Comments Add Comment

६० मुस्लिम देशको संगठनले भन्यो- भारतमा मुसलमानहरुको सुरक्षा होस्

७ पुस, काठमाडौं । इस्लामिक देशहरुको संगठन अर्गनाइजेसन अफ इस्लामिक को-अपरेसन (ओआईसी)ले पनि भारतको नागरिकता संशोधन विधेयकमा चासो व्यक्त गरेको छ । ओआईसीले भारतको पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको भन्दै मुसलमान र उनीहरुको पवित्र स्थलको सुरक्षा गर्न भनेको छ ।

ओआईसी ६० मुस्लिम देशहरुको संगठन हो । ओआईसीका महासचिव युसुफ बिन अहमद बिन अब्दुल रहमानले आइतबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘भारतको घटनाक्रमलाई हामीले नजिकबाट नियालीरहेका छौं । कतिपय चिज यस्तो भएको छ, जसबाट अल्पसंख्यक प्रभावित भएका छन् । नागरिकताको अधिकार र बाबरी मस्जिद मुद्दामा हाम्रो चिन्ता छ । हामी फेरि पनि यो कुरालाई दोहोर्‍याउँछौं कि भारतमा मुसलमान र उनीहरुको पवित्रस्थलको सुरक्षा सुनिश्चित होस् ।’

ओआईसीले संयुक्त राष्ट्र संघको सिद्धान्त र दायित्वअनुसार बिना कुनै भेदभाव अल्पसंख्यकहरुको सुरक्षा हुनुपर्दछ । यदि त्यसलाई उपेक्षा गरिएमा सुरक्षा र स्थीरतामा गम्भीर प्रभाव पर्ने छ ।

६० मुस्लिम देशहरुको संगठन ओआईसीमा साउदी अरब र उसका सहयोगी देशहरुको दबदबा छ ।

भारतले हालै ल्याएको नागरिकता संशोधन विधेयकमा अफगानिस्तान, बंगलादेश र पाकिस्तानका गैरमुस्लिम अल्पसंख्यकहरुलाई भारतीय नागरिकता दिने उल्लेख छ, जसले भारतमा वर्षौंदेखि शरणार्थी जीवन बिताइरहेका छन् । नागरिकता विधेयकले मुस्लिम समुदायलाई उपेक्षा गरेको भन्दै भारतभर विरोध प्रदर्शन चर्किएको छ । त्यसअघि अयोध्याको बाबरी मस्जिदको भनिएको जग्गा राम मन्दिरलाई दिने फैसला अदालतले सुनाएको थियो । यी घटनाक्रमलाई भारतमा मात्र होइन, अन्तर्राष्ट्रिस्तरमा समेत चासोपूर्वक हेरिएको छ ।

हालै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ट्वीट गर्दै भारतरभर भइरहेको विरोध प्रदर्शनबाट ध्यान मोड्न भारतले पाकिस्तानमा आक्रमण गर्न सक्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment