Comments Add Comment

चलचित्रघर सुनसान, नाटकघर भरिभराउ

काठमाडाैंको एक नाटकघरमा अभिनय गर्दै कलाकार ।

पुस महिनाको चिसोसँगै चलचित्र क्षेत्र पनि चिसिएको छ । हलमा दर्शक नगण्य छन् । पुस महिनामा रिलिज हुने चलचित्रबाट ठूलो आश पनि छैन ।

चलचित्र हल सुस्ताउँदै गर्दा थिएटर भने गर्माएका छन् । अहिले थिएटरमा दर्शक भरिभराउ छन् । मनोरञ्जनको लागि नाटक हेर्ने ‘कल्चर’ राजधानीमा बढिरहेको छ । सञ्चारमाध्यममा पनि नाटकका चर्चा हुन थालेका छन् ।

सबैभन्दा बढी चर्चा पायो, ‘मार्क्स फर्किए’ नाटकले । सुनिल पोखरेल, निशा शर्मा, प्रविण खतिवडा, कमलमणी नेपाललगायतको मुख्य अभिनय रहेको उक्त नाटक पुस १ गतेबाट ३ गतेसम्म ३ दिन मञ्चन भयो । प्रज्ञा प्रतिष्ठानमा मञ्चन भएको यस नाटक हेर्ने दर्शकको संख्या निकै उत्साहजनक थियो ।

सुनिल पोखरेल, निशा शर्माजस्ता थिएटरका हस्तीहरुले धेरैपछि नाटकको मञ्चमा अनुहार देखाएका थिए । त्यसैले पनि यस नाटककले छुट्टै हाइप लियो । राजनीति क्षेत्रका व्यक्तित्वहरुले पनि नाटक हेरे । तर, नाटकको टिकट भने अस्वभाविक महंगो थियो ।

अहिले अनामनगरमा रहेको मण्डला थिएटरमा नाटक ‘झोला हराएको मान्छे’ मञ्चन भइरहेको छ । स्लिम जीवनले लेखेको यो नाटक दीपेन्द्र शाहीको निर्देशनमा मञ्चन भएको हो । नाटकमा सुनिशा बजगाई, चन्द्र नेपाली, विकास लामा, संजीव प्रताप मल्ल, सविना थापा, नवीनचन्द्र अर्याल, गणेश पौडेल, जयराम ढकाल, स्मिल जीवन, मनिराज पौडेल, विशाल श्री, आनन्द महत, मोहन राई, अरुणसिंह पौडेल, संजीव योगीले अभिनय गरेका छन् ।

निर्देशक दीपेन्द्र यो नाटक झोलामा आफ्नो भविष्यको सपना बोकेर हिँड्नेहरुको कथा भएको बताउँछन् । उनले भने, ‘पूर्वी पहाडबाट विदेश जान एक जना पात्र आएको हुन्छ । उसको झोलामा पसपोर्ट, पैसा हुन्छ । काठमाडौं आएपछि उसले आफ्नो झोला हराउँछ । त्यसैको सेरोफेरोमा नाटक घुमेको छ ।’

दर्शकको उपस्थितिले निर्देशक खुसी छन् । उनले भने, ‘सुरुआती दिनको भन्दा अहिले दर्शक बढिरहनु भएको छ ।’ दर्शक प्रतिकृया पनि राम्रो भएको दीपेन्द्रले बताए ।

शिल्पी थिएटरमा भने हालै कलाकार आशान्त शर्माको निर्देशनमा तयार भएको नाटक ‘बुलेट एण्ड द बुद्ध’ को मञ्चन सकिएको छ । मंसिर २५ गतेबाट मञ्चन सुरु भएको यस नाटक पुस ५ गतेसम्म चलेको थियो । चलचित्र क्षेत्रमा पनि परिचित हुँदै गएका आशान्त निरन्तर नाटकमा काम गरिरहेका छन् । आत्मसन्तुष्टिको लागि पनि उनले रंगमञ्च छोड्न सकेका छैनन् । नाटकमा नै खुसी खोजिरहेका छन् ।

उनको निर्देशनमा तयार भएको नाटक ‘बुलेट एण्ड द बुद्ध’ नाटकले निकै राम्रो प्रशंसा पायो । तर, सोचेजति दर्शक पाएन । निर्देशक शर्मा भन्छन्, ‘जति सोचेका थियौँ उत्ति दर्शक पाएनौँ । हाम्रो नाटक चलिरहेको बेला पानी पर्नाले पनि असर गर्यो ।’ यो नाटक भने मानिसको विचारसँग सम्बन्धित थियो ।

रातोपूलमा भर्खरै सञ्चालनमा आएको शैली थियटरमा ‘भुसको आगो’ मञ्चन गरियो । मंसिर १५ गतेबाट मञ्चन भएको उक्त नाटक १५ दिन चलेको थियो । नयाँ थिएटर भए पनि दर्शकको उपस्थिति बाक्लो थियो । महिला शसक्तीकरणको आवाज बोल्ने यस नाटकलाई नवराज बुढाथोकीले निर्देशन गरेका हुन् ।

अहिले शैली थिएटर बाल नाटक महोत्सवको तयारीमा लागिरहेको छ । एघार वर्षदेखि यस थियटरले बाल नाटक महोत्सवको आयोजना गर्दै आइरहेको छ ।

त्यस्तै सर्वनाम नाटक थिएटरमा शुक्रबारदेखि ‘ऋतुचार्य’ नाटक मञ्चन सुरू भएको छ । त्यहीँ अध्ययन गरेका १५ औं व्याचका विद्यार्थीहरुले नाटक मञ्चन सुरू गरेका हुन् । ऋतु र अहिलेका पुस्ताका युवाहरुको मनोभावलाई समेटेर यो नाटक तयार गरिएको छ ।

थापागाउँमा रहेको कुञ्ज नाटकघर भने खाली छ । यहाँ कुनै नाटकको मञ्चन तथा तयारी भइरहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment