Comments Add Comment

बाख्रापालक किसानका दुख : ‘ट्रायल’ गर्दागर्दै हायलकायल भइयो !

चरन, बिउदेखि उपचारसम्मका समस्या

७ पुस, चितवन । गत कात्तिकमा चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा आयोजित ‘एसियन क्षेत्रिय बाख्रा विज्ञ सम्मेलन’ मा भाग लिन आएका थिए बाख्रापालक किसान श्याम ढकाल । नयाँ कुरा सिक्ने अपेक्षासहित पैसा तिरेर सम्मेलनमा भाग लिएका उनी निराश भएर फर्किए ।

गैंडाकोट नगरपालिका–१४ का ढकालले अनलाइनखबरसँग भने, ‘मलाई त कुन जातको बाख्रा पालेर बढी नाफा कमाउन सकिन्छ, बाख्रामा के–के रोग र समस्या देखिन्छ, कति दाना खुवाउँदा कति वजन कायम हुन्छ, खोर कस्तो हुनुपर्दछ, के–के उपचार गर्नुपर्दछ जस्ता व्यवहारिक ज्ञान चाहिएको थियो । तर यहाँका विज्ञले नयाँ कुरा केही सिकाउन सकेनन् ।’

ढकालले २०७० सालबाट बाख्रा पाल्दै आएका छन् । उनको खोरमा अहिले १२० वटा बोयर जातका क्रस (७५ प्रतिशत) बाख्रा छन् । पहिले जमुनापारी बाख्रा पालेको तर राम्रो नभएपछि अहिले बोयर जाततिर लागेको ढकालले सुनाए ।

उनी भन्छन् ‘हामी किसान एकपछि अर्को प्रयोग गरिरहेका छौं, यदि राज्यले अनुसन्धान गरेर सिफारिस गरिदिए हाम्रो लगानी यसरी खेर जाने थिएन ।’

विगत ६ वर्षदेखि कुन जातको बाख्रामा राम्रो फाइदा हुन्छ भनेर ट्रायल गर्दै आएको ढकाल बताउँछन् । सरकारीस्तरबाट अनुसन्धान नहुँदा बाख्रापालन व्यवसायमा धेरै समस्या र चुनौती रहेको उनको अनुभव छ ।

किसानलाई चरन, बिउदेखि दानासम्मको समस्या छ । उनी भन्छन्, ‘अरु समस्या त भोगेकै थियौं, खोरमा बाख्रा धमाधम बिरामी भएर मर्दा पनि कुनै प्राविधिकको सहयोग र सल्लाह पाईंदैन, सबैभन्दा दुःख यसमै लाग्छ ।’

भरतपुर महानगरपालिका–६ का व्यवसायिक बाख्रापालक किसान जयराम सापकोटाको गुनासो पनि ढकालसँगै मिल्दोजुल्दो छ । उनी दक्ष प्राविधिकहरुको समस्या सँधै रहने बताउँछन् ।

‘मेरो फार्मबाट केही किलोमिटरको दुरीमा कृषि तथा वन विज्ञान विश्वविद्यालय छ । यहाँ पीएचडी गरेका डाक्टर अनुसन्धानकर्ता पनि छन् । समस्या परेको बेला बोलाउँछु । तुरुन्त आउँछौ भन्छन्, तर आउँदैनन्,’ सापकोटाले भने, ‘कहिलेकाहीँ झुक्किएर प्राविधिक आए भने पनि हामीले जति पनि जान्दैनन् । हचुवाको भरमा उपचार गर्छन् । बाख्रा मरेर लाखौंको क्षति हुन्छ ।’

विगत ७ वर्षदेखि बाख्रा पालेका सापकोटासँग अहिले १५० भन्दा बढी बाख्रा छन् । बोयर, जमुनापारी, खरी लगायतका चार प्रकारका बाख्रा उनले पालेका छन् । बाख्राबाट दुई वर्ष राम्रै आम्दानी भएको बताउने सापकोटाले पछिल्लो समयमा भने घाटा भएको सुनाए ।

गैंडाकोटमा नै ११ वर्षदेखि बाख्रा पाल्दै आएका दीपक गुरुङ बाख्रापालनमा निकै समस्या रहेको बताउँछन् ।

‘चरन क्षेत्र छैन, सामुदायिक वनहरुका आफूखुसी नियम छन्,’ गुरुङ भन्छन् ‘शुद्ध बिउको समस्या छ, राम्रो गुणस्तरको दाना पाईंदैन, पाए पनि महंगो पर्छ ।’

पछिल्लो समयमा व्यवसायिक रुपमा बाख्रा पाल्ने किसानको संख्या केही बढेको पाइन्छ । विदेशमा गएर फर्किएका युवा व्यवसायिक रुपमा बाख्रापालन व्यवसायतिर लागेका छन् । तर केही युवा बाख्रापालनबाट आत्तिएर पलायनसमेत हुन थालेका छन् ।

खोरको निर्माण, विज्ञहरुको सेवा, बिउको छनौट, दाना नपाउने समस्या, पहुँच भएकालाई अनुदान दिने तर अरुले नपाउने जस्ता समस्याबाट उनीहरु पीडित बनेका छन् ।

बगैँचा बाख्रा फार्म हाउसका प्रमुख सञ्चालक वीरभद्र आचार्य किसानका लागि चाहिने प्राविधिक जनशक्ति उपलब्ध हुन निकै समस्या परेको बताउँछन् । अहिले नेपालको उत्पादित कृषि तथा भेटनरीको जनशक्तिप्रति असन्तुष्ट छन् । अहिलेको जनशक्तिमा व्यवहारिक ज्ञानको कमी भएको उनको बुझाइ छ ।

‘हामीलाई बाख्रापालनमा कति समस्या आउँछ, तर समाधान दिन सक्ने जनशक्ति छैन, भगवान भरोसामा हामीले नै उपचार गर्ने हो,’ वीरभद्रले भने ।

गैंडाकोट नगरपालिका–१७ फेन्सी व्यवसायी रुपेश श्रेष्ठ अब बाख्रापालन पनि गर्ने योजनामा छन् । साथीभाइकै सल्लाहमा उनले विदेश जानुभन्दा स्वदेशमै केही गर्ने निर्णय लिएका हुन् । २ विगाहा जग्गामा स्थानीय जातका ६० बाख्रा पाल्ने उनको योजना छ । तर, यसका लागि खोर बनाउने देखिका व्यवहारिक ज्ञान भने आफूसँग नरहेको उनले बताए ।

श्रेष्ठ भन्छन्, ‘वास्तवमा व्यवसायिक रुपमा बाख्रा पाल्छु भन्ने किसानलाई पहिलो दिनबाटै समस्या रहेछ ।’

प्रशस्त मात्रामा उन्नत र पौष्टिक घाँसको विकास गर्न नसक्नु, कामदारको अभाव र बाख्रापालनलाई तल्लो दर्जाको काम ठान्ने प्रवृत्तिले धेरैलाई हतोत्साही बनाइरहेको छ । बेलाबेलामा पिपिआरजस्ता महामारी रोग देखापर्दा कृषक ठूलो मारमा पर्ने गर्छन् ।

बजारको सुनिश्चिता

बाख्रापालन व्यवसाय गर्न जति कठिन छ, बजार भने सहज छ । खसीबोकाको मासु नेपालमा निकै खपत हुन्छ । ठूलठूला चाडपर्व, विवाह, व्रतवन्ध तथा विभिन्न पार्टीहरुमा खसीबोको मासु माग हुने गर्छ ।

हरेक वर्ष खसीको माग बढ्दै गएको मासु व्यवसायी संघ चितवनका अध्यक्ष उद्धव तिमिल्सिना बताउँछन् । ‘माग अनुसारको आपूर्ती छैन, अर्डर लिन पनि नसक्ने अवस्था छ,’ तिमिल्सिनाले भने, ‘नेपालमा उत्पादन भए भारतको भर पर्नुपर्ने थिएन ।’

सरकारले भारतबाट खसीबोका ल्याउनसमेत कडाइ गरेपछि मासु व्यवसायीको दिन गाउँघर चहार्दैमा बित्ने गरेको छ । नेपालबाट वर्षेनी करिब १२ देखि १५ अर्ब रुपैयाँ मासु आयातका लागि विदेशिने गरेको छ । बाख्रापालन एउटा यस्तो व्यवसाय हो जसमा आगामी आगामी धेरै वर्षसम्म बजारको अभाव हुने देखिँदैन । स्वदेशमा नै माग पर्याप्त छ ।

उत्पादन गरेर कहाँ खपत गराउने भन्ने चिन्ता किसानलाई छैन । छ त केवल उत्पादन कसरी वृद्धि गर्ने र लाभ कसरी बढि लिने भन्ने मात्रै ।

विज्ञको सुझाव : पहिले ज्ञान लिनुस्

पछिल्ला वर्षहरुमा केही शिक्षित युवाहरुले व्यवसायीक रुपमा बाख्रापालन थालेका छन् । तर बाख्रापालन व्यवसायका बारेमा पर्याप्त जानकारी, लगानीको अवस्था, रोग र समस्याका बारेमा युवा किसानहरु उति जानकार छैनन् ।

बाख्रापालन गर्दा खोरको निर्माण, घाँसको प्रजाति र उत्पादन, दाना र पानी, हावापानी, रोगको संक्रमण जस्ता बिषयमा बिषेश ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन् । कृषि तथा वनविज्ञान विश्वविद्यालयका सहप्रध्यापक एवम् बाख्राकै बारेमा पिएचडी गरेका बाख्राविज्ञ डा. निराजन भट्टराईले व्यवसायिक रुपमा बाख्रापालन गर्नुभन्दा पहिले आवश्यक ज्ञान लिन सुझाव दिए ।

उनी भन्छन् ‘व्यवसायिक रुपमा बाख्रा पाल्नु र जीविकोपार्जनका लागि पाल्नु फरक कुरा हुन् । व्यवसायिक र नाफामूलक बाख्रापालन व्यवसाय गर्न के गर्नुपर्छ भन्ने कुरा थाहा पाउनु नितान्त जरुरी छ ।’

बाख्राका सहउत्पादनहरुको प्रयोगका बारेमा पनि किसानहरु जानकारी हुन आवश्यक ठान्छन् विज्ञ डा. भट्टराई । बाख्राको जुतो, छाला एवं रौं (पश्मिना)लाई सहउत्पादनका रुपमा लिन सकिन्छ । हिमाली भेगमा पाइने च्याङ्ग्राबाट जाडो महिनामा उत्पादन हुने पश्मिनाबाट बनेका विभिन्न कपडाहरु निकै राम्रो मूल्यमा निर्यात हुँदै आइरहेका छन् ।

बाख्रापालनलाई केही टिप्स

बाख्रापालनका लागि सबैभन्दा पहिले स्थानीय वडा कार्यालयको सिफारिस लिएर फर्म दर्ता गर्नुपर्छ । त्यसपछि बढी चिस्यान हुने स्थानमा खोर निर्माण गर्नुपर्छ ।

चिसो वतास चल्ने स्थानमा खोर बनाउनु हुँदैन । सकभर एमोनिया ग्याँस त्यहाँ नहोस् । खोरमा ब्याउने बाख्रा एकातिर, ब्याएका बाख्रा अर्कोतिर, तीन महिनाका पाठापाठी एकातिर र बोका अर्कोतिर अलग्गै राख्ने । ट्यागिङ सिस्टम कायम गर्ने । बाख्राको एकै जातसँग क्रस नहोस् भनेर यसो गर्न आवश्यक छ । त्यसलाई पीडगिरि भनिन्छ ।

कृषिका लागि १० प्रतिशत ब्याजदरमा बैंकबाट क्रण लिन सकिन्छ । त्यसको ५ प्रतिशत सरकारले तिरिदिन्छ र ५ प्रतिशत ब्याज आफैंले तिर्नुपर्छ । यसमा कुनै पनि सेवा शुल्क लाग्दैन ।

हरेक बाख्रको बिमा गरिनुपर्छ । लागत अनुसार सरकारले ७५ र व्यवसायीले २५ प्रतिशत खर्च व्यहोर्ने गरी बिमा गराउन सकिन्छ । क्षति हुँदा किसानलाई ९० प्रतिशत रकम बिमा कम्पनीले दिन्छ ।

खोर वरपर बायोसेक्युरीटी अपनाउनुपर्छ । दिनमा पटकपटक बाख्रालाई पानी खुवाउने गर्नुपर्छ । हरेक दिन बाख्राको अवस्थाका बारेमा जानकारी लिइनु आवश्यक हुन्छ । यसैगरी बाख्राहरुलाई उपयुक्त समयमा खोप र औषधि दिनु उत्तिकै महत्वपूर्ण छ । तीन महिनामा जुकाको औषधि, छ महिनामा आइवरमेटिन लगाउने, एक वर्षमा पिपिआर र खोरेतको भ्याक्सिन लगाउने गरेमा मर्ने क्रम रोकिन्छ ।

बाख्रालाई स्याउला खुवाएर मात्रै हुँदैन । छिप्पिएको स्याउला उसले पचाउन सक्दैन । डाले घाँस, किम्बु इपिलिपीहरु लगाएर खुवाउनुपर्छ । यसले बाख्रालाई प्रोटिन पुग्छ । प्रोटिन बढी भएको घाँस खुवाउँदा फाइदा हुन्छ ।

बढी पैसा पर्ने दानामा भन्दा बढि प्रोटिन सस्तो लागतमा उत्पादित घाँसमा हुन्छ । घाँसका पनि राम्रा बिउ छान्नुपर्दछ । जसरी हुन्छ लागत घटाउनुपर्ने हुन्छ । फाइदाका लागि सजिलो राम्रो र चाँडो हुने घाँसमा स्टाइलो छ । घाँस छर्दिए पुग्छ । नेपियर १५ दिनमा काट्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment