Comments Add Comment

काठमाडौं झनै चिसियो, न्यूनतम तापक्रम ०.९

१० पुस, काठमाडौं । काठमाडौं उपत्यका थप चिसिँदै गएको छ । बुधबार न्यूनतम तापक्रम २.९ मापन भएको काठमाडौंको तापक्रम बिहीबार अझै घटेर ०.९ मा झरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार बिहान ८ः४५ बजे काठमाडौं उपत्यकाको तापक्रम ०.९ मापन भएको हो ।

मौसमविद् सजिना शाक्यका अनुसार, बिहीबार बिहान ५ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री थियो । त्यसको ३ घण्टापछि गरिएको अर्को मापनमा अझै घटेर ०.९ पुगेको छ । दिउँसोको समयमा भने तापक्रम बढ्ने मौसमविद्को प्रक्षेपण छ । मौसमविद्का अनुसार, आज काठमाडौंको अधिकतम तापक्रम १६.७ डिग्री सेन्टिग्रेडसम्म उक्लन सक्छ ।

०.९ काठमाडौं उपत्यकाको यस वर्ष मापन भएको सबैभन्दा कम तापक्रम हो । यसअघि मंगलबार पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ३.२ मापन भएको थियो । बुधबार पुस ९ गते काठमाडौंको न्यूनतम तापक्रम २.९ मापन भएको थियो । मौसमविद् शाक्यका अनुसार, काठमाडौं उपत्यकाको तापक्रम अझै घट्दै जाने सम्भावना देखिएको छ ।

महाशाखाको बिहीबार बिहानको मौसम मापन विवरण अनुसार, जुम्लाको तापक्रम माइनस ७ डिग्री सेन्टिग्रेडमा झरेको छ । डडेल्धुरा, वीरेन्द्रनगर, दीपायल, ओखलढुंगासँगै ताप्लेजुङमा पनि चिसो बढेको छ । महाशाखाका अनुसार, डडेल्धुरामा १.७, वीरेन्द्रनगरमा २, दीपायलमा ३.५, ओखलढुंगामा ३.५ र ताप्लेजुङमा ४.४ सेन्टिग्रेड न्यूनतम तापक्रम छ ।

सतर्कता अपनाउन सुझाव

जाडो बढेसँगै तराई मधेसका जिल्लाको जनजीवन शितलहरका कारण प्रभावित भएको छ ।

जाडोका कारण जेष्ठ नागरिक, बालबालिका र दीर्घरोगी बढी प्रभावित हुने भएकाले सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् । जाडोको बेला सकेसम्म घर बाहिर ननिस्कन, न्यानो कपडा लगाएर बस्न, तातो झोलिलो पदार्थ प्रशस्त पिउनुपर्ने उनीहरुको सुझाव छ । कोठाभित्र बि्रकेट, कोइला, मकल वा हिटर बालेको बेला हावा पास हुने गरी झ्याल खुल्ला राख्नुपर्छ । अन्यथा अक्सिजनको कमी हुँदा मानिसको ज्यानै जानसक्छ ।

केही दिन अगाडि मात्रै कीर्तिपुरमा मकल बालेर सुतेका आमा छोराको सुतेकै अवस्थामा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment