Comments Add Comment

हचुवामा तार काट्दा ठमेलमा विवाद, टेलिफोन–इन्टरनेट अवरुद्ध

६ पुस, काठमाडौं । जिम्मेवार निकायहरुसँग समन्वयबिनै ठमेलमा तारका गुजुल्टा हटाउने अभियान चलाइँदा विवाद भएको छ । इन्टरनेट सेवा प्रदायकहरुले तार काट्दा करोडौंको क्षति भएको भन्दै प्रहरीमा उजुरी दिने तयारी गरेका छन् ।

ठमेल पर्यटन विकास परिषद् नाम गैरसरकारी संस्थाको अगुवाईमा पोलमा टाँगिएका इन्टरनेट र टेलिफोनका तार काट्न थालिएको हो । तारका गुजुल्टाले शहरको सौन्दर्य बिगारेको अवस्थामा परिषदको पहलकदमी सकारात्मक भए पनि यसको व्यवस्थापन कसरी गर्ने भन्ने कार्ययोजना उसँग छैन ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइर्ईस्पान)ले ठमेलमा विना समन्वय तार काटिँदा ५ करोड बाराबरको क्षति भएको दावी गरेको छ । आईईस्पानका अध्यक्ष भोजराज भट्टले कानून हातमा लिएर दूरसञ्चार सेवा अवरुद्ध पार्ने काम भएको भन्दै सोमबार प्रहरीमा उजुरी दर्ता गर्ने बताए ।

भट्टका अनुसार यस विषयमा सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिरकणसँग पनि संघले छलफल गरेको छ । परिषदको कदमविरुद्ध के एक्सन लिने भन्नेबारे सञ्चारमन्त्रीकै उपस्थितिमा छलफल भएको उनले बताए ।

‘दूरसञ्चार ऐनमा यसरी सेवा अवरुद्ध गर्नेलाई ५ वर्ष जेल सजायको व्यवस्था छ, त्यसैअनुसार हामी जिल्ला अदालतमा पनि यसविरुद्ध मुद्धा दर्ता गर्छौं,’ भट्टले भने ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल पनि कानून हातमा लिएर काम भएको बताउँछन् । तर, काम गर्नेको नियतमा समस्या नभएकाले यसलाई समन्वयात्मक रुपमा अघि बढाइने उनको भनाइ छ ।

‘तार व्यवस्थापनको काम हामीले सेवा प्रदायककै सहभागितामा गरिरहेका थियौं, अहिले उहाँहरुले सेवा नै रोकिने गरी तार काट्नुभएछ, हामीलाई जानकारी पनि दिइएन,’ उनले भने, ‘हामी ठमेल पर्यटन विकास परिषद्सँग छलफल गरेर यसलाई टुंग्याउँछौं ।’

तार काटेको विषयमा स्थानीयको भने मिश्रित प्रतिक्रिया छ । केहीले समर्थन गरेका छन् भने केहीले विरोध गरेका छन् । परिषदले चाहिँ तत्काल केही समस्या भोग्नुपरे पनि अन्ततः ठमेलले सन्तोषको सास फेर्ने बताएको छ । त्यसो त परिषदले यस कार्यमा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं महानगरीय प्रहरी परिसर र काठमाडौंमा महानगरपालिकाका १६, १७, २६ र १९ नम्बर वडा कार्यालयले पनि साथ दिएको दावी गरेको छ ।

पर्यटन वर्ष २०२० लाई ध्यानमा राखेर पनि अस्तव्यस्त तार काट्ने काम भइरहेको परिषदका कोषध्यक्ष पुण्यराम लागेजुले बताए । उनको दावीअनुसार ठमेलका पोलमा टाँगिएका झुन्ड्याइएका ९५ प्रतिशत तार बेकामे र अनावश्यक छन् ।

‘तारको गुजुल्टो र बक्सहरुले पोल भाँचिन थालिसके, बेला–बेलामा आगलागी भएर समस्या आइरहन्छ,’ उनले भने, ‘आगलागी हुँदा तारकै कारण दमकल छिर्न सकेन । पर्यटन वर्षलाई पनि लक्षित गर्दै तार काटेका हौं ।’

तारहरु गुजुल्टो बनाएर राख्दा घरअघि ‘बम’ राखे बराबर भएको र त्यसले आगलागीको जोखिम बढाएको लागेजुको भनाइ छ । व्यवसायीको लगानी जोखिममा पारिरहेको र ठमेलमा आउने पर्यटकले पोलमा बेरिएका अलपत्र तारको फोटो खिचेर हिँड्ने अवस्था अन्त्य गर्न खोजिएको उनी बताउँछन् । तर, यो अभियानमा विजुलीका तार भने छोइएको छैन ।

स्थानीय ब्यापारी रामभक्त महर्जनले केही दिन टेलिफोन र इन्टरनेटमा समस्या भए पनि अब ठमेल सुन्दर हुने आशा व्यक्त गरे । ठमेलभित्र तारैतारको पिँजडाभित्र बस्नुपरेको जस्तो अनुभव हुने गरेको भन्दै उनले अब यसको राम्रो व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

स्थानीय अर्का ब्यापारी हरिकृष्ण पाण्डे पर्यटन वर्षलाई लक्षित गरेर यस्तो प्रयासको सुरुवात हुनु सुखद् भएको बताउँछन् । उनले ठमेललाई अस्तब्यस्त बजारको रुपमा परिणत गर्ने अन्य नकारात्मक पक्षलाई पनि सुधार्दै लैजानुपर्ने बताए ।

अब तार भूमिगत गर्नुपर्छ : परिषद

परिषद्ले अब इन्टरनेट सेवा प्रदायकलाई जथाभावी तार टाँग्न नदिने बताएको छ । शहरी सौन्दर्य बिग्रने गरी तार टाँग्दा त्यसको हानी समग्र पर्यटन क्षेत्रले बेहोनुपर्ने भन्दै परिषदले भूमिगत रुपमा तार बिछ्याएर सेवा प्रदान गर्न सेवा प्रदायकलाई आग्रह गरेको छ ।

‘११७ वटा इन्टरनेट सेवा प्रदायकले फेरि त्यसैगरी तार टाँग्ने हो भने अवस्था पुरानै हुन्छ,’ कोषाध्यक्ष लागेजुले भने, ‘अब भूमिगत रुपमा तै तार बिछ्याएर सेवा दिनुपर्छ ।’
परिषद्ले मंसिर १७ गते नै सूचना प्रकाशित गरेर यसबारे सार्वजनिक जानकारी दिएको बताएको छ ।

परिषदले तारपछि होडिङ बोर्डहरुको व्यवस्थापन पनि गर्ने बताएको छ । परिषदका कोषाध्यक्ष लागेजुले नयाँ वर्षसम्म ठमेल नयाँ रुप फेर्ने दावी गरे ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment