+
+
Shares
गुर्जुधारा दुर्घटना :

अर्जुनले छोरालाई स्कुलसम्म पुर्‍याउन पाएनन्

शर्मिला पण्डित शर्मिला पण्डित
२०७६ पुष ८ गते २०:२७

८ पुस, काठमाडौं । कलंकीस्थित एलआरआई स्कुलको १० कक्षामा अध्ययनरत अर्पण केसी हरेक दिन झिसमिसेमा घरबाट निस्कन्छन् । विहान १० बजेबाट स्कुल लाग्ने भएपनि एसईई परीक्षाको तयारीका लागि विहानैबाट कोचिङ क्लास राखिएको छ ।

त्यसैले उनी पनि विहान ६ बजे नै स्कुल पुग्नुपर्छ । चन्द्रागिरि नगरपालिका-७ चेकपोस्टबाट  विद्यालय झण्डै २ किलोमिटर टाढा छ । विहानै सार्वजनिक सवारी नपाउने भएकाले उनलाई मोटरसाइकलमा स्कुल पुर्‍याइदिनु बुवा अर्जुन केसीको दैनिकी हो ।

छोरालाई स्कुल छाडेर ठमेलस्थित कपडा पसल खोल्न पुग्थे । उनको यो दैनिकी झण्डै आठ महिनादेखि निरन्तर थियो ।

मगंलबार पनि बावुछोरा विहानै उठेर तयार भए । करिव साढे ५ बजेतिर मोटरसाइकलमा बाबुछोरा निस्किए ।

पुसको जाडो, त्यसमाथि बाटो अध्यारो हुने भएकाले खासै चहलपहल थिएन । सडकमा फाट्टफुट्ट गाडी गुडिरहेका थिए ।

अर्जुन बाबुछोरा गुर्जुधारा पुग्नेबित्तिकै उनीहरु सवार मोटरसाइकललाई हुत्याउने गरी ट्रक आइपुग्यो । अर्जुन साइड दिन खोजिरहेका थिए । ट्रकले मोटरसाइकललाई ठक्कर दियो । पछाडि बसेका छोरा अर्पन एकातिर उछिट्टिए । बुबा मोटरसाइकसँगै सडकमा पछारिए ।

ठक्कर दिने ट्रक भाग्यो । सडकमा बत्ति थिएन । त्यसले बत्तिएर आएको अर्को ट्रकले सडकमा पछाडिएका अर्जुनलाई देखेन । उनलाई ठक्कर दिँदै अगाडि बढ्यो ।

अर्को छेउमा लडेका १४ बर्षका अर्पण आत्तिए । सडकमा रत्ताम्मे अवस्थामा रहेका बावुलाई उद्दार गर्ने कोही थिएन ।

आफैंले उठाउन खोजे, सकेनन् । आतिँदै मर्निङवाक हिँडिरहेकी महिलालाई पुलिसलाई खबर गरिदिन आग्रह गर्नसम्म भ्याए । बावुलाई अस्पताल र आफूलाई घर लैजान आग्रह गरे । त्यही भीडमा जम्मा भएकामध्ये एक जनाले उनलाई घर पुर्‍याइदिए ।

अर्पण भन्छन्, म देव्रे साइडमा लडेको भएर चोट लागेन । मोटरसाइकलसँगै बाबा दाहिनेतिर लड्नुभयो र अर्को ट्रकले हानेर भाग्यो ।’

उनको मनमा त्यति नै बेला चिसो पसिसकेको थियो । बुवालाई केही नहोस् भन्दै भगवान पुकारिरहेका थिए ।

तर उनको पुकार भगवानले सुनेन । अर्जुनको घटनास्थलमा नै मृत्यु भइसकेको थियो ।

घटनापछि केसी परिवार शोकमा डुबेको छ ।

हामी घरमा पुग्दा अर्पण झोक्राएर बसिरहेका थिए । कोही आफन्त घर बाहिर ट्रक चालकलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने भनिरहेका थिए । शोकमा डुबेका परिवारलाई सम्झाउने कोशिस गरिरहेका अर्पणका मामा भन्छन्, ‘दुर्घटना भएको ठाउँ सीसीटीभी नभएकाले हालसम्म दुर्घटनामा संलग्न ट्रक चालकलाई पक्राउ गर्न सकिएको छैन ।’

उद्यामी बन्ने सपना बोकेर आएका थिए नेपाल

दुर्घटनामा ज्यान गुमाका अर्जुन १४ वर्ष लामो न्यूजिल्याण्ड बसाई अन्त्य गरेर ८ महिनाअघि मात्र नेपाल फर्किएका थिए ।

सँधै विदेश बसेर हुँदैन, अब नेपालमा केही गर्नुपर्छ भनेर उनी फर्किएको आफन्तहरुले सुनाए ।

पर्वत घर भएका केसीले विदेशमा जोडेको रकमले चन्द्रागिरि नगरपालिका–७ चेकपोस्टमा सानो घर पनि जोडेका थिए । उनले ठमेलमा कपडा पसल किनेका थिए दिनभरि त्यही काम गर्थे ।

४० बर्षीय अर्जुनको परिवारमा श्रीमती र छोरा अर्पण छन् ।

तस्वीर : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?