Comments Add Comment

वीरगञ्जबाट ३ हजार किलो मरिचसहितको ट्रक बरामद

६ वीरगञ्ज, पुस । प्रहरीले वीरगञ्ज महानगरपालिका १६ इनर्वाबाट ३ हजार किलो मरिचसहित ना २ ख ९८०२ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ । मरिचको बजार मूल्य करिब १० लाख ३७ हजार ४ सय रुपैयाँको रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले भन्सार क्षेत्रबाट ठूलो परिमाणमा मरिच बरामद गरेको यो दोस्रो पटक हो । यसअघि ०७५ जेठ २२ गते मरिच बोकेको युपी ७८ बिटी ३८०४ नम्बरको भारतीय ट्रक वीरगञ्ज रक्सौल नाकास्थित शंकराचार्यसमेत कटिसकेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यतिबेला ट्रकमा प्लाष्टिकको बोरामा प्याकिङ गरिएको १२.२ टन मरिच थियो ।

त्यसको दुई दिन अघि विन्दवासिनी गाउँपालिका–४ अमरपट्टी नाकाहुँदै नेपाल बाट भारत तर्फ गइरहेको ना ३ त २४३६ नम्बरको ट्याक्टरमा लोड १ हजार ८ सय ७५ किलो मरिच प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मरिच अवैध रुपमा भारत लैजान खोजिएको आशंकामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । ‘गण्डक चोकबाट जनकपुर लैजान भनी लोड भएको ट्रक भन्सारतर्फ लगिएको छ’ उनले भने ‘ तस्करी गर्न खोजिएको आशंकामा नियन्त्रणमा लिएर भन्सार बुझाएका छौं । ’

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी बिमल साहले भने प्रहरीले वेवारिसे अवस्थामा समातेको भनेर एक ट्रक मरिच बुझाएको जानकारी दिए । ‘वेवारिसे अवस्थमा भेटिएको भनेर प्रहरीले मरिचसहितको ट्रक शनिबार बुझाएको छ’ उनले भने ‘अहिलेसम्म कागजपत्र लिएर हकदावी गर्न कोही पनि आएका छैनन् । ’

कागजपत्रसहित व्यक्ति वा फर्मले दावी गर्न आएपछि थप अनुसन्धान गर्न सहज हुने उनको भनाइ छ ।

तेस्रो मुलुकबाट ठूलो परिमाणमा मसलामा प्रयोग हुने कालो मरिच आयात गरेर सीमा क्षेत्रबाट भारततर्फ चोरी निकासी हुने गरेको छ । एकैपटक ठूलो परिमाणमा लैजान नसक्दा तस्करले भरिया मार्फत थोरै थोरै परिमाणमा समेत लैजाने गरेका छन् ।

ठूलो परिमाणमा मरिच तस्करी गर्दा आर्थिक चलखेल हुने गरेको स्रोतले जनाएको छ । नेपालमा कम माग हुने मरिचको माग भारतमा अत्याधिक छ । भियतनाम र ब्राजिल लगायत तेस्रो मुलुकबाट भारतको बाटो हुँदै मरिच नेपाल आयात हुन्छ र भारत तस्करी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment