Comments Add Comment

लोकेश बमको अर्धशतकको बाबजुद चितवनको चौथो जित

आरिफ र सन्नीबीच १६ बलमा ५४ रनको साझेदारी

६ पुस, पोखरा । पोखरामा भइरहेको पोखरा प्रिमियर लिग (पीपीएल) मा आज चितवन राइनोजले लगातार चौंथो जित निकालेको छ । विराटनगर टाइटन्सविरुद्धको खेल चितवनले १८ रनले जित्दै चितवनले फाइनलमा आफ्नो सम्भावना मजबुत बनाएको हो ।

चितवनले दिएको एक सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर एक सय २८ रनमा अलआउट भएको थियो । विराटनगरका युवा ब्याट्सम्यान लोकश बमले उत्कृष्ट अर्धशतक बनाए पनि टिमलाई जितसम्म पुर्‍याउन सकेनन् । ८.२ ओभरमा विराटनगरले ३७ रन मात्र बनाउँदा ६ विकेट गुमाइसकेको थियो । तर, बमले भारतीय ब्याट्सम्यान पुनित मेहरासित बलियो साझेदारी गर्दै विराटनगरलाई खेलमा फर्काएका थिए ।

आठौं नम्बरमा आएका बमले सुझपूर्ण आक्रमण गर्दै ३६ बलमा ६२ रन बनाएर आउट भए । उनले ५ चौका र ५ छक्का प्रहार गरेका थिए ।

विराटनगरलाई पछिल्ला दुई ओभरमा ३३ रन चाहिएको थियो । स्ट्राइकमा रहेका बमले लगातार दुई छक्का प्रहार गर्दै विराटनगरको आशा जगाए । त्यसपछिको समिकरण रह्यो १० बलमा २१ रन । तर, पुन अर्को ठूलो सट खेल्न खोज्दा करण केसीको बलमा लोकेश आउट भए र चितवनको जित सुनिश्चित भयो ।

चितवनका लागि सन्नी पटेल र भुवन कार्कीले निकै कसिलो बलिङ गरेका थिए । उनले ४ ओभरमा १ विकेट लिँदा १० रन मात्रै दिए । भुवनले ३ ओभरमा १४ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए । यस्तै, करण केसीले ४ ओभरमा ३३ रन दिँदै ३ विकेट हात पारे ।

यसअघि चितवनले पहिलो ब्याटिङ गर्दै सुस्त सुरुवात गरेका थिए । तर, पाचौं विकेटका लागि आरिफ सेख र सन्नी पटेलबीच विष्फोटक साझेदारी भएपछि चितवन सम्मानजनक स्कोरमा पुगेको थियो ।

चितवनका ओपनर रोहन मुस्तफा छिट्टै आउट भए । त्यसपछि पारस खड्का र बबर हायातले निरस तर उपयोगी साझेदारी गरे । उनीहरुबीच ४७ रनको साझेदारीले चितवनलाई १०.५ ओभरमा ६० रनमा पुर्‍यायो । पारस ३८ बलमा ३५ रनको निजी स्कोरमा आउट भए । उनले ५ चौका प्रहार गरे ।

यूएईका विष्फोटक ब्याट्सम्यान बबर हायत पनि आज शान्त देखिए । उनले ३१ बलमा २ चौकाको सहाराले २५ रन बनाएर आउट भए । यी दुईले खेल्दासम्म निकै कठिन देखिएको थियो पीच । तर, आरिफ र पटेलले भने पिचको अवस्था परवाह नगरी बलरहरुमाथि जाइलागेका थिए ।

उत्कृष्ट फर्ममा रहेका आरिफले २२ बलमा ३ छक्का र ३ चौकासहित सर्वाधिक ३९ रन बनाए । यस्तै भारतीय ब्याट्सम्यान पटेलले केवल ८ बलमा ३ छक्का र एक चौकासहित २७ रन हान्दै चितवनलाई अघि बढाएका थिए । आरिफ र सन्नीबीच मात्र १६ बलमा ५४ रनको साझेदारी भएको थियो ।

बिराटनगरका बलर जितेन्द्र मुखिया महंगा सावित भए । उनले ४ ओभरमा ५४ रन खर्चिए र एक विकेट मात्र लिन सके । किशोरी महतो, पुनित मेहरा र मोहम्मद जाइद आलमले एक–एक विकेट बाँडे ।

आजको प्लेयर अफ द म्याच भने चितवनका भुवन कार्की बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment