Comments Add Comment

जेठसम्ममा पिच होला चाबहिल-जोरपाटी-साँखु सडक ?

९ पुस, काठमाडौं । बर्षौंदेखि विजोक अवस्थामा रहेको चाबहिल–जोरपाटी–साँखु सडकको काम जेठसम्ममा सक्नेगरी सरकारले नयाँ लक्ष्य निर्धारण गरेको छ । तर, विगतको काम गराइ हेर्ने हो भने जेठसम्ममा काम सकिने कुरा अपत्यारिलो लाग्छ ।

सडक विभागले सडकको अनुगमन गरी फिल्डमा रहेका समस्याबारे छलफल गरेपछि जेठसम्म जसरी पनि सक्ने लक्ष्य तय गरेको छ । सडक खण्डको धेरै भागमा अहिलेसम्म डोजर नै चलेको छैन । सरकारको यो लक्ष्य भेट्टाउँछ वा भेट्टाउँदैन भन्ने थाहा पाउन धेरै समय पर्खिनुपर्ने छैन ।

विभागका उपमहानिर्देशक प्रवक्ता शिवहरि सापकोटाले जेठ २२ भित्र सडक खण्डको विस्तारको काम सक्न ठेकेदारलाई निर्देशन दिइएको बताए । त्यसका लागि आवश्यक सहजीकरण गर्न विभाग तयार रहेको उनको भनाइ छ ।

‘हामीले निर्माण व्यवसायीलाई उपलब्ध सडक सीमामा तुरुन्त काम सक्न भनेका छौं’, उनले भने, ‘हामी आशावादी छौं कि निर्धारित समयममा काम सकिन्छ ।’

दुई हप्ताअघि पूर्वप्रधानमन्त्री तथा सांसद् माधवकुमार नेपाल, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङलगायतको टोली सडक अनुगमनमा गएको थियो । त्यसलगत्तै सरोकारवालाको बैठक बसेर यो सडकखण्ड विस्तारमा भएको समस्या पहिचान गरेको थियो । त्यसकै आधारमा जेठसम्म जसरी पनि काम गर्नेगरी कार्यतालिका बनाइएको हो ।

गत जेठमा संशोधन भएको सार्वजनिक खरिद नियमावलीमा म्याद सकिएका आयोजनालाई एक वर्षभित्र निर्माण गरिसक्नुपर्ने उल्लेख छ । यदि तोकिएको अवधिभित्र काम नभए ती ठेक्का स्वतः निस्क्रिय हुनेछन् । त्यसैले पनि सरकारले यो रूग्ण भएको सडक खण्डको काम जेठभित्र जसरी पनि सक्न ठेकेदारमाथि दबाव दिएको हो ।

सडकका ठेकेदारहरूले भने अन्तिम समयमा आएर सरकारले काम सक्न दबाव दिएको भन्दै गुनासो गरेका छन् । बिरुवा कन्स्ट्रक्सनका सञ्चालक बालकृष्ण थापाले अझै पनि धेरै ठाउँमा काम गर्न स्थानीयले अवरोध गरिरहेको भन्दै जेठभित्र काम सक्न कम्पनीले इमान्दार प्रयास गर्ने बताए ।

‘हिजो यहाँ त्यत्रो अवरोध हुँदा कसैले सहजीकरण गरेनन्, अहिले अन्तिममा आएर दबाव दिन खोजिएको छ’, उनले भने, ‘अवरोध नरहेका सडकखण्डमा हामीले काम गरिरहेकै छौं ।’
यो सडक खण्डका विभिन्न भागमा पिच पनि भएका छन् । केही किलोमिटर कालोपत्रे भए पनि एक किलोमिटर खण्डमा पिच त के बाटो बनाउनै सुरु गरिएको छैन ।

सडकमा समस्या नै समस्या

मुआब्जा विवादले लामो समय यहाँ अवरोध भयो । अझै पनि कति खण्डमा विवाद टुंगिएको छैन । त्यसैले कतै २२ मिटरको खण्डमा कालोपत्रे भइसकेको छ भने कतै एक मिटर पनि छोइएकै छैन ।

विवाद नभएका ठाउँमा पनि सबै ठाउँमा पिच गरिएको छैन । माटो मिसाएको ग्राभल ल्याएर हाल्ने र कालोपत्रे नगरी त्यतिकै अलपत्र गर्ने क्रम वर्षौंदेखि चलिरहेको छ । स्थानीयले कम्तीमा विवाद नभएका क्षेत्रमा पिच गर्न माग गर्दै आएका छन् । ठेकेदारहरूले छोटो दूरीमा कालोपत्रे गर्दा रकम भुक्तानी नहुने तर्क गरेको छ ।

यो सडकमा चल्ने सवारीहरूलाई कम्ता सास्ती हुँदैन । सडकका कति खण्डमा २ फिटसम्म गहिरा खाल्डाहरू छन्, जसलाई पुर्नसमेत ठेकेदारहरूले चासो दिएका छैनन् । बिहान धुलो नउडोस् भनेर हालिएको पानीले सडक हिलो र चिप्लो भएको हुन्छ भने कति स्थानमा पानीले धुलो छोप्न पनि सकेको छैन ।

मोटरसाइकल, स्कुटर र साइकलमा हिँडेका यात्रु धुलाम्य देखिन्छन् । गाडीभित्र यात्रा गर्नेलाई खाल्डायुक्त सडकमा उबडखाबडले हैरान पार्छ । दैनिक दर्जनभन्दा बढी साना–ठूला दुर्घटना सडकककै कारण हुन्छन् । बढीजसो मोटरसाइकलहरू चिप्लिएर लड्ने गरेका छन् । बिहान धुलो मेट्न हालेको पानीले हिलाम्य हुने यहाँका सडक दिउँसो धूलोले नै कुहिरीमण्डल बन्छन् ।

चाबहिलदेखि साँखुसम्मको कूल लम्बाइ ११.४६ किलोमिटर छ । सडक निर्माणका लागि गिट्टी बालुवा सडकको बीच भागमा आइपुग्दा यो खण्डमा सवारी आवागमन पनि प्रभावित हुँदै आएको छ ।

२०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउन काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का लगाएको थियो । तर, स्थानीयहरूले मुआब्जामा चित्त नबुझेर अदालतको ढोका घच्घचाएका थिए । मुआब्जा विवादका कारण देखाउँदै सडक विस्तारको काम लामो समय रोकियो । सरकारले उपलब्ध सडक सीमामै कालोपत्रे गर्ने निर्णय गरेपछि पनि कामले अझै गति लिएको छैन ।

सडक विभागले भने पुराना प्रणालीको ढलको समस्याका कारण कालोपत्रे अघि बढाउन समस्या भएको बताउँदै आएको छ । लामो समयदेखि धुलो र हिलोको मारमा परेका स्थानीयबासिन्दाले यसअघि पटक–पटक सडकमा उत्रिएर विरोध जनाए पनि यो खण्डको समस्या ज्यूँका त्यूँ छ ।

मुआब्जाको विवाद नटुंगिँदै सडक भत्काएपछि अधिकांश क्षेत्रमा सडक मर्मतको काम अलपत्र छ । सरकारले खनेर अलपत्र पारेका सडकका कारण नागरिकले लामो समयदेखि सास्ती भोग्दै आएका छन् ।
विवाद भएको बहानामा ठेकेदारहरूले गर्न सकिने काममा ढिलाइ गरे । विवादित अवस्थामा सडक विभागले पनि ठेकेदारहरूलाई दबाव दिन सकेन । जसका कारण पटक–पटक सडकको काम सक्ने म्याद थपिँदै आएको छ । तर, काम कहिले सकिने भन्नेमा टुंगो छैन ।

३ दशकदेखि अलपत्र सडक

सरकारले चाबहिल–जोरपाटी–साँखु सडक फराकिलो निर्णय गरेको ३१ वर्ष पुग्न पुग्यो । ०४५ को कात्तिकमा तत्कालीन काठमाडौं उपत्यका नगर विकास समितिको बैठकले यो सडकलाई स्तरोन्नति गर्ने निर्णय गरेको थियो । बैठकले यो सडकलाई रणनीतिक सडक कायम गरेको थियो ।
त्यसपछि यो खण्डमा एसियाली विकास बैंकको सहयोगमा केही सुधारका काम भए । तर फराकिलो बनाइएन । ०५७ मा सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयले फेरि यो सडक सुधार गर्नेगरी योजना बनायो । ‘सडक मर्मत विकास परियोजना’ मा यो सडक समेटिएको थियो । तर योपटक पनि सडकले अपेक्षित रूप लिएन । त्यसबेलासम्म यो सडकमा सीमामा दर्जनौं घर बनिसकेका थिए ।

फेरि ०६५ मा योजना दोहोरियो । काठमाडौं सडक विस्तार आयोजनाअन्तर्गत यो बाटो विस्तार गर्ने निर्णय भयो, जतिबेला काठमाडौंमा सडक विस्तारको योजना व्यापक रूपमा तयार भएको थियो ।
त्यो समयमा पनि केही खण्डमा काम भए भने केही खण्ड अधुरै छाडियो । कति ठाउँमा सुधार काम वर्षपिच्छे भइरहे तर विस्तारको योजना अलपत्र नै रहिरह्यो ।

फेरि ०७२ मा भने सडक सीमा नै तोकेर विस्तारको काम थालियो । सडकको केन्द्र भागबाट ११/११ मिटर दायाँबाँया विस्तार गर्नेगरी ठेक्का लगाइयो । यसका लागि ५ खण्ड बनाएर ठेक्का लगाइयो । पछिल्लोपटकको सम्झौता अनुसार यो खण्डको काम ०७४ चैतमा सकिनुपर्ने हो, तर हालसम्म पनि अधुरै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment