Comments Add Comment

लोकसेवालाई वजेट खर्च गर्न स्वतन्त्र छोड्नुपर्छ : अध्यक्ष मैनाली

४ पुस, काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगलाई विनियोजित बजेट खर्च गर्न स्वतन्त्र अधिकार दिनुपर्ने बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा लोकसेवा आयोगसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको छलफलमा अध्यक्ष मैनालीले आयोगले परीक्षा सञ्चालनका निम्ति पाउने विनियोजित बजेट स्वतन्त्र रुपमा खर्च गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताएका हुन् ।

विधेयकको दफा ४७ मा ‘नेपाल सरकारले आयोगको लागि बजेटमा छुट्याएको रकम प्रचलित कानून बमोजिम आयोगले खर्च गर्न सक्नेछ’ उल्लेख गरिएको भन्दै त्यसलाई सच्याउन माग गरे ।

उनले आयोगले सानो खर्च गर्न पनि अर्थमन्त्रालयको स्वीकृति लिनुपर्ने अवस्था आउने भएकाले दफा ४७ मा उल्लेख भएको विषय सच्याउनुपर्ने बताए ।

अध्यक्ष मैनालीले आयोगले अहिलेसम्म गर्दै आएको खर्च पूर्ण रुपमा पारदर्शी भएको र कुनै पनि बेरुजु नरहेकोले खर्चमा नियन्त्रण गर्ने खालको व्यवस्था गर्नु उचित नहुने बताए ।

अध्यक्ष मैनालीले आयोगको खर्चसम्बन्धी विकल्प खुलाई विधेयकमा लोकसेवा परीक्षा सम्बन्धी खर्च मात्र गर्नेगरी उल्लेख गर्न सकिने उपाय पनि सुझाव दिए । समितिमा रहेका कांग्रेस सांसदहरुले भने यस अघि नै संशोधन प्रस्ताव राख्दै विनियोजित रकम आयोगले निर्धारण गरेबमोजिम खर्च गर्न सक्ने व्यवस्था हुनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment