Comments Add Comment
छापामा आज :

नेताको सिफारिस हुनेलाई मात्र हुम्लामा चामल ! सबै स्थानीय तहका लेखा प्रणाली नष्ट

९ पुस, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले विविध विषय उठाएका भए पनि सरकारबाट समाजवादी पार्टीले रोजेको वहिर्गमन पहिलो प्राथमिकतामा परेको छ । अखबारहरूले औपचारिक समाचारसँगै समाजवादीको हठात् वहिर्गमन, यसले भावी दिनमा राजनीतिमा पार्ने प्रभावबारे पनि विश्लेषण गरेका छन् ।

स्थानीय तहको लेखा प्रणालीमा आएको खराबी, चामल लिन हुम्लाका जनताले भोगेको सास्ती, रेलमार्गलगायत विषयबारे पनि पत्रपत्रिकाहरूले ‘कभरेज’ गरेका छन् ।

कान्तिपुरले समाजवादीको सरकारबाट भएको वहिर्गमन र राजपाको सम्भावित सत्तारोहणबारे चर्चा गरेको छ । कान्तिपुरका अनुसार संविधान संशोधन गर्ने पुरानो सहमतिमा सरकार प्रतिबद्ध नभएको भन्दै दुई तिहाइको सरकारलाई बहुमतमा झारेर समाजवादी बाहिरिएसँगै मधेसको अर्को महत्त्वपूर्ण दल राजपाले के गर्ला भन्ने प्रश्न उब्जेको छ ।

‘राजपा अब संघीय सरकारमा सामेल हुन्छ र प्रदेश २ को सरकारसमेत हेरफेर हुन्छ भनेर राजनीतिक वृत्तमा अड्कल गर्न थालिएको छ । अड्कलबाजी जति सहज रूपमा गरिएको छ, राजपाका लागि भने सत्तारोहण त्यत्तिकै कठिन छ । राजनीतिक इमान ख्याल गरेन र परिस्थितिअनुसार आफूलाई बदल्यो भने राजपाको सत्तारोहण धेरै टाढा छैन’, कान्तिपुरले राजपाको भावी सत्तारोहणको सम्भावनाबारे विश्लेषण गर्दै लेखेको छ ।

अन्नपूर्णले सरकारबाट बाहिरिएका समाजवादीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवको अन्तर्वार्ता छापेको छ । अन्तवार्तामा यादवले सुरुदेखि नै बेवास्ता गरिएको र प्रधानमन्त्रीको चाहना पनि छाडोस् भन्ने नै रहेको बताएका छन् ।

‘सुरुदेखि नै हामीलाई बेवास्ता गरेर संख्यात्मक रूपमा बलियो देखिने काम भयो । पछिल्लो समय नेकपाले हाम्रो आवश्यकता महसुसै गरेन । योजना र नीति–कार्यक्रममा हामीलाई सामेल गराइएन । त्यसैले उहाँहरूलाई नै सजिलो होस् भनेर छाडिदिएका हौं । अब सरकारलाई दिएको समर्थन यथावत् राख्ने या फिर्ता लिने भन्नेबारे आज छलफल गरेर टुंग्याउँछौं’, राजीनामा किन भन्ने अन्नपूर्णको प्रश्नमा यादवले भनेका छन् ।

नेताको चिट लैजानेलाई मात्रै हुम्लामा चामल

हुम्लामा वितरण हुँदै आएको चामलमाथि नागरिकले आज नजर लगाएको छ । नागरिकका अनुसार, हुम्लामा चामल लिन अझै पनि नेताको सिफारिस लिनुपर्ने बाध्यता छ । यसले गर्दा पहुँचवालाले पर्याप्त चामल पाउने र सर्वसाधारण रित्तो हात फर्कनुपर्ने अवस्था छ ।

अनुदानको चामल पाउन नेताको चिट लिनुपर्ने भएपछि खार्पुनाथमा चामल राजनीति चुलिँदै जान थालेको छ । यो वर्ष खाद्य संस्थानको खार्पुनाथ बिक्री केन्द्रमा पाँच सय क्विन्टल चामलको कोटा छ । ठेकेदारले केन्द्रमा २ सय ७९ क्विन्टल झारिसकेका छन् । बाँकी चामल बाटोमै छ । कोटाअनुसार चामल आइनपुग्दै विगतमा जस्तै अहिले पनि स्थानीय नेताले चामल राजनीति थालिसकेको नागरिक समाचारमा उल्लेख छ ।

नागरिक लेख्छ– बिक्री केन्द्रमा आइसकेको चामल सांसद् र नेताको चिटका आधारमा वितरण हुन थालेपछि नेकपा र नेपाली कांग्रेसबीच चामल राजनीतिको होड बढेको छ ।

स्थानीय तहका लेखा प्रणाली नष्ट

देशभरकै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सर्भर सूत्र लामो समयदेखि बिग्रिएको र स्थानीय तहका सबै लेखा प्रणाली नष्ट भएको अन्नपूर्णमा समाचार छ ।

सम्बद्ध अधिकारीहरूले यसलाई ह्याक भएको भन्दै आएका छन् । यसबाट ७ सय ५३ वटै स्थानीय तहका अघिल्लो वर्षको साउनयताका डाटा नष्ट भएका छन् ।

महालेखा नियन्त्रक कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सवनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन सूत्रको गडबडीबारे प्रहरीले अनुसन्धान थालेको अन्नपूर्ण समाचारमा उल्लेख छ ।

सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्वले ०७५–७६ बाट स्थानीय तथा प्रदेश सरकारको सञ्चित कोष व्यवस्थापन गर्न सूत्र कार्यान्वयनमा ल्याएको थियो । महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा निरीक्षक निरज केसीका अनुसार सर्भर ह्याक भएको छ ।

एक महिनामा रेल आउँदै तर कर्मचारीदेखि रेल राख्ने स्थान अभाव

गोरखापत्रले अबको एक महिनामा नेपालको राष्ट्रिय झण्डा अंकित आकर्षक रेल जनकपुर आइपुग्ने पक्का भएको लेखेको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न भने बाँकी छ ।

रेल आउने समय तय भए पनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै अल्झिरहेको छ । रेल सञ्चालनका लागि कार्यालय सहयोगीदेखि व्यवस्थापक र साधारण प्राविधिकदेखि विशेषज्ञ इन्जिनियरसम्मको जनशक्ति आवश्यक छ । अहिलेसम्म कर्मचारी भर्ना तथा व्यवस्थापनका नाममा केही पनि काम अगाडि बढ्न नसकेको समाचारमा उल्लेख छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका पहिलो पृष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment