Comments Add Comment

नेपाली रसायनशास्त्री अधिकारी युनेस्कोबाट पुरस्कृत

४ पुस, काठमाडौं । नेपाली रसायनशास्त्री एवं त्रिभुवन विश्वविद्यालयका रसायनशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा. अच्युत अधिकारीलाई संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले पुरस्कृत गरेको छ ।

युनेस्कोले वर्ड एकेडेमी अफ साइन्स मार्फत् दिने ‘अट्टा–उर–रहमान पुरस्कार–२०१९’ नेपालका रसायनशास्त्री अधिकारीलाई दिने निर्णय गरेको हो । हरेक वर्ष विभिन्न क्षेत्रमा खोजी गरेबापत एक जना रसायनशास्त्री वा वायोकेमिस्टलाई दिइने सो पुरस्कारको राशी ५ हजार अमेरिकी डलर छ ।

अधिकारीले नेपालमै हुने प्राकृतिक उत्पादन टिमुरको प्रयोग गरेर मधुमेह र रक्तचाप लगायत रोगहरुबाट मुक्ति पाउन सकिने विषयमा खोजी गरेका थिए । युनेस्कोको पुसरुकारले प्राकृतिक उपचार विज्ञान र अरु पनि वैज्ञानिक खोजको लागि आफूलाई थप उर्जा मिलेको प्रतिक्रिया दिए । यो पुरस्कार केवल आफू र रसायन शास्त्र केन्द्रीय विभागको मात्रै नभएर सिंगो नेपालकै लागि खुशीको कुरा भएको उनले बताए ।

पाकिस्तानबाट विद्यावारिधि गरेका उनले ब्राजिलबाट महाविद्यावारिधिको उपाधि पाएका थिए । झण्डै साढे २ वर्षअघि उनी नेपाल फर्किएर प्राकृतिक उत्पादन अनुसन्धान प्रयोगशाला स्थापना गरेका थिए । सोही प्रयोगशालाबाट उनले नयाँनयाँ अनुसन्धान गर्दै आएका छन् । उनका अनुसन्धानहरु स्थानीय बोटबिरुवाहरुसँग सम्बन्धित छन् ।

चिकित्सासम्बन्धी उपयोगी वस्तुको खोजीले विश्वव्यापी बजारमा नेपालको महत्व बढाउन सक्ने भन्दै उनले यो पुरस्कारले नेपाली वैज्ञानिकहरुलाई एउटा नयाँ उर्जा दिने उनले बताए ।

‘जब म पाकिस्तानमा थिएँ, मेरो उद्देश्य फरक थियो,’ उनले भने, ‘मधुमेह र क्यान्सरका लागि प्राकृतिक वनस्पतिहरुको खोजीमा नै म त्यहाँ केन्द्रित भएको थिएँ । जब म नेपाल फर्किएँ, मेरो ध्यान परिवर्तन भयो । हामीसँग परिष्कृत प्रयोगशालाहरू छैनन्, त्यसैले हामी गहन अनुसन्धान गर्न सक्दैनौं भन्ने लागेर नै मैले यो प्रयोगशालाको स्थापनातिर ध्यान केन्द्रित गरेको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment