Comments Add Comment
एक अर्ब चिनियाँ सहयोगमा बनेको विद्यालयको कथा :

एक अर्ब चिनियाँ सहयोगमा बन्यो विद्यालय, शिक्षक भन्छन्- माग्नेलाई हात्ती जस्तो हुने हो कि !

५ पुस, सिन्धुपाल्चोक । राजधानी काठमाडौं र उत्तरी छिमेकी देश चीनलाई जोड्ने जिल्ला सिन्धुपाल्चोकको नाम बढीजसो मृत्युका घटनामा जोडिएर आउँछ । कहिले जुरे पहिरो, कहिले भूकम्प र केही वर्षयता सवारी दुर्घटनाले सिन्धुपाल्चोकलाई सुनाइरहेको छ, देखाइरहेको छ । कीर्तिपुर घर भएका एकजना पत्रकारले एउटा कार्यक्रममा भाग लिन सिन्धुपाल्चोक जाँदै छु भन्दा श्रीमती धुरु-धुरु रोएको सुनाएका थिए गत वर्ष । उनी सदरमुकाम चौतारा पुग्नेवित्तिकै ‘म सुरक्षित छु, आत्तिनु पर्दैन, भरे नै फर्कन्छु भनेर घरमा सूचना दिएका थिए । यस्ता घटनाले सिन्धुपाल्चोकमा खुशी, पनि छ र ? भन्ने परेको हुनसक्छ धेरैलाई । सिन्धुपाल्चोकबासी आ-आफ्नै संघर्षमा छन्, भूकम्पले बाँचेकाहरु नाफाको जिन्दगीमा रमाइरहेकै छन् ।

यहाँ चर्चा गर्न लागिएको विषय भने जिल्लाको जुगल गाउँपालिका वडा नं. ५ चनौटेमा रहेको रत्नराज्य माध्यमिक विद्यालयको हो । जहाँ एक अर्ब बढी लगानीमा एउटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार तयार भएको छ । यसबाट हिमाली गाउँमा खुसी छाएको छ ।

स्थानीयको आग्रहअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले समय मिलाउन सकेमा अबको केही दिनमा यो सामुदायिक विद्यालयको आँगनमा ती भाग्यमानी विद्यार्थीहरुले मार्चपास गर्नेछन्, जसले अन्तर्राष्ट्रिय स्तरको भौतिक सुविधा प्रयोग गरेर शिक्षा हासिल गर्न पाउनेछन् । नवनिर्मित भवनका हरेक कक्षाकोठा, बेञ्च, डेस्क, खेल मैदान सबैले विद्यार्थीलाई कुरिरहेका छन्, जसरी विद्यार्थीले नयाँ भवन । नायँ भवन बनेपछि अहिलेसम्म यो विद्यालयको आँगनमा विद्यार्थीको पाइलो पर्न पाएको छैन । विद्यार्थी भूकम्पपछि बनाइएको अस्थायी सिकाइ केन्द्रमा पढेर नयाँ भवन हेर्दै फर्कन्छन् ।

काठमाडौंबाट अरनिको राजमार्ग हुँदै ७० किलोमिटर यात्रा गरेपछि सिन्धुपाल्चोकको बलेफीबजार पुगिन्छ । बलेफी गाउँपालिकाको केन्द्र समेत रहेको बलेफीमा भोटेकोशी र ब्रम्हायणी नदीको मिलाप हुन्छ । मिलेर पनि निकै टाढासम्म आ-आफ्नै रंगमा बग्ने विशेषताका यी दुई नदीलाई देख्दा दल मिलेर पनि मन नमिलेका नेपाली राजनीतिक दलको याद आउँछ । बलेफीको पुल तरेलगत्तै तातोपानी नाका हुँदै तिब्बत पुग्ने अरनीको राजमार्ग छोडेर बायाँ मोडिएपछि दीर्घ रोगले थलिएको बिरामी जस्तै कहिल्यै नसुधि्रएको बलेफी-जलविरे-तेम्बाथान सडक सुरु हुन्छ । यही सडकको यात्राले रत्नराज्य माविसम्म पुर्‍याउँछ, जसको काँचुली फेरिएको कथाको वरिवरि छौं हामी ।

यो पनि पढ्नुहोस ‘स्वीटजरल्याण्ड’ जस्तै सिन्धुपाल्चोक !

बलेफीबाट सात किलोमिटरको यात्रामा लगातार तीन पटकसम्म यो क्षेत्रबाट जनताले निर्वाचित गरेर पठाएका सांसद एवं पूर्वमन्त्री, हाल सभामुखको दाबेदार अग्नि सापकोटाको घर आइपुग्छ । सापकोटाको चर्चा किन पनि गरिएको छ भने, राजनीतिमा लाग्नुअघि शिक्षण पेशामा रहेका सापकोटाकै पहलमा रत्नराज्य माविको अत्याधुनिक भवन बनाउन चीन सरकारले सहयोग गरेको हो । जिल्लाका सयौं विद्यालय भूकम्पले भत्किँदा उनले हिमाली भेगको योसहितका विद्यालय भवन बनाइदिन चीन सरकारलाई मनाएका थिए । सापकोटाको घरबाट तीन किलोमिटर अघि बढेपछि ऐतिहासिकता बोकेको जलबिरे बजार छ । ब्रम्हायणी नदीको किनारै किनार काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमशृंखलाको बेस क्याम्पतर्फ लाग्दै गर्दा केही माथि जुगल गाउँपालिको अस्थायी केन्द्र ढाँडे बजार छ । ढाँडेमा पक्कि पुल बनेको छ, पुल नहुँदा वर्षातमा जुगल गाउँपालिकामा सवारी साधन जान सक्ने अवस्था थिएन । ढाँडे बजारबाट फराकिलो तर हिलाम्ये चार किलोमिटर बाटो पार गरेपछि रत्नराज्य मावि चनौटे पुगिन्छ । विद्यालयको भौतिक पूर्वाधारले जीर्ण सडकमा हिँड्नुपर्दाको दुःख बिर्साइदिन्छ । त्यससँगै जीर्ण सडकको स्तरोन्नती गर्न अग्नि सापकोटाले किन ढिलाइ गरेका होलान् भनेर प्रश्न उब्जिन्छ ।

विद्यालयको सुख-दुःख

बिकट बराम्चीमा विक्रम सम्बत २०२० सालमा स्वीकृत यस विद्यालयमा २०३४ सालपछि निम्न माध्यमिक तहमा पठनपाठन सुरु भएको थियो । २०४६ सालमा माध्यमिक र २०६५ सालमा उच्च मावि तहको पढाइ सुरु गरेको रत्नराज्य मावि जुगल गाउँपालिकमै दश जोड दुई कक्षा सञ्चालमा रहेको एक मात्रै विद्यालय हो । २०७२ सालको भूकम्पले पूर्णरुपमा ध्वस्त हुन पुगेको यस विद्यालयको चार वर्ष यताको पठनपाठन पाखोबारी बनाइएका स-सना अस्थायी सिकाइ केन्द्रमा सञ्चालित छ । तीनै पाखोबारीबाट पुग-नपुग पाँच सय विद्यार्थी नयाँ भवनमा छिट्टै छिर्ने आशामा छन् । उनीहरुको धैर्यता त्यति बेलासम्म हुनै पर्छ, जति बेलासम्म निर्माण गरिएको भवन चीनले हस्तान्तरण गर्ने छैन ।

रत्नराज्य माविको विद्यालय भवन बनाउन  विभिन्न पहल भइरहँदा चीन सरकारले नेपालका हिमाली जिल्लामा दश वटा विद्यालय बनाउने सहमती भएको थियो । सोही सहमतीअनुसार एउटा कोटा सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित रत्नराज्य माविमा पार्ने मुख्य भूमिका सांसद अग्नि सापकोटाको थियो । यसमा हाल जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठलगायतको पनि साथ सहयोग छ ।

जुगल गाउँपालिकाका उपल्लो भेगका बालबालिकालाई कक्षा आठदेखि पढ्न डेरा लिएर बस्नुपर्ने बाध्यता छ, त्यस्ता विद्यार्थी रत्नराज्यमै पढ्दै आएका छन् । किशोरी र दलित बालबालिकाले अप्ठेरो बेहोर्न नसकेर विचैमा विद्यालय  छोड्ने गरेका थिए । किशोरीलाई सुरक्षाको अनि दलितलाई डेराको समस्या थियो । रत्नराज्य माविमा बनाइएको छात्राबासले यी समस्या समाधान गर्ने विश्वास अविभावकको छ ।

२०७४ साल साउन १४ गते भवन निर्माणको शिलान्यास भइ काम सुरु भएको थियो । शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले शिक्षा विभागमै भवनको शिलान्यास गरेपछि काम सुरु भएको थियो । भवन निर्माण गर्दा प्रयोग भएको बालुवा र गिट्टी मात्रै नेपाली प्रयोग गरिएको छ । अरु सबै सामान र कामदार चिनियाँ नै हुन् । अहिले पनि हाराहारी २० चिनियाँ कामदार विद्यालयमै विविध काम गरिरहेका छन् । वरिपरि बार लगाएर लगातार २८ महिनाको मेहनतपछि भौतिक पूर्वाधार निर्माणको काम सकिएको छ । अब विद्यालयको सुखको दिन सुरु हुँदैछ ।

भौतिक संरचना

विद्यालयका तीन ठूला भवन छन् भने तीन साना । मूल गेटबाट भित्र छिरेलगत्तै बायाँपट्टि सुरक्षाका लागि गार्ड घर छ, अनि डाइनिङ, अर्को क्यान्टिन ।  दायाँपट्टि भलिबल कोर्ट अनि ससाना बालबालिका खेल्ने ठाउँ छ । नजिकै ब्याडमिन्टन कोर्ट, कुनापट्टि बडेमानको पर्खाल छ । अलि अघि बढेपछि कृत्रिम दुबो बिछ्याइएको आकर्षक फुटसल मैदान छ ।

अझ अघि बढेपछि विद्यालयका ठूला भवन देखिन्छन् । लहरै तीन वटा भवन भए पनि अघिल्लो भागबाट एउटा मात्रै देखिन्छ । सबैभन्दा पल्लो छेउमा होस्टेल छ । चारतले उक्त भवनमा ७५ वटा कोठा छन् । सो भवनमा ६ सय ३० जना विद्यार्थी र सोहीअनुसारका शिक्षकले आवासीय सुविधा उपभोग गर्न सक्ने छन् ।

दोस्रो प्रशासनिक भवन हो, जसमा अत्याधुनिक प्रयोगशाला, कम्प्युटर ल्याब, अडिटोरियम हलसहित १५ वटा कोठाहरु छन् । तेस्रो अर्थात् अग्रभागमा देखिने भवनमा २२ वटा कक्षा कोठा छन् ।

भवनहरु चिनियाँ शैलीमा निर्माण गरिएका छन् । कक्षा कोठामा एक विद्यार्थी, एक बेञ्च-टेबल राखिएका छन् । शौचालय र अन्य भौतिक बनावट कुनै तारे होटलभन्दा कम लाग्दैन । होस्टेल भवनको छतमा सोलार प्यानल राखिएको छ, जसबाट विद्युतीय उपकरण चलाउन र बत्ती बाल्न सकिन्छ । विद्यालय परिसरमा आकर्षक र व्यवस्थित डस्टबिन राखिएका छन् । भवनको कुनापट्टि पहिरो रोकथामका लागि अग्लो पर्खाल लगाइएको छ ।

चिन्ता र चुनौति

भवन निर्माणकै क्रममा शिक्षा विभागका अधिकारीहरु र चिनियाँ सरकारको उच्च टोलीबीच भएको एक बैठकपछि विभागका महानिर्देशक बाबुराम पौडेलले भवन सफा गर्ने मानिसको खाँचो हुन सक्ने यथार्थ औंल्याएका थिए । विद्यालयलाई आउने अनुदानले धान्न सक्छ त ? विद्यालयका शिक्षक एवं भवन निर्माणका लागि भाषा र प्रशासनिक सहयोगमा खटिएका पुष्पराज तिमल्सिनाले शंका व्यक्त गरे । ‘हाम्रो भाग्योदय त भएको छ, कुशल व्यवस्थापन गर्न सकिएन भने कतै माग्नेलाई हात्ती जस्तो हुने त होइन भन्ने डर छ,’ अग्लो भवनतर्फ फर्किएर उनले सुनाए ।

‘बिजुलीको बिलमात्रै मासिक सत्तरी हजार बढीको आउने गरेको छ । सफाइ कर्मचारी राख्न सक्ने अवस्था छैन । दुर्गम भेगबाट आउने गरिब किसानका छोराछोरीसँग शुल्क उठाउने अवस्था छैन । भवनअनुसार गुणस्तरीय शिक्षा दिनु पनि विद्यालयको चुनौति छ,’ उनले भने ।

कुल १ सय ११ कोठासहितको यो भवन बनाउन कति खर्च लाग्यो होला त ? सुरुमा चिनियाँले तिमीहरुलाई पैसा चाहिएको हो कि विद्यालय ? भनेका रहेछन् । चिनियाँहरुको यो जवाफले खर्चको हिसाबलाई दोहोर्‍याएर उठाउन मन नलागेको सुनाएका शिक्षक तिमल्सिनाले सबै भवनसहितका सबै काम पूरा गर्न १ अर्ब बढी खर्च लागेको हुन सक्ने सुनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा अध्यक्ष सनतकुमार अधिकारी बाटोका कारण  सामान ढुवानीमा भएको अप्ठेरो भवन निर्माण सम्पन्न भएपछि बिर्सिएको बताउँछन् ।

– शब्द/तस्वीर : श्रीधर न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment