Comments Add Comment

दाम्पत्य सुख कसरी प्राप्त गर्ने ?

हरेक व्यक्तिमा केही न केही कमी अथवा कमजोरीहरु हुन्छन् । यिनै कमी-कमजोरीका कारण पनि वैवाहिक जीवन असफल भएका उदाहरणहरु फेला पार्न सकिन्छ । किनभने हरेक वैवाहिक जोडीले आफ्ना श्रीमान् अथवा श्रीमती हरेक कुराले पूर्ण होस् भन्ने चाहन्छ, जुन सम्भव हुँदैन ।

सबैभन्दा पहिलो कुरा यदि श्रीमान्-श्रीमतीलाई एक-अर्काको कुनै कुरा मन परेन भने त्यो कुरामा रिसाउनु अथवा गुनासो गर्नुभन्दा ती कुराहरुका बारेमा मायालु शैलीमा एक-अर्कालाई सम्झाउँदा सजिलै समाधान निस्कनसक्छ ।

हरेक व्यक्तिको व्यक्तित्व तथा विचार दोस्रो व्यक्तिकोभन्दा फरक हुनसक्छ । त्यसैले श्रीमान्-श्रीमतीले पनि एक-अर्कालाई आफूजस्तै बनाउनुको साटो आपसी समझदारीमा अघि बढ्दा फाइदा हुन्छ ।

श्रीमान्-श्रीमतीमा स-साना कुरामा विवाद तथा मतभेद हुनु सामान्य कुरा हो । त्यस्तो बेलामा दुबैले आ-आफ्नो कुरामा जिद्दी गरेर बस्नुभन्दा कुनै एउटा बिन्दुमा सहमति गर्नुमै दुबैको भलाई हुन्छ ।

श्रीमान्-श्रीमतीमध्ये कुनै एकबाट सानो गल्ती भएको छ अथवा जानी-जानी गल्ती भएको छैन भने पनि ‘सरी’ भन्न गाह्रो मान्नु हुँदैन । किनभने क्षमा माग्दा कोही पनि सानो हुँदैन । दम्पतीबीचको प्रेम सम्बन्धमा प्रतिशोधको धारणा कहिले पनि राख्नुहुँदैन ।

त्यो सम्पत्तिको वैवाहिक जीवनमा मात्र सफल हुन्छ । जसले हरेक कुरा योजना अनुसार गर्छन् । परिवार नियोजनदेखि आर्थिक व्यवस्थापनका कुराहरु समेत दुबैको सहमतिमा गरियो भने त्यस्ता दम्पतीहरुको सम्बन्ध दीर्घायु हुन्छ ।

त्यसै पनि श्रीमान् र श्रीमतीबीचको सम्बन्ध आपसी विश्वासमा अडिएको हुन्छ । त्यसैले हरेक स-साना कुराको हिसाब-किताब मागिरहनु पर्दैन । अनावश्यक कुरामा एक-अर्कालाई शंकालु दृष्टिकोणले हेर्नु समेत पर्दैन ।

जुनसुकै सम्बन्धको पनि एउटा आयतन हुन्छ । श्रीमान्-श्रीमतीबीचको सम्बन्धमा पनि स्पेसको आवश्यकता पर्दछ । त्यसैले दुबैले एक-अर्कालाई उचित सम्मान दिनैपर्छ । त्यसरी स्पेस प्रदान गर्नाले दुबैबीच विश्वासको वातावरण बढ्छ भने वैवाहिक सम्बन्ध पनि दीर्घायु बन्छ ।

श्रीमान्-श्रीमतीले कुनै तेस्रो व्यक्तिको अगाडि एक-अर्काको आलोचना अथवा निन्दा गर्नै हुँदैन । एक-अर्काप्रति कुनै गुनासो छ भने दुई जना मात्रै भएको बेला गर्नु उचित हुन्छ ।

कुनै सार्वजनिक समारोह जस्तै भोज, भतेर अथवा पार्टीमा धेरै जनाको अघिल्तिर दुईमध्ये कुनै एकको मुखबाट कुनै गलत कुरा निस्कियो भने त्यही बेला एक-अर्कासँग विवाद गर्नु ठिक हुँदैन । त्यसले झन् बढी विवाद निम्त्याउँछ । त्यसबारेमा घरमा आएर शान्त वातावरणमा पनि कुराकानी गर्न सकिन्छ ।

श्रीमान्-श्रीमतीले आफ्ना परिवार -घर तथा माइती) का सबै सदस्यहरुबीचको सम्बन्धलाई समेत सुमधुर बनाउने प्रयास गर्नुपर्छ । दुबै पक्षका परिवारका सदस्यहरुको हरेक समारोहमा सहभागिता जनाउनुपर्छ ।

हुन त हरेक चेलीलाई उनको माइती असाध्यै प्यारो हुन्छ । अझ विवाह गरेको अघिल्लो केही वर्ष त उनी छोटो-छोटो समयमै माइती जान रुचाउँछिन् । तर, त्यसरी छोटो समयको अन्तरालमै माइत जानु पनि ठिक होइन । त्यसैले माइत जानु पर्यो भने श्रीमान् तथा उनको परिवारका सदस्यहरुको सहमतिमै जानु राम्रो हुन्छ । माइती जाने कुरामा नियम बनाउनु भन्दा आवश्यकतालाई प्राथमिकता दिनु उचित हुन्छ ।

एक-अर्काको क्षमता अर्थात् खुबीको बारमा खुलेर प्रशंसा गर्नुपर्छ । किनभने प्रेम गर्छु मात्र भनेर हुन्न, त्यसलाई व्यक्त गर्न पनि जान्नुपर्छ ।  जहिले पनि एक-अर्काको करियरको सफलताको कामना गर्नुपर्छ । आफ्नो काममा सफल हुन प्रेरणा दिनुपर्छ । एक-अर्काका रहर तथा चाहनाहरु पुरा गर्नुपर्छ । यसले तपाईंहरुलाई खुशी दिनेछ ।

यदि तपाईं गृहिणी हुनुहुन्छ र घरमै बस्नुहुन्छ भने साँझ श्रीमान् अफिसबाट घर आउने बित्तिकै कुनै पनि कुराको गुनासो नगर्नुहोला । खासगरी सासु-ससुरा, नन्द, आमाजु, देउरानी आदिको गुनासो त गर्दै नगर्नुहोला । गुनासो गर्नै परेमा राम्रो समय पारेर श्रीमान्को मुड बुझेर मात्र गर्नुहोला ।

सपिङ सबैको सौखको कुरा हो । महिलाहरुलाई त अझ बढी सपिङ गर्न मनपर्छ । तर, त्यसो भन्दैमा घरका लागि आवश्यक नै नभएका बस्तुहरु किनमेल गर्नुराम्रो हुँदैन । त्यसो गर्दा तपाईंहरुलाई आर्थिक भार पर्नसक्छ । त्यसैले दुबै मिलेर आवश्यक चिजहरुमात्र किनमेल गर्नुपर्छ ।

यदि तपाईं घरमा हुनुहुन्छ र फुर्सद पनि छ भने श्रीमतीलाई भान्साको काममा सहयोग गर्न सक्नु हुन्छ । कहिलेकाहीँ आफैंले केही पकाएर श्रीमतीलाई खुवाउनुभयो भने त्योभन्दा राम्रो कुरा अरु केही हुने छैन । कम्तीमा तपाईंले बनाएको चिया नै भएपनि श्रीमतीले अति नै मीठो मानेर खाने छिन् ।

कतिपय कुरा सोधै भनेको राम्रो हुन्छ । घुमाएर कुरा गर्दा एक-अर्काले नबुझ्ने सम्भावना हुन्छ । तपाईंले यति पनि बुझ्नु हुन्न अथवा तिमीलाई थाहा हुनुपर्ने जस्ता कुराले सम्बन्धलाई बिगार्छ ।

कहिलेकाहीँ श्रीमान्-श्रीमतीबीच वादविवाद बढ्नु स्वभाविकै हो । तर, त्यसरी वादविवाद हुने बित्तिकै डिभोर्स गर्छु अथवा घर छाडेर हिँड्छु, माइत जान्छु भने धम्क्याउनु उचित होइन । कुनै सानो कुराले ठूलो रुप लिने सम्भावना छ भने त्यस्तो विवादास्पद कुरामा नअल्भिmएकै राम्रो हुन्छ ।

जसरी सरीभन्दा सानो भइँदैन, त्यसैगरी धन्यवाद भन्ने शब्द पनि उत्तिकै प्रभावकारी मानिन्छ । कुनै उपहार प्राप्त भए अथवा श्रीमान्-श्रीमतीले एक-अर्कालाई सहयोग गरे भने धन्यवाद व्यक्त गर्न पछिपर्नु हुँदैन । मौसम अनुसार रोमान्टिक बन्न सिक्नु पर्छ । पानी परेको बेला सँगै भिज्नुको मज्जा नै बेग्लै हुन्छ ।

फुर्सद पाउने बित्तिकै दम्पती नै घुम्न निस्कनुपर्छ । फुर्सद छैन भने पनि दुबैले बिदा मिलाएर केही दिनका लागि घुम्न निस्कनैपर्छ । त्यसरी घुमफिर गर्दा दैनिक जीवनको भागदौडबाट मुक्ति पाइन्छ भने घुमफिरको आनन्द त छँदैछ । यसले तपाईंको सम्बन्ध अझ कसिलो बन्दछ ।

कहिलेकाहीँ श्रीमतीले कुनै गम्भीर कुरा गर्न चाहेकी हुन्छिन् । त्यस्तो बेलामा फुर्सद निकालेर भएपनि उनका कुराहरु सुनिदिनुपर्छ । सधैं एक्लै रमाइलो गर्दा श्रीमतीलाई नरमाइलो लागिरहेको हुनुसक्छ । त्यसैले श्रीमान्ले त्यस्ता कुरामा विचार गर्नुपर्छ । जस्तो तपाईंलाई क्रिकेटको लाइभ टेलिकास्ट हेरिरहेको बेला श्रीमतीको मनपर्ने धारावाहिक प्रसारण भइरहेको हुनसक्छ । त्यस्तो बेलामा आधा घण्टाका लागि भएपनि रिमोट उनको हातमा दिन सकिन्छ ।

कुनै पनि श्रीमान्ले अफिस समयपछि साथीभाइलाई समय दिएर अबेर घर आउने बानी त्याग्नुपर्छ । एक-अर्कालाई सकेसम्म धेरै समय उपलब्ध गराउने कोसिस गर्नुपर्छ । हुन त विवाहलाई बन्धन नै भनिन्छ । यद्यपि यो प्रेमको बन्धन हो । त्यसैले दुबैले एक-अर्कालाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास गर्नु हुँदैन । कहिलेकाहीँ साथीभाइसँग पनि समय व्यतित गर्ने छुट दिनुपर्छ ।

कहिलेकाहीँ सासु र बुहारीबीच सामान्य ठाकठुक पर्नसक्छ । त्यस्तो बेलामा श्रीमान्ले श्रीमतीलाई मात्र दोषी ठहर्‍याउनुहुँदैन । कुनै पनि कुराका लागि श्रीमान् अथवा श्रीमतीले एक-अर्कालाई ब्ल्याकमेल गर्नुहुँदैन । यदि एक-अर्कालाई ब्ल्याकमेल गरियो भने यसले तपाईंहरु दुबैको अपरिपक्वता झल्किन्छ ।

कहिलेकाहीँ एक-अर्काको स-साना गल्तीलाई बेवास्ता गर्नुपर्छ । मान्छेबाटै गल्ती हुन्छ भन्ने कुरा बुझ्नु पर्छ । यस्तो व्यवहारले सम्बन्ध राम्रो हुन्छ । यदि कुनै दिन साँझ घर पुग्न ढिला भयो भने श्रीमतीलाई फोन गरेर जानकारी गराउनुपर्छ । श्रीमान्हरु समयमै घर नपुग्दा श्रीमतीहरु चिन्तित हुनु स्वभाविकै हो । त्यसैले आफू ढिला हुने कारणमात्र बताउने होइन कि कति बजेसम्म घर आइपुग्ने हो, त्यो पनि बताउनुपर्छ ।

तपाईंहरुको दुई भिन्न स्वभाव छ भने पनि कुनै न कुनै कुरामा समानता खोज्न सकिन्छ । यदि तपाईंको रुचि समान भयो भने त्यसले झन् रमाइलो गराउँछ ।

भन्नलाई त श्रीमान्-श्रीमतीबीचको सम्बन्धलाई भावनाले जोडको हुन्छ । तर, भनिन्छ नि तन-मनको मिलन । त्यसैले मनमात्र मिलेर हुँदैन, दुबैको तन पनि मिल्नु पर्छ अर्थात् वैवाहिक जीवनमा यौनको पनि महत्वपूर्ण स्थान हुन्छ । श्रीमान्-श्रीमतीबीच सुखद तथा सन्तुष्ट यौन जीवन आवश्यक पर्दछ ।

श्रीमान्ले कहिले पनि आफ्नो अफिसको तनावलाई घरमा लगेर पोख्नुहुँदैन । बाहिरको कामलाई घर बाहिर नै छाड्नु राम्रो हुन्छ । यदि तपाईंहरु दुई जनामध्ये एक जनामा कुनै कुराको कमी-कमजोरी छ भने त्यसलाई मायालु शैलीमा व्यक्त गरेर त्यसलाई हटाउने प्रयास गर्नुपर्छ ।

श्रीमान्-श्रीमतीले ‘हामी’ भन्ने शब्दलाई प्राथमिकता दिनुपर्छ । हामी भन्न थालियो भने हरेक निर्णयहरु मिलेर गर्न सकिन्छ । कुनै निर्णय यदि गलत नै भयो भने पनि एक-अर्काले मिलेर नै जिम्मेवारी लिन सकिन्छ ।

कुनै पार्टी अथवा समारोहमा जानुअघि घरमा तयार हुने क्रममा पहिरन, मेकअप आदिका बारेमा एक-अर्काको सल्लाह लिनुपर्छ । श्रीमान्-श्रीमतीले एक-अर्काका घनिष्ट मित्रहरुसँग पनि मित्रवत् व्यवहार गर्नुपर्छ ।

यदि कुनै कुरामा विवाद भयो भने एक-अर्कालाई अथवा एक-अर्काको परिवारका सदस्यहरुलाई आरोप-प्रत्यारोप लगाउनु भन्दा मुल मुद्दामा प्रवेश गरेर समाधान गर्ने प्रयास गर्नुपर्छ । श्रीमान्-श्रीमतीले एक-अर्कालाई आई लभ यू अथवा आई मिस यू जस्ता शब्दहरुको प्रयोग गर्नु फाइदाजनक नै हुन्छ ।

श्रीमान्-श्रीमतीहरु एक-अर्काप्रति इमान्दार त हुनुपर्छ । यसबाहेक एक-अर्काप्रति समर्पित हुन सक्यो भने सम्बन्ध अझ गाढा बन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment