Comments Add Comment

चिनियाँ नागरिकविरुद्धको अपरेशन: हामफाल्लान् भनेर पहिल्यै जालीले घेरिएको थियो घर !

अपरेशन 'चार्ली फोक्स्टर' का १३ रोचक तथ्य

९ पुस, काठमाडौं । सोमबार दिनभर चलाइएको ‘स्वीप’ अपरेशनमा समातिएका १ सय २२ जना चिनियाँ नागरिकको कसुरबारे हालसम्म औपचारिक रुपमा प्रहरीले बताएको छैन ।

चिनियाँ दूतावासको सूचनामा परिचालित केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोलीले सोमबार एकैदिन हालसम्मकै सबैभन्दा बढी विदेशी नागरिकलाई पक्राउ गरेको थियो ।

अनौपचारिक संवादमा प्रहरी अधिकृतले चिनियाँ नागरिकले नेपालमा बसेर साइबर अपराध गर्ने गरेको बताएका छन् । यद्यपि, भाषिक जटिलताका कारण प्रहरी अधिकृतले साइबर अपराधको प्रकृतिबारे विस्तृतमा छुट्टाउन सकेका छैनन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार अहिले अनुसन्धान अधिकृतहरुले चिनियाँ नागरिकले नेपालमा गरेका अपराधबारे केलाइरहेका छन् । उनले अनलाइनखबरसँग भने, ‘नेपालमा अपराध गरेको देखिए, सम्बन्धित कसूर अन्तरगत मुद्दा चलाउँछौं ।’

यो पनि पढ्नुहोस चिनियाँलाई म्याद थप्न लैजाँदा १० वटा गाडी, सय जना प्रहरी !

नभए अध्यागमन ऐनअनुसार निष्कासन गर्न सकिने सुवेदीले अनलाइनखबरलाई बताए । केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी बेलबहादुर पाण्डे भने बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिने तयारी गरिएको बताउँछन् ।

विदेशी नागरिकमाथि हालसम्मकै सबैभन्दा ठूलो अपरेशन कसरी भयो ? अनलाइनखबरसँग सम्पर्कमा आएका केही अधिकृतले अनुसन्धानबाट देखिएका केही तथ्यबारे खुलाएका छन् :

१. चिनियाँ दूतवासबाट प्राप्त सूचनाको आधारमा प्रहरीले यो अपरेशन चलाएको हो । करिब हजार जना चिनियाँ नागरिक नेपालमा बसेर अपराधमा संलग्न रहेको दूतावासको सूचना थियो । सूचनाको आधारमा विदेशीमाथि हालसम्मकै सबैभन्दा ठूलो अपरेशन चलाउन प्रहरीले ६ सय जना जुनियर प्रहरी अधिकृत खटाएको थियो । काठमाडौं प्रहरी परिसर, टेकुबाट मात्र लैजाँदा नपुग्ने भएकाले महानगरीय प्रहरी आयुक्तको कार्यालयसँग समन्वय गरेर गणबाट पनि टोली खटाइएको थियो ।

२. चीन सरकारको अनुरोधमा नेपालमा जस्तै अपरेशन यसअघि फिलिपिन्स, कम्बोडिया र मलेसियामा पनि चलिसकेको छ । ती अपरेशनमा दुई हजारभन्दा बढी चिनियाँ नागरिक पक्राउ परेका थिए । र, छापा हान्ने क्रममा भाग्दा केही चिनियाँको मृत्युसमेत भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

त्यसैलाई मध्यनजर गरेर नेपाल प्रहरीले घर घेराबन्दी गर्नुअघि निर्माणका बेला प्रयोग गरिने जाली चारैतिर विच्छ्याएको थियो । ताकी, पक्राउबाट जोगिने उद्देश्यले घरमाथिबाट हामफाल्दा पनि कसैको ज्यान नजाओस् । एक अनुसन्धान अधिकृतले भने, ‘प्रिकसनका लागि हामीले यो विधि अपनाएका थियौं । जाली विच्छ्याएपछि मात्रै प्रहरी टोलीभित्र छिरेको थियो ।’ यद्यपि, संख्या धेरै भएकाले केही चिनियाँ नागरिक भने भाग्न पनि सफल भए ।

३. चिनियाँ टोलीलाई अनुसन्धानका लागि हिरासतमा ल्याउन पनि प्रहरीलाई हम्मेहम्मे परेको थियो । ठूलो संख्या भएकाले व्यवस्थापन चुनौतिपूर्ण हुनु स्वाभाविक पनि थियो । यद्यपि, काठमाडौं प्रहरी मातहतका विभिन्न युनिटमा लगेर उनीहरुलाई राखिएको थियो ।

यो पनि पढ्नुहोस नेपालमा अपराध गरेको नदेखिए समातिएका चिनियाँलाई देश निकाला गरिने

चिनियाँले केही फुत्काइहाल्छन् कि भनेर प्रहरी अधिकृत अंग्रेजीमा बोल्ने प्रयास गर्थे । तर, जवाफ पाउँदैनथे । ‘उनीहरु अंग्रेजी जाने पनि बोल्दैनन् । सायद जोगिन्छु भन्ने मानसिकता पनि हुँदो हो’, अनुसन्धान अधिकृतहरु भन्छन्, ‘उनीहरुलाई यहाँ पठाउँदाखेरि नै त्यही किसिमले तालिम दिइएको हुँदो हो ।’ मंगलबार अनुवादक बोलाएपछि मात्रै उनीहरुको बयान सुरु भएको छ ।

४. अनुसन्धान अधिकृतले चिनियाँको ‘ट्राभल हिस्ट्री’ जाँच्न चिनियाँ नागरिकसँग पासपोर्ट मागे । तर, कसैले दिएनन् । छापा हान्ने क्रममा पनि ज्यानै न्यून संख्यामा मात्र पासपोर्ट भेटियो । अधिकांश चिनियाँले बयानमा भनेका छन्, ‘हाकिमले लगेको थियो, दिएको छैन ।’ तर, उनीहरुबाट चीनको राष्ट्रिय परिचय पत्र बरामद भएको छ । परिचय पत्रको नम्बरका आधारमा राहदानी नम्बर खोजेर विस्तृत अनुसन्धान भइरहेको छ ।

५. एक जना चिनियाँसँग बयान लिन पनि दिनभर लाग्ने स्थिति देखिएको छ । अनुसन्धान अधिकृतको कुरा बुझेर अनुवादकले अभियुक्तलाई सोध्नु पर्ने र जवाफ दिनुपर्ने भएकाले धेरै समय लागेको हो । थोरै अनुवादक हुँदा समस्या हुने भएकाले संख्या बढाउने प्रहरी तयारी छ । साथै, अनुसन्धान अधिकृतले आगामी दिनमा नेपाल प्रहरीका अनुसन्धान अधिकृतलाई पनि चिनियाँ भाषाको तालिम दिनुपर्ने माग माथिल्लो निकायमा राखिसकेका छन् ।

यो पनि पढ्नुहोस १२२ नागरिक पक्राउमा चीनले भन्यो : काठमाडौंमा संयुक्त अपरेसन चलाइएको हो

६. चिनियाँ नागरिकले ५० हजार रुपैयाँ भाडा पर्ने घरलाई डेढ लाख रुपैयाँसम्म तिरेको भेटिएको थियो । उनीहरुले काम गर्ने अफिस र होस्टल छुट्टाछुट्टै खडा गरेका थिए । पक्राउ परेका चिनियाँ नागरिक भिन्दाभिन्दै समूहको भएको प्रहरी आशंका छ । तर, अहिलेसम्म कुनै पनि समूहको नाइके पत्ता लाग्न सकेको छैन ।

७. पक्राउ परेका व्यक्तिलाई म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय, बबरमहल लैजाँदा १० वटा गाडी प्रयोग गर्नु परेको थियो । नियमित गाडीले नपुगेपछि बस, ट्रक र सीआरभी भ्यान पनि प्रयोग गरिएको थियो । जिल्ला प्रशासन कार्यालयमा पुर्‍याउँदा चिनियाँको ठूलो भिड देखिएको थियो ।

८. पक्राउ परेका चिनियाँ १९ देखि ५० वर्षसम्मका छन् । तर, अधिकांश भने २५ देखि ३० वर्ष उमेर समूहका छन् ।

यो पनि पढ्नुहोस चिनियाँ नागरिकले भरिए हिरासत

९. नेपालमा बसेको एउटा समूहले चिनियाँ युवतीलाई ठगी गर्ने र्‍याकेट चलाइरहेको देखिएको छ । श्रीमानको मृत्यु भएका र आर्थिक लोभमा सजिलै फस्न सक्ने युवतीलाई पहिचान गरेर ठग्ने गरेको देखिएको छ । त्यसरी युवती छान्न मात्रै छुट्टै टोली खटिएका थिए ।

सामाजिक सञ्जाल क्यूक्यू, वी च्याटमा केटीको लिङ्क पठाइदिएपछि एकैपटक युवतीसँग गफ मात्र गर्ने टोलीले उनीहरुलाई फकाउँथ्यो । ‘प्रेममा फसाउन सकिने अवस्था भए, दोस्ती गर्ने, नभए विजनेस गरौं भनेर प्रलोभन दिने गरेको देखिएको छ’, अनुसन्धान अधिकृत भन्छन्, ‘सुरुमा हजार/दुई हजार हाल्न लगाएर एक महिनामा ब्याजसहित रकम बढाएर दिने गरेको देखिएको छ । तर, पछि ठूलो रकम लिएर सम्पर्कविहीन हुने गरेको देखिन्छ ।’

अनलाइन व्यापार भनेर पैसा उठाउन चिनियाँ नागरिकहरुले छुट्टै सञ्जाल विकास गरेका थिए । जसमा खाता खोल्न लगाएपछि आर्थिक कारोबार हुने गरेको देखिएको छ । ‘केटीसँग कुरा गर्न ह्याण्डसम र भर्खरका युवालाई परिचालित गरेको देखिन्छ’, प्रहरी अधिकृत भन्छन् ।

१०. प्रविधिमा विज्ञ टोलीले डलर र युरो सस्तो भएको बेला खरिद गरेर महँगो भएका बेला बिक्री गर्ने धन्दा चलाउने गरेको पनि देखिएको छ ।

यो पनि पढ्नुहोस चिनियाँविरुद्धको अपरेशनमा चीनसँगै सहकार्य, नाम दिइयो ‘चार्ली फोक्स्टर’

११. एउटा समूहले अनलाइनबाट जुवा खेलाउने गरेको भेटिएको छ । ‘बेटिङ र लक्की ड्र जस्ता खेल खेलाउने गरेको पनि देखिएको छ’, प्रहरी अधिकृतहरु भन्छन् । उनीहरुको निशानाचाहिँ चीनतर्फ नै रहेको देखिन्छ ।

१२. काठमाडौं अपरेशन चलाएपछि चितवन र पोखरामा रहेका चिनियाँ नागरिकको पनि भागाभाग भएको छ । प्रहरी उनीहरुको गतिविधिलाई पनि निगरानीमा राखिएको जनाएको छ ।

१३. नेपालमा अपराध नदेखिए कानूनी रुपमा देश निकाला गरेर चीन सरकारलाई जिम्मा लगाउने सरकारी तयारी छ । चीनसँग सुपर्दगी सन्धी नभएकाले पनि अनौपचारिक बाटोबाट चिनियाँ नागरिकलाई हस्तान्तरण गर्न लागिएको हो ।

१४. नेपाल प्रहरीको अनुसन्धानलाई चिनियाँ सुरक्षा टोलीले पनि नजिकबाट हेरिरहेको छ । जसका लागि चिनियाँ सुरक्षा अधिकृतको टोली केही महिनाअघिदेखि नेपालमै बसेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेरुसुङले यो नेपाल र चीनको संयुक्त अपरेशन भएको स्वीकारेका छन् ।

बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले यो अपरेशन निकै महत्वपूर्ण भएको बताएका थिए । तर, नेपाली अधिकारीले भने चीनसँग सहकार्य गरेर अपरेशन चलाइएको औपचारिक रुपमा स्वीकारेका छैनन् ।

यो पनि पढ्नुहोस बैंक ह्याकलगत्तै सुरु भएको थियो चिनियाँ नागरिकमाथि निगरानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment