Comments Add Comment

सवारी नियम मिच्नेलाई न्यूनतम २ हजार जरिवानाको प्रस्ताव !

९ पुस, काठमाडौं । सरकारले सवारी नियम उल्लंघन गर्नेमाथि हुने जरिवाना रकम अझै बढाउन प्रस्ताव गरेको छ । यातायात व्यवस्था विभागले तयार गरेको नयाँ यातायात व्यवस्था ऐनको प्रारम्भिक मस्यौदामा चर्को जरिवानाको प्रस्ताव गरिएको हो ।

हाल सवारी नियम मिच्नेलाई न्युनतम ५ सय र अधिकतम ५ हजार जरिवाना गराउने प्रावधान छ । अब आउने ऐनले यसलाई बढाउने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । जरिवाना बढाउँदा सवारी नियम उल्लंघनमा कमि आउने उनको दावी छ ।

अब न्यूनतम जरिवाना रकम नै २ हजार पु¥याउने र अधिकतम एक लाखसम्म कायम गरिने प्रस्ताव मस्यौदामा छ । यद्यपि, ऐनको मस्यौदामाथि सरोकारवालासँग छलफल सुरु भएकाले त्यसमा हेरफेर हुनसक्ने विभागले जनाएको छ । कसुरको प्रकृतिअनुसार सजाय रकम बढाउनेदेखि लाइसेन्स निलम्बन र खारेज गर्नेसम्मको प्रावधान राखिएको विभागका एक अधिकारीले बताए ।

विद्यमान नियमअनुसार लाइसेन्स नलिई सवारी चलाएको भेटिएमा २ हजार रुपैयाँ जरिवाना लाग्छ । प्रस्तावित ऐनमा यसलाई थप वृद्धि गर्न प्रस्ताव गरिएको छ । दर्ता नगरी सवारी चलाएको भेटिएमा चालकलाई पनि जरिवाना हुनेछ । त्यस्ता सवारीलाई सरकारले जफतसमेत गर्नेछ ।

स्वीकृति नलिई सवारीसाधनले सिट थपेमा वा सवारीको स्वरुप, इन्जिन तथा च्याचिसमा परिवर्तन गरेमा पनि लाग्ने जरिवाना बढाइँदैछ । खासगरी पछिल्लो समय युवा पुस्तामा मोटरसाइकललाई स्टाइलिस बनाउने नाममा स्वरुप परिवर्तन गर्ने प्रचलन बढेको छ । उनीहरुलाई लक्षित गरी यस्तो जरिवाना बढाउने प्रस्ताव गरिएको हो ।

इजाजत नलिई सार्वजनिक यातायात सेवा सञ्चालन गर्दा हुने जरिवाना रकम पनि बढाउन प्रस्ताव गरिएको छ । यसैगरी तोकिएकोभन्दा बढी भाडा लिएमा तथा क्षमताभन्दा बढी यात्रु बोकेमा हुने सजाय पनि बढाइँदैछ । सीटबाहेक छत, ढोका वा सवारीका कुनै पनि भागमा नियम विपरित यात्रु राखेमा समेत कारवाही हुनेछ । आवागमनमा अवरोध पुग्ने गरी सवारी पार्किङ गर्नेलाई चर्को जरिवाना लगाउने योजना छ ।

सीटबाहेक छत ढोका वा अन्य भागमा राखिएका बेला दुर्घटना भई यात्रुको मृत्यु भएमा चालकलाई कैद सजायसहित जरिवाना लगाउन प्रस्ताव गरिएको छ । ऐनको संशोधन प्रस्तावमा घरपालुवा पशुवस्तुका कारण सवारी दुर्घटना भएमा छाडा छाड्ने पशुपंक्षी मालिकलाई कारवाही गर्ने उल्लेख छ ।

प्रतिस्पर्धात्मक तवरले सवारी सञ्चालन नगरी चक्रिय प्रणालीअनुसार सवारी चलाएमा कैद र जरिवनासहित रुट इजाजतपत्र रद्ध गर्न सक्ने नयाँ व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

यसैगरी सवारीमार्ग परिवर्तन गरी यात्रु बन्धक बनाएमा कैदसहित जरिवानाको प्रस्ताव गरिएको छ । चालक अनुमतिपत्रबिना सवारी चलाएर दुर्घटना गरी कसैको अंगभंग गराएमा पनि जेल सजायसहित अहिलेको भन्दा उच्च दरको जरिवाना गर्ने मस्यौदामा उल्लेख छ ।

बदनियतका साथ दुर्घटना गराएर कसैको अंगभंग भए वा नक्कली नम्बर प्लेट राखेर सवारी साधन चलाउनेहरुलाई पनि कैदसहित ठूलो रकम जरिवाना गर्न प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment