Comments Add Comment

रकम फिर्ता नगरेको झोंकमा बुहारीको हत्या !

१० पुस, जनकपुरधाम । रकम फिर्ता नगरेको निहुँमा जेठाजुले खुकुरीले हान्दा धनुषामा महिलाको मृत्यु भएको छ । आफ्नै जेठाजु श्रीप्रसाद पञ्जियारको खुकुरी प्रहारबाट ३८ बर्षीया रानीको मृत्यु भएको हो ।

घटनापछि फरार भएका श्रीप्रसादलाई जनकपुरधाम उपमहानगरपालिका १ स्थित रेल्बे ट्रयाकबाट बुधबार राति ९ बजे पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

श्रीप्रसादले प्रहरीसँगको बयानमा हत्या गरेको स्वीकार गरेका छन् । आफूलाई पुनः विदेश जान रकम जसरी पनि चाहिने भन्दै श्रीप्रसादले दबाव दिएका थिए । रानी ऋण खोज्दै बहिनीको घर बडहरी गएकी थिइन् ।

रानीले बडहरीमै आउनु रकम दिन्छु भनी जेठाजु श्रीप्रसादलाई बोलाएकी पनि थिइन् । तर ऋण नपाएपछि श्रीप्रसादले रानीलाई खुकुरी प्रहार गरेको अनुसन्धानबाट देखिएको धनुषाका प्रहरी प्रमुख एसपी रमेशकुमार बस्नेतले बताए । ‘रकम नदिँदा ज्यानै लिने हिसाबले श्रीप्रसाद खुकुरी बोकेरै बडहरी पुगेको खुलेको छ ।’

रकम नदिएपछि मार्ने उनको पूर्वयोजना नै रहेको प्रहरीले जनाएको छ । घटनापछि फरार भएका श्रीप्रसादलाई पक्राउ गरी बिहीबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

रानीले रकम फिर्ता नगर्दा श्रीप्रसादको घरमा श्रीमतीसँग झगडा पनि भएको प्रहरीले जनाएको छ । ‘आफ्ना भाइबुहारीलाई दिएको रकम फिर्ता नगरेको झोंकमा श्रीप्रसादकी श्रीमती चार दिनअघि माइत गएपछि श्रीप्रसादलाई रिस उठेको देखिन्छ’ प्रहरी प्रमुख बस्नेतले भने ।

मिथिला नगरपालिका ९ बडहरीस्थित आँपको बगैचामा टाउको, नाक र बायाँ हातको तीन ओटा औंला काटिएको अवस्थामा रानी भेटिएकी थिइन् । तत्कालै अस्थायी प्रहरी पोष्ट बडहरीको टोली र स्थानीयहरुले उनलाई उद्वार गरी उपचारका निम्ति पठाए पनि रानीको मृत्यु हुन्छ ।

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था निवासी श्रीप्रसाद रोजगारीका क्रममा मलेसियामा रहँदा भाइ मिश्रीप्रसाद र बुहारी रानीदेवीलाई पटक पटक रकम पठाएका थिए ।

आफूले पठाएको रकम ३ लाख रुपैयाँ पुगेपछि श्रीप्रसादले फिर्ताका लागि दबाब दिन्छन् । आफ्ना श्रीमान् मलेसिया गएको र रकम पठाएपछि दिने भन्दै रानीले टार्दै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment