Comments Add Comment

जल्दै गरेको शव प्रहरीद्वारा बरामद, हत्या भएको आशंका

४ पुस, वीरगञ्ज । बाराको पचरौता नगरपालिका–१, पिपरपातीबाट प्रहरीले एक महिलाको शव बरामद गरेको छ । जमुनी खोला छेऊ दशगजा क्षेत्रमा जलाउँदै गरेको अवस्थामा मालती देवीको शव नियन्त्रणमा लिइएको हो ।

मालती स्थानीय रामदयाल महतोको श्रीमती हुन् ।

महतोको घरदेखि चार सय मिटर दूरीमा रहेको नेपाल भारत सीमाना नजिकैबाट जल्दै गरेको शव नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मालतीको हत्या भएको आशंकामा अनुसन्धानका लागि शव नियन्त्रणमा लिइएको बारा प्रहरीले जानएको छ । रामदयाल दुई सन्तानसहित फरार छन् ।

भारत मोतिहारी जिल्ला जुवाफर गाउँ माइतीघर भएकी मालतीको हत्यापछि शव जलाइएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । रामदयालले मदिरा सेवन गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी नायब निरीक्षक विरेन्द्र महतोले कालगतिले मरेको अवस्थामा घरका सदस्यले शव अलपत्र छाडेर नभाग्ने बताउँछन् । ‘कालगतिले मरेको भए घरका सदस्य भाग्ने नै थिएनन्’, उनले भने, ‘शव जल्न छाडेर सबै भाग्नुले हत्या भएको आशंकालाई बलियो बनाएको छ ।’

बिहान पौने ११ बजेतिर गाउँमा मानिसको मृत्यु भएकोबारे प्रहरीले सूचना पाएको थियो । लगत्तै खोजतलासका लागि पुगेको प्रहरी टोलीले गाउँमा केही फेला पार्न सकेन । रामदयालको घरदेखि ४ सय मिटर पर शव जल्दै गरेको देख्यो । प्रहरी पुग्दा शरीरको अधिकांश भाग जलिसकेको थियो । त्यसपछि पानी हालेर आगो निभाइएको थियो ।

बाराका प्रहरी उपरीक्षक विकासराज खनालले हत्या भएको आशंकामा जल्दै गरेको शव नियन्त्रणमा लिनुपरेको बताए । उनले भने, ‘प्रहरी पुग्दा अधिकांश भाग जलिसकेको रहेछ, पिठ्यु, भूँडी लगायतका बाँकी भाग संकलन गरेर अनुसन्धानका लागि ल्याएका छौं ।’

घरका सदस्य ढोका थुनेर भागेको र गाउँलेले घटनाबारे केही नबोलेकाले अनुसन्धानमा समस्या भईरहेको उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment