Comments Add Comment

सुटिङमै कलाकारको गेटअप सार्वजनिक, फस्टलुकलाई के राख्ने ?

चलचित्र ‘सेल्फी किङ्ग’को पोष्टर सार्वजनिक हुँदा यसले राम्रो चर्चा पायो । चलचित्रको पोष्टरमा देखिएको नायक विपिन कार्कीको लुक्स त्यसअघि सार्वजनिक भएको थिएन । निर्माणपक्षले पनि, विपिनको लुक्सलाई लुकाउने प्रयास गर्यो र सफल पनि भयो । यसैले, चलचित्रको फस्टलुकको चर्चा बढी हुन पुग्यो ।

चलचित्र ‘कृ’का लागि नायक अनमोल केसीले लामो कपाल पाले, जीम धाए । उनले, यी सबै मिहिनेत गरिरहेको खबर त आयो तर उनको लुक्स सार्वजनिक भएन । अनमोलले सामाजिक संजालमा आफ्नो लुक्सलाई त लुकाए नै, सार्वजनिक कार्यक्रममा पनि उनी देखिएनन् । जसलेगर्दा, चलचित्रको फस्टलुक सार्वजनिक हुँदा यसले राम्रो चर्चा पायो ।

कलाकारले चलचित्रमा भिन्न गेटअप गर्दा त्यो लुक्सलाई बचाउन सकेको खण्डमा, चलचित्रको प्रचार सामाग्रीमा त्यसले राम्रो फाइदा मिल्छ । तर, सामाजिक संजालको जमानामा हातमा मोबाइल बोकेपछि, यो नियन्त्रण भन्दा बाहिर जान थालेको छ ।

नायिका केकी अधिकारी र अर्की नायिका आँचल शर्माको सामाजिक संजाल चेक गर्ने हो भने, अहिले दैनिक चलचित्रको गेटअप रिलिज भैरहेको छ । चलचित्र ‘झिंगे दाउ’मा काम गरिरहेका यी दुइले आफ्नो गेटअपलाई लुकाउनै सकेनन् । निर्माणपक्षले पनि यसमा नियन्त्रण गर्न सकेन । अब, चलचित्रको फस्टलुक सार्वजनिक हुँदा दर्शकमा कौतुहलता नहुन सक्छ ।

यस्ता उदाहरणमा छायांकनरत चलचित्र ‘प्रेमगीत ३, चपली हाइट ३’ पनि पर्छन् । जहाँ, निर्माताले दैनिकजसो फेसबुकमा लाइभ गर्नेदेखि हरेक दिन फोटो सार्वजनिक गर्ने गरेका छन् । यसैले, यी चलचित्रको फस्टलुक सार्वजनिक हुँदा कलाकारको गेटअपलाई लिएर दर्शकमा उत्साह नरहन सक्छ ।

छायांकनरत चलचित्र ‘संझना विर्सना’मा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको लुक्स उनीहरुले नै सार्वजनिक गरे । यो गेटअप फस्टलुकमा वा चलचित्रको ट्रेलरमा मात्र सार्वजनिक गरेको भए, पक्कै पनि यसले छुट्टै खालको उत्सुकता पैदा गर्न सक्थ्यो । तर, पूजा र आकाशले सामाजिक संजालबाट छायांकन हुँदा हुँदै यो गेटअप रिलिज गरे ।

हुनत, नेपाली चलचित्रका कलाकारले चलचित्रको पर्दामा भिन्न भूमिका कमै मात्र गर्न पाउँछन् । गरिहाले भनेपनि, त्यसलाई चाडो भन्दा चाडो सार्वजनिक गरेर एक दुइदिन मिडियाबाजीमा रमाउन उनीहरु चाहन्छन् । यसले, उनीहरुको भिन्न गेटअपको चर्चा चलचित्रको छायांकन हुँदा नै सकिन्छ । चलचित्रको फस्टलुकसम्म आइपुग्दा त दर्शकमा कुनै खालको चासो नै रहँदैन ।

दुःखका साथ भन्नुपर्छ, नेपाली कलाकारले सस्तो लोकप्रियता खोज्दा अहिले उनीहरुप्रति दर्शकको चासो निकै घटेको छ । दैनिकजसो आउने अन्र्तवार्ता, टिकटक भिडियो, सामाजिक संजालमा अनावश्यक पोष्ट आदिका कारण उनीहरु दर्शकका लागि कौतुहलतामा रहन छाडिसकेका छन् । हलमा दर्शक नआएपनि उनीहरु यस्तै माध्यममा बढी रमाएका छन् । त्यसमाथि, चलचित्रका गेटअपलाई सार्वजनिक गर्ने हतारोले गर्दा दर्शकमा कलाकार र चलचित्रमा उनीहरुको भूमिकालाई लिएर नै उत्साह हराउँदै गएको छ ।

बलिउडमा, बेला–बेलामा केही निर्देशकहरुले छायांकन सेटमा मोबाइल प्रतिबन्ध लगाएका खबर सार्वजनिक भैरहेका हुन्छन् । अब, नेपालमा पनि यस्तै गर्ने बेला आएको हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment