वर्तमान चीनका मुक्तिदाता, आफ्नो जमानाका अब्बल मार्क्सवादी दार्शनिक, अर्थशास्त्री र सिद्धान्तलाई जीवन व्यावहारमा लागू गर्ने सर्वहारा वर्गका गुरु माओत्सेतुङलाई अहिले पनि चीनका जनताले अध्यक्ष शब्दले सम्वोधन गर्छन् ।
पिपुल्स् ग्रेट हलमा २०१७ को १८ देखि २४ अक्टोबरमा भएको चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशनबाट सी विचारलाई पार्टीको सैद्धान्तिक निर्देशक मान्दै आएको उक्त पार्टीका वर्तमान अध्यक्षले पनि माओलाई अध्यक्ष नै भनेर सम्बोधन गर्छन् ।
माओको नेतृत्वमा भएको २८ वर्ष चिनियाँ प्रतिक्रियावादी कोमिन्ताङको सत्ता र जापानी साम्राज्यवादका विरुद्ध वर्गीय र राष्ट्रिय मुक्ति सशस्त्र संघर्ष पूरा गरेर प्राप्त भएको नयाँ जनवादी हुँदै समाजवादी राज्य व्यवस्थामाथि सशोधनवादी प्रतिक्रियावादीहरुले कब्जा गरेपछि ‘बुर्जुवाको हेडक्वार्टरमाथि बमबार्ड गर’ भन्ने नारा दिएर शुरु भएको सर्वहारावर्गीय सांस्कृतिक क्रान्ति चल्दै गर्दा पढे, हुर्के बढेका सी अहिले महाशक्ति चीनको शक्तिशाली राष्ट्रपति बन्न पुगेका छन् ।

अहिले चीनले जुन आर्थिक, प्राविधिक र औद्योगिक विकास गरेको छ, त्यसको मुख्य श्रेय केही बुज्रुकहरुले तेङ सियापिङलाई दिने गरेका छन् र सी जिनपिङलाई तेङको उत्तराधिकारी सम्झिने गरेका छन् । तर, अमेरिका, बेलायत, जर्मनीजस्ता देशका विद्वानहरुले सी माओतिर फर्किएको आरोप लगाएका छन् र उनीहरु चीनसँग तर्सिरहेका छन् ।
अहिलेको चीनलाई एक सय वर्षअघिको चीनसँग तुलना गर्ने हो भने आकाश–पातलको फरक देखिन्छ ।
आजभन्दा एक सय वर्ष अगाडि चीनमा कम्युनिस्ट पार्टीको स्थापनाको तयारी हुँदै थियो । सन् १९१९ मा मार्क्सवादको अध्ययनलाई देशैभरि फैलाइएको थियो भने १९२१ मा गएर छन तु स्यु, लि ताजाओ, माओ त्सेतुङहरु मिलेर पार्टी बनाएका थिए । त्यो समयमा चीनमा सन यात सेनको नेतृत्वमा कोमिनताङ पार्टीको सरकार चलिराखेको थियो । त्यो पार्टी राष्ट्रवादी थियो र उक्त पार्टीले सन यात सेनको नेतृत्वमा १९११ मा त्यहाँको राजतन्त्रका विरुद्ध लडेर गणतन्त्र स्थापना गरेको थियो ।
कोमिन्ताङसँग चिनियाँ कम्युनिस्ट पार्टीको सहकार्य नै चलेको थियो । सन् १९२७ को मार्चमा भएको कोमिन्ताङको केन्द्रीय समितिको बैठकमा माओ आफैं सहभागी भएर गरिब किसानका मामिलामा ‘स्थानीय बदमास र दुष्ट सज्जनहरुको निरन्तरको दमन’बारेमा जमेर बहस गरेका थिए । त्यहाँबाट नै कोमिन्ताङ सरकार, जसको नेतृत्व चाङ काईसेकले गरेका थिए, प्रतिक्रियावादमा पतन भएको निष्कर्ष निकालिएको थियो ।
कोमिन्ताङ सरकारको भीषण दमन र पार्टीमा लागू गरिएको गलत कार्यदिशाका कारण चिनियाँ क्रान्तिले ठूला–ठूला दमन खेप्नुपरेको थियो । माओले लामो समयसम्म पार्टीभित्र वैचारिक बहस चलाउँदै आएका थिए । अन्ततः जनसेनाको छिन्नभिन्नता, पार्टी संगठनको खस्कँदो अवस्था र कार्यदिशाको समस्याको पहिचान गरी माओले ८ हजार सय सेना १ हजार पार्टी नेता कार्यकतासहित १४ अक्टोबर १९३४ देखि लम्बे अभियान शुरु गरेर पार्टीलाई पुनर्जीवन दिनुका साथै नयाँ कार्यदिशा ‘दीर्घकालीन जनयुद्ध’ लागू गरेका थिए ।
यसरी माओले अद्र्धसामन्ती, अर्धऔपनिवेशिकजस्तो पिछडिएको देशमा क्रान्तिको नयाँ कार्यदशिा निर्माण गरेका थिए । उनले नै पार्टी, सेना र संयुक्त मोर्चालाई क्रान्तिका ३ जादूगरी हतियारका रुपमा परिभाषित गरे । त्यही क्रममा चीनमाथि जापानी साम्राज्यवादले फौजी आक्रमण गर्दा माओले चाङकाइसेकसँग संयुक्त मोर्चा बनाउने प्रस्ताव लगेका थिए । तर, चाङ काईसेकले उक्त प्रस्तावलाई अस्वीकार गरेपछि उसकै जनरल झ्याङ सुइलिङले सियाङमा समातेर जनमुक्ति सेनालाई बुझाइ कम्युनिस्टहरुसँग संयुक्त मोर्चा बनाउन दबाव दिएपछि २५ डिसेम्बर १९३७ मा च्याङ काईसेकलाई छोडिएको थियो । त्यसपछि छुङकिङ सम्झौता भएको थियो ।
चिनियाँ कम्युनिस्ट पार्टी र कोमिन्ताङ मिलेर केही समय जापानी साम्राज्यवादका विरुद्ध लडे । तर, जापानविरुद्धको संयुक्त मोर्चा धेरै टिकेन । अन्ततः चिनियाँ कम्युनिष्ट पार्टी र कोमिन्ताङ विरुद्धको अन्तिम लडाइँ भयो र १ अक्टोबर १९४९ का दिन माओले जनवादी गणतन्त्र चीनको घोषणा गरे ।
आफ्नो जीवनमा माओ पार्टीभित्र लामो समयसम्म अल्पमतमा पर्दै आएका थिए । तर पनि विचार, राजनीति र वर्गप्रतिको दृढता रहेकाले उनले व्यक्तिगत जीवनलाई असाध्यै सरलीकृत र सर्वहाराकृत गर्दै जानुका साथै वैचारिक संघर्ष, अन्तर्संघर्ष, वर्गसंघर्ष र राष्ट्रिय मुक्ति संघर्षलाई एकै साथ लैजान सफल भए ।
माओकी जीवनसंगिनी याङकाई हुईलाई चाङकाई सेकको सरकारले चरम यातना दिएर मारेको थियो भने जेठा छोरा माओ एनिङको २८ वर्षको उमेरका कोरियाली युद्धमा मृत्यु भएको थियो । माओ एनिङको मृत्यु युद्धमैदानमा हवाई आक्रमणबाट भएको थियो । तर, याङकाई हुई र जेठा छोरा ८ वर्षका एनङिलाई अक्टोबर १९३० मा कोमिन्ताङको सेनाले समातेर चरम यातना दिएको थियो । याङकाईलाई पार्टी माओलाई छोड्न दबाव दिइयो ।
तर, त्यसको प्रत्युत्तरमा याङकाईले ‘तिमीहरु मलाई मार्न सक्छौ, तर तिमीहरुले मेरो मुुखबाट केही पनि पाउन सक्दैनौं, मेरो टाउकोलाई टुक्राटुक्रा पारेर हावामा फ्याकिदेउ, मृत्युले डरपोकहरुलाई मात्र तर्साउँछ, तर कम्युनिस्टहरुलाई होइन, चाहे सागर सुकोस् वा चट्टान टुक्राटुक्रा होस्, तर म माओसँगको सम्बन्धलाई तोड्न सक्दिनँ ।’ भनेकी थिइन् । त्यसपछि याङलाई २९ वर्षको उमेरमा १४ नबेम्बर १९३० मा मारियो ।
विश्वमा अहिलेसम्म वास्तविक मार्क्सवादी सिद्धान्तमा आधारित रहेर पूरा भएका देनिनको नेतृत्वको अक्टोबर र माओको नेतृत्वको चिनियाँ नयाँ जनवादी क्रान्ति हो । यी दुईवटा क्रान्तिका मोडेललाई आधार मानेर त्यसपछि क्रान्ति भएका छन् । विश्वको एक तिहाई भूभागमा समाजवादको स्थपाना भएको पनि थियो । तर, ती सबै समाजवादी सत्ताहरु अहिले ढलिसकेका छन् ।
यिनै परिघटनाहरुलाई लिएर नवमार्क्सवादीहरु अब क्रान्ति सफल हुँदैन भन्दै कुर्लिरहेका छन् । नेपालमा माओवादमाथि आक्रमण भइरहेको छ ।
विसं. २०२८ सालताका चारु मजुमदार हाम्रा नेता, अध्यक्ष माओ हाम्रो पनि अध्यक्ष भन्दै झापा विद्रोह गर्ने र माक्र्सवाद–लेनिनवाद–माओवादलाई मार्ग निर्देशक सिद्धान्त मानी १० वर्षसम्म हतियारवद्ध जनयुद्धको नेतृत्व गर्नेहरुको पार्टी एकता भएर सरकार चलाएकाहरुले माओवादलाई मजाक बनाइराखेका छन् । उनीहरु माओको योगदानको कदर गर्दैनन् ।
माओले नयाँ कार्यदिशा प्रतिपादन गर्दै गर्दा विभिन्नखाले सुधारवादी, मिहीन, छद्म संशोधनवाद र उग्रवामपन्थका विरुद्ध लडेर सही विचारको निर्माण गरेका थिए । दर्शनमा एंगेल्सका केही त्रुटीहरुलाई सच्याउँदै विकास गरेका थिए ।
माओले अन्तरविरोधबारे, व्यवहारबारे जस्ता पुस्तक तयार पारे । यी कितावमा उनका नयाँ दर्शनहरु पढ्न पाइन्छ । समाजवादमा उनले जनताको जनवादी अधिनायकत्वको अवधारणाको विकास गरेका थिए । राजनैतिक अर्थशास्त्रमा हुनान किसानहरुको रिपोर्ट, नोकरशाही, दलाल, राजकीय पुँजीवादका विशेषताहरु पत्ता लगाएका थिए । कार्यदिशामा गाउँले सहरलाई घेर्ने दीर्घकालीन जनयुद्धको प्रतिपादन गरेका थिए । त्यसैले साम्राज्यवादको जबर्जस्त उपस्थिति र हैकम कालमा पनि बेलायत, अमेरिकाजस्ता शक्तिशाली साम्राज्यवादलाई कैयौं मोर्चामा हराएको जापानी साम्राज्यवादलाई चीनबाट लखेट्न माओ सफल भए ।
अहिलेको चीनको मुख्य जग नै माओले राखिदिएका हुन् । अफिममा चौबिसै घन्टा झुम्ने चिनियाँ पुरुष र सामन्तवादी, साम्राज्यवादी र पुरुषवादी अजङ्गका पहाडले थिचिएका महिलाहरु कसरी ज¥याक जुरुक उठ्न सक्दथे र ?
माओ वास्तविक मार्क्सवादी सर्वहारा थिए । १ अक्टोबर १९४९ मा जनवादी गणतन्त्र चीनको घोषणा गर्दा माओले च्यातिएको सैनिक पोशाकलाई टालेर लगाएको कुरा उनकै अंगरक्षक याङ्ची क्वाकले लेखेको माओ म्यान नट गडमा उल्लेख छ । उनकी कान्छी छोरी जो अहिले पनि जिवित नै छिन्, लि ना बाबु राष्ट्रप्रमुख हुँदा पनि पौष्टिक खाना खान नपाएर सुकेनाश लागेको प्रसंग पनि उनले उल्लेख गरेका छन् ।
सन् १९६१ मा चीनमा भएको ठूलो भोकमरीमा त्यहाँका जनताले कन्दमुलको रोटी पकाएर खाएको थाहा पाएर रोएका माओले ६ महिनासम्म मासु खाएका थिएनन् भन्ने जस्ता धेरै प्रसंगहरु उक्त पुस्तकमा उल्लेख छ ।
सर्वहारावर्गीय जीवनशैली, उम्दा विचार, अदम्य साहस, उर्जाशिल गतिशीलता, वर्गीय समर्पण र अद्वितीय बलिदानले माओ माओ बनेका हुन्, जसले त्याग, बलिदान, समर्पण गर्न सक्छ र उच्च विचारको खोजी गर्न सफल रहन्छ, उहीमात्र महान बन्न सक्छ ।
व्यक्तिगत स्वार्थबाट टाढा रहेका माओबाट विश्वका कम्युनिस्टहरुले सिक्नुपर्छ । अझ नेपालका कम्युनिस्ट नेताहरुमा देखा परेको पद, पैसा, प्रतिष्ठा, परिवारको घेराबन्दीलाई तोड्न माओबाट सिक्न जरुरी छ ।
माओको १२७ औं जयन्ती (डिसेम्बर २६ ) मा माओबाट सिक्न र उनको असल शिष्य हुन जरुरी छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4