Comments Add Comment

सरकार छाडेपछि उपेन्द्रले भने : हेरौं राजपाले के गर्छ अब ?

९ पुस, काठमाडौं । सरकारबाट बाहिरएपछि समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चाहेमा पार्टी एकता हुने बताएको छ ।

पछिल्लो समय राजपाले एकीकरणका लागि समाजवादी पार्टीले सरकार छाड्नुपर्ने शर्त राखेको थियो । आफूहरु सरकारबाट बाहिरिएपछि राजपाको त्यो शर्त पूरा भएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताए ।

‘राजपासँग पार्टी एकताका लागि धेरै कुरा मिलिसकेको छ । सरकार छाड्नुपर्ने उहाँहरुको शर्त पनि पूरा भएको छ’ अध्यक्ष यादव भन्छन्, ‘उहाँहरु चाहनुहुन्छ भने हामी तयार छौं ।’

अब पार्टी एकता हुने वा नहुने विषय राजपाको हातमा रहेको यादवको आशय थियो । ‘अब हेरौं राजपा कसरी अगाडि बढ्छ ?’ बिहीबार कार्यकारिणी बैठकपछि आयोजित पत्रकार सम्मेलनमा यादवले भने ।

अध्यक्ष यादवले राजपासँग पार्टी एकताका लागि प्राविधिक कुरा मात्रै बाँकी रहेको दाबी गरे ।

राजपा सरकारमा जाला भन्ने लाग्दैन

समाजवादी बाहिरएसँगै राजपा नेपाल सरकारमा सहभागी हुन सक्ने भनी भइरहेको चर्चाबारे यादवले भने ‘सरकारमा गएर राजपाले आत्महत्या नै गर्ला भन्ने लाग्दैन । जानी जानी यस्तो आत्मघाती कदम नउठाउला ।’

यो पनि पढ्नुहोस उपेन्द्र यादवको टिप्पणी : दुई तिहाईको दम्भ समाप्त भयो

आफूहरु संविधान संशोधन गर्ने शर्तमा मात्र सरकारमा गएको भन्दै यादवले प्रधानमन्त्रीले संशोधन नगर्ने भनेपछि बाहिरिएको बताए । शर्त राखेर समाजवादी सरकारमा जान हुने, राजपा जान नहुने ? भन्ने पत्रकारको प्रश्नमा उनी भन्छन्, ‘त्यो स्वतन्त्रता त उहाँहरुसँग छ ।’

मन्त्रिपरिषद हेरफेर राजनीतिक संस्कार विपरीत

यादव स्वास्थ्यमन्त्रीको हैसियतमा दिल्ली भ्रमणमा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले यादवको मन्त्रालय हेरफेर गरिदिएका थिए । नेपाल फर्किएको केही दिनपछि कानुनमन्त्रीको पदभार ग्रहण गर्दै यादवले मन्त्री हेरफेर गर्नु प्रधानमन्त्रीको अधिकार भएको भन्दै स्वाभाविक प्रतिक्रिया दिएका थिए ।

तर, सरकारबाट बाहिरिएपछि उनको अभिव्यक्ति फेरिएको छ ।

‘स्वास्थ्यमन्त्रीके हैसियतमा बाहिर (विदेश) पठाउने, एउटा कार्यक्रममा स्वास्थ्यमन्त्रीका हैसियतले सहभागी भएर अर्को कार्यक्रममा जाने बेला जिम्मेवारी फेरियो र सहभागी नभएरै फर्किनुपर्यो’ अध्यक्ष यादवले भने । प्रधानमन्त्रीले गठबन्धनको संस्कार नदेखाएको उनले आरोप लगाए ।

अब सडकमा पनि 

समाजवादी पार्टीले अब प्रतिपक्षमा रहेर संविधान परिमार्जन गर्ने संशोधन गर्ने र संविधानलाई सर्वस्वीकार्य बनाउने काममा लाग्ने बताएको छ । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई अब यही मुद्वालाई लिएर सडकमा जाने बताउँछन् ।

‘पहिचानमा आधारिक प्रदेशको संरचना, कार्यकारी राष्ट्रपतीय शासकीय स्वरुपलगायतका मुद्वा लिएर सडकमा जान्छौं । हिजोसम्म सरकारमा रहेर सडकमा जान मिल्दैनथ्यो । उहाँहरुले सडकमा जान बाध्य पार्नुभयो’ डा.भट्टराईले पत्रकार सम्मेलनमा भने ।

यो पनि पढ्नुहोस समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

डा. भट्टराईले नेपालमा अझै राजनीतिक अस्थिरता कायमै रहेको पनि बताए । ‘जनयुद्ध, संविधानसभा, संविधान संशोधन गर्ने जस्ता विषयमा विद्रोह गर्दै राजनीतिक अस्थिरताको अगुवाई गर्दै आउनुभएको आरोप छ नि ? भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष भट्टराई भन्छन्, ‘यसमा मलाई गर्व छ । अस्थिरतामै क्रान्ति हुन्छ । पञ्चायती व्यवस्था लामो समयसम्म थियो, राजतन्त्र थियो, अहिले संविधानप्रति अुसन्तुष्टी छ । अब संविधानलाई सबैको बनाउनका लागि अगुवाई गर्नुमा मलाई गर्व छ ।’

संविधान संशोधन लगायतका समसामयिक विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग समेत सहकार्य गरेर अगाडि बढिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment