Comments Add Comment

मंंसिर ५ मा महाधिवेशन गर्ने पौडेल समूहको प्रस्ताव

६ पुस, काठमाडौं । रामचन्द्र पौडेल समूहले नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर ५ मा गर्ने प्रस्ताव राखेको छ ।

संस्थापनसँग आइतबार भएको वार्तामा पौडेल समूहले २०७७ मंसिरकोे ५, ६, ७ र ८ मा गर्ने प्रस्ताव राखेको हो । ‘८ चरणको निर्वाचन गर्नुपर्नेछ, कुनै कारणवश एउटा मात्र ढिला भयो भने पनि डेडलाइन प्रभावित नहोस् भनेर मंसिरमा गरौं भनेका हौं’ पौडेल समूहको वार्ता टोलीका एक सदस्यले भनेका छन् ।

तर यसमा सहमति जुटेको छैन । संस्थापना पक्षले भने फागुनको कार्यतालिका बनाएपछि फरक नपर्ने जवाफ दिएको छ ।

यद्यपि फागुनभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन सभापति शेरबहादुर देउवा समूह सहमत हुनुलाई पौडेल समूहले सकारात्मक भनेको छ ।

कांग्रेसको वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल यही फागुनमा सकिँदैछ । तर तत्काल महाधिवेशन गर्ने अवस्था नभएकाले म्याद थप गर्ने तयारी भइरहेको छ ।

नेविसंघको नेतृत्व पनि छाड्न तयार

आइतबार भएको वार्तामा पौडेल समूह नेविसंघको नेतृत्व छाड्न पनि तयार देखिएको छ ।

नेविसंघ र तरुण दलमध्ये एकको नेतृत्व आफूले पाउनुपर्ने माग राख्दै आएको पौडेल समूहले नेविसंघको महामन्त्री पद पाए चित्त बुझाउन तयार भएको छ । तरुण दलमा अहिले देउवा समूहकै जितजंग बस्नेत अध्यक्ष र पौडेल समूहका भुपेन्द्रजंग शाही महासचिव छन् ।

‘अधिवेशनका लागि नभई दुई वर्षे कार्यकालकै लागि कमिटी बनाउने र अध्यक्ष छाड्नै नसक्ने हो भने महामन्त्री हामीलाई दिनुस् । उपसभापति र कोषाध्यक्षमा अरुलाई मिलाउनुस् भनेका छौं’, पौडेल समूहका वार्ता टोलीका एक सदस्यले भने ।

तर संस्थापन पक्षले भने चार महामन्त्री पद कायम गरेर अध्यक्षसँगै एक महामन्त्री आफूले लिने बताएको छ ।

पौडेल समूह चार महामन्त्री राख्न तयार छैन । वार्ता टोलीका सदस्य हृदयराम थानीले वार्ता सकारात्मक भए पनि कुनै पनि विषयमा सहमति नभएको बताए ।

अर्का सदस्य दिलेन्द्रप्रसाद बडूले भने दुबै पक्षले शीर्ष नेताहरुसँग कुरा गरेपछि थप छलफल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment