Comments Add Comment

राजबिराजका रिलवाला फोटोग्राफर !

५ पुस, सप्तरी । अहिले नेपालीका हात-हातमा मोवाइल फोन छन्, जसमा औंलाले छुनासाथ फोटो कैद हुन्छ । मोबाइलको क्यामेराले पत्रकारिता पेशालाई पनि सजिलो पारेको छ । सामाजिक सञ्जालमा ताजा फोटोहरु पोस्ट गर्नेसम्मको चलन सामान्य बनेको छ । न फोटो खिच्न क्यामेरा चाहियो, न त रिल धुलाउन ल्याब ।

सप्तरीका पुराना फोटो पत्रकार राधेश्याम रमण (६९) लाई आज उपलब्ध प्रविधि चमत्कारजस्तो लाग्छ । करिब पाँच दशकदेखि सप्तरी जिल्लाको सामाजिक-राजनीतिक परिवर्तनको तस्वीर खिचिरहेका उनी पनि अहिले पछिल्लो प्रविधिको प्रयोग गरिरहेका छन् ।

‘हाम्रो जमानामा फोटोग्राफी त के, पत्रकारिता नै लेटर प्रेसको युगमा थियो’, उनी भन्छन्, ‘हातले अक्षर कम्पोज गरिने पत्रिकामा छापिने फोटो तयार पार्न फलामको च्युरा चपाए सरह हुन्थ्यो ।’

उत्सुकताले फोटोग्राफितिर

विसं. २०१९ सालमा राधेश्याम रमण राजविराजको बिन्देश्वरी माध्यमिक विद्यालयमा कक्षा ५ मा थिए । त्यसबेला कसैले उनको पूरै परिवारको फोटो खिचेर भारतको दरभंगाबाट धुलाएर ल्याइदिए । काठको बाकसजस्तो जिनिसले निकालेको खिचिक्क आवाज फोटो भएर आउँदा बालक रमणलाई लाग्नसम्म अचम्म लाग्यो । उनी सम्झन्छन्, ‘जतिबेला पनि मलाई खुल्दुली लागिरहृयो- त्यो कसरी भयो ?’

विसं. २०२५ सालमा रमणलाई नेपाली नागरिकता बनाउनुपर्ने भयो । त्यसका लागि फोटो चाहिने भयो । त्यसबेला राजविराजमा रत्न फोटो स्टुडियो चालु थियो । त्यहाँ फोटो खिचाउन जाँदा उनले ठूलो जिज्ञासाका साथ स्टुडियोको छेउकुना नियाले ।

फोटो खिच्न बेञ्चमा बसाइएका उनले स्टुडियोको छतमा सानो प्वाल पारेर छिराइएको प्रकाश, चारपाटे डिब्बाजस्तो क्यामेरा, मास्तिर कागजले छोपेको लेन्स आदिलाई ध्यानपूर्वक नियाले ।

जीवनमा पहिलो पटक फोटो स्टुडियो छिरेका उनले फोटो खिचिसकेपछि त्यसबारे धेरै कुरा सोधे । ‘मैले जति सोधे, फोटोग्राफरले त्यसको आधा उत्तर दिए’, रमण सम्झन्छन्, ‘तर, उनले भनेको एक-एक कुरा मेरो दिमागमा घुसेर बस्यो ।’

त्यसपछिको फुक्काफाल समयमा उनले राजविराज-दरभंगा हुँदै पटनासम्म पुगेर दिनहरु बिताउन थाले । एउटै ध्येय थियो- फोटोग्राफी । ‘दरभंगाको कला मन्दिर फोटो स्टुडियोमा सप्तरीकै कोइलाडी निवासी रामेश्वरप्रसाद सिंहले काम गर्नुहुन्थ्यो’ रमणले भने, ‘उहाँ नै मेरा फोटोग्राफीका गुरु ।’

सिंहले उनलाई फोटो विद्या मात्र सिकाएनन्, काम पनि लगाइदिए । करिब एक वर्ष त्यहीँ काम गर्दा त्यसबेलाको व्यवसायिक फोटोग्राफीमा पोख्त भए रमण । ‘मासिक २५ रुपैयाँ भारु तलवसमेत पाएँ’, उनी सम्झन्छन्, ‘त्यो बेलाको २५ रुपैयाँले अहिलेको २५ हजारले जति काम गर्थ्यो ।’

२०३३ सालसम्म राजविराजमा घामछायाँ र श्रेष्ठ फोटो स्टुडियो पनि थपिएका थिए । रमणले ती दुबैमा काम गरे । २०३४ माघ १५ गतेको साइत पारेर उनले आफैं स्टुडियो खोले- रमण फोटो स्टुडियो । यो पछि राजबिराजको चल्तीको स्टुडियो बन्यो ।

रमणका अनुसार, त्यसबेला रिलमा खिचिएको आकृति (नेगेटिभ) इनलार्जर मेसिनमा राखेर ब्ल्याक एण्ड हवाइट फोटो धुलाइन्थ्यो । फोटो पनि सबभन्दा बढी पासपोर्ट साइजको खिचिन्थ्यो । एक तास फोटोको चार रुपैयाँ लिने गरेको रमण सम्झन्छन् ।

डिजिटल प्रविधि भित्रिएपछि इनलार्जर मेसिन मेसिन सडिएको उनले बताए ।

फोटो पत्रकारितातिर

रमणले स्टुडियो चलाएका बेला काठमाडौंका पनि कमै पत्रिकामा फोटो छापिन्थे । लेटर प्रेसमा छपाई हुने पत्रिकामा फोटो हाल्न काठको ब्लक बनाउनुपथ्र्यो । ०३५ सालमा राजविराजकै नवीन साप्ताहिकले फोटो छाप्ने इच्छा गरेपछि ब्लक बनाउन रमण पटना पुगे ।

त्यसपछि जनमत, गोरेटो लगायतका साप्ताहिक पत्रिकामा आफूले खिचेर, धुलाएर, ब्लकसमेत बनाएर दिएका तस्वीरहरु छापिन थालेको रमण बताउँछन् । ‘पछि काठमाडौंमा पनि फोटो पठाउन थालेँ’, उनी भन्छन्, ‘मेरा सबभन्दा बढी तस्वीर दृष्टि साप्ताहिकमा छापिए, सबै नि:शुल्क ।’

२०४९/०५० ताका सप्तरीमा दृष्टि साप्ताहिकका लागि रिपोर्टिङमा लोकेन्द्र बुढाथोकी (हाल स्वर्गीय) र फोटोका लागि आफू खटिने गरेको रमणले सम्झिए ।

‘अहिलेको डिजिटल प्रविधिले फोटोग्राफीलाई एकदमै सजिलो पारिदिएको छ’ उनी भन्छन्, ‘मलाई भने पहिला गरेको झञ्झटिलो फोटोग्राफी सम्झँदा बढी आनन्द लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment