकलगायतले घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै दोषी सैनिक कर्मचारीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

तत्कालीन व्यवस्थापिका संसद्अन्तर्गतको महिला तथा बालबालिका समितिले पनि सर्वसाधारण हत्या घटनामा संलग्न सहसेनानी सुबोध कुँवरसहित १७ जनालाई कारबाहीका लागि सरकारलाई निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment