Comments Add Comment
गुलियो उखुको तितो कथा :

सरकार, हामी किसानलाई भोकभोकै मार्ने ?

सर्लाहीका ६० जना उखु किसान किन आए काठमाडौं ?

१२ पुस, काठमाडौं । जस्ताले बारेको चिसो कोठामा फलामको एउटा खाट । खाटमाथि म्याट्रेस र एउटा तन्ना । पातलो ओढ्ने । छेवैमा टेबल । टेबलमाथि चिसो चुल्हो । छेवैमा एउटा पंखा र च्याउका लागि चाहिने ‘ब्लोअर’ मेसिन ।

सतुङ्गल चोकबाट भित्रयस्तै अस्तव्यस्त कोठामा भेटिए, यसै साता काठमाडौं छिरेका सर्लाहीका उखु कृषक रामविलास र सीताराम महतो ।

डेरावाल अर्थात सीतारामका भाइ रामबाबु च्याउको मेसिन निर्माण तथा मर्मतको काम गर्छन् । दुई दिन भयो, दाइहरु रामबाबुको चिसो कोठामा पाहुना लाग्न आएका । ‘जोगीका घरमा सन्यासी पाहुना’ भनेजस्तै !

एकातिर मनमा पीर, अर्कातिर काठमाडौंको मुटु ठिहिर्‍याउने चिसा । उनीहरुलाई निद्रा लाग्दैन । सीताराम जाडोले काँपेका ओठ फर्फराउँछन्, ‘चिसोले कपडा बरफजस्तै बन्छ । बरफसँग सुतेर कहाँ निद्रा लाग्छ र ?’

सर्लाहीबाट रामविलास र सीतारामसँगै उखु किसानको एउटा डफ्फा काठमाडौं छिरेको छ । ८ दिनअघि काठमाडौं आउने नाइट बस चढ्दा ६० जनाको फौजभित्र आगो र आक्रोश थियो । काठमाडौंको सिरेटोमा थरथर काँपे पनि उनीहरुभित्रको त्यो आगो अझै मत्थर भएको छैन, झनै दन्कँदो छ ।

मत्थर होस् पनि कसरी ? वर्षभरि दुःख गरेर उब्जाएको उखु चिनी मिलसम्म पुर्‍याइदियो, मिलको मालिकले पैसा नै भुक्तानी गर्दैन, त्यो पनि एक वर्षको हो र ? ६ वर्षदेखिको ।

संघर्षका लागि गणतन्त्र नेपालको केन्द्रीय राजधानी काठमाडौंसम्म आइपुगेका ६० वर्षे रामविलास भन्छन्, ‘जबसम्म मालिकले पैसा दिँदैन, तबसम्म हामी घर जाँदैनौं । घर र्फकनका लागि हामीसँग पैसा पनि त छैन ।’

रामविलासले अन्नपूर्ण सुगर एण्ड जनरल इण्डस्ट्रिज प्रालिका सञ्चालक राकेश मिश्रबाट साढे दुई लाख रुपैयाँ लिन बाँकी छ । कति यस्ता किसान पनि काठमाडौं आएका छन्, जसले राकेशबाट २० लाख रुपैयाँसम्म पाएका छैनन् ।

गुलियो उखुको तितो कथा !

सर्लाहीमा रामविलासको १५ कठ्ठा आफ्नै जमीन छ । थप दुई विघा जमिनमा बटैया (अधियाँ) खेती गर्छन् । सीतारामको पनि १५ कठ्ठा जमीन छ । थप १५ कठ्ठामा उनी पनि बटैयामा उखु खेती गर्छन् ।

तर, उखु जति गुलियो भए पनि खेती गर्न कहाँ सजिलो छ र ?

एक कठ्ठा जमिनमा प्रतिकिलो ३७ रुपैयाँका दरले १५ किलो मल हाल्नुपर्छ । तीन क्वीन्टल त उखुको बिउ नै राख्नुपर्छ । एक केजी बिउको मूल्य ५३६ रुपैयाँ । १० पटकसम्म खेत जोतेर धुल्याउनुपर्छ । यसका लागि ट्याक्टरले प्रतिघण्टा १२ देखि १४ सय रुपैयाँसम्म लिन्छ । काम गर्ने मजदुरको ज्याला नै दैनिक पाँच सय पर्छ ।

यसरी रोपेको उखु उत्पादन हुनका लागि लगभग एक वर्ष कुर्नुपर्छ । एक कठ्ठामा १० देखि २० क्विन्टलसम्म उखु उत्पादन हुन्छ ।

उत्पादन भएको उखु काटेर मात्र पुग्दैन, ट्रयाक्टरको भाडा तिरेर चिनी मिलसम्म किसानले आफैं पुर्‍याइदिनुपर्छ । सुगर मिलका मालिकले एउटा चिर्कटो बिल लिएर सस्तो एवं उधारोमा उखु खरीद गर्छन् । उखुबाट चिनी बनाउँछन् र बेच्छन्, तर वर्षौंसम्म गरीब किसानको पैसा तिर्दैनन् ।

गरीब किसानले उखुबाट प्राप्त हुने आधा आम्दानी जग्गाधनीलाई बुझाउनुपर्छ । उखु तयार पार्नका लागि किसान आफैंसँग पैसा हुँदैन ।

आन्दोलन गर्न काठमाडौं आएका सीतारामको उखुको मूल्य अन्नपूर्ण सुगर एण्ड जनरल इण्डस्ट्रिजका मालिक राकेश मिश्रले तिरेका छैनन् । ‘३५ प्रतिशत ब्याजमा धनीसँग ऋण लिएर खेती गर्छौँ, मिलको साहुले पैसा दिएन त जग्गाधनीलाई ऋणको पैसा कसरी बुझाउने ?’, सीताराम गहभरि आँशु पार्छन् र अनुत्तरित प्रश्न तेर्स्याउँछन् ।

उखु किसानका लागि अर्को पनि वियोगान्त नियति छ, वर्षभरि काम गरेपछि एक कट्ठाबाट करिब एक हजार रुपैयाँ किसानको हातमा पर्छ । एक विघाको उखु खेतीबाट मात्र २० हजार ।

रामविलास बेदना थेग्न सक्दैनन् । भक्कानिँदै भन्छन्, ‘अब त गरीखानै नसकिने भैसक्यो । सन्तानलाई कसरी पढाउने ? साहुको बाटो हेर्दाहेर्दै चिसोमा यहाँ (काठमाडौं) सम्म आइपुग्यौँ । तर, साहु नै भेटिएको छैन ।’

उखु लगाउने समय हो-माघ र फागुन । खेतीको मौसम आइसक्यो । तर, साहुबाट पैसा नलिए उनीहरुलाई अर्को बाली लगाउन मुस्किल छ ।

सीताराम बोल्छन्, ‘अहिलेसम्म त अरुको खेतमा काम गरेर कोदाली चलाएर पनि परिवार धानेका छौँ, यसरी नै सधैं ११/१२ जनाको परिवार चलाउन कसरी सकिन्छ ?’

सिंहदरबारले सुने पो !

रामविलास ८ हजार रुपैयाँ ऋण लिएर अघिल्लो शनिबार काठमाडौंका लागि नाइट बस चढेका हुन् । सीतारामले काठमाडौं आउने बेलामा २ हजार रुपैयाँ मात्र ऋण पाए । रात्री बसलाई सात सय भाडा बुझाएर बिहानको ७ बजे उनीहरु काठमाडौं ओर्लिए । 

सीताराम र रामविलाससँगै ६० जना किसानको फौज थापाथलीमा रहेको अन्नपूर्ण सुगर एण्ड जनरल इण्डस्टि्रज कर्पोरेट अफिसमा पुगेर धर्नामा बस्यो ।

बिहान १० बजे सुगर मिल्सको कार्यालय खुल्यो । तर, मालिक आएनन् । कर्मचारीले भनिरहे, ‘आउनुहुन्छ, आउनुहुन्छ ।’

तर, त्यहाँ मालिक होइन, प्रहरी पो आइपुगे ।

किसान पछाडि हटेनन् । प्रहरीसँग भने, ‘हामीलाई हाम्रो पैसा दिनुस्, जान्छौँ ।’ प्रहरी नै पछि हट्यो ।

अपरान्ह चार बजेसम्म पनि मालिक नआएपछि किसानले राकेश मिश्रलाई फोन गरे । मिश्रले ठाडो जवाफ दिए, ‘मसँग कसैको पैसा छैन । दिन सक्दैन ।’

रामविलासले ज्याकेटको भित्री खल्तीबाट बिलको चिर्कटो देखाउँदै अनलाइनखबरसँग भने, ‘यो के हो हजुर ! यति धेरै पैसा नदिएर हामी किसानलाई भोकभोकै मार्ने ?’

सर्लाहीका उखु किसानहरु उद्योगले पैसा तिर्न बाँकी भएको बिल नै बोकेर सिंहदरबार छेउमा न्याय माग्न आएका छन् । रामविलासले देखाएका कुनै बिलमा ४१ हजार त कुनैमा ३९ हजार रुपैयाँ सुगर मिलबाट लिन बाँकी देखिन्छ ।

सीताराम धुजा-धुजा हुन लागेका उस्तै बील देखाउँदै भन्छन्, ‘यस्ता बिल त घरमा थुप्रै छ । कति च्यातिइसके, कति मुसाले खाए ।’

उखु किसानका अगुवा हरेश्याम रायका अनुसार सुगर मिलमा किसानको ५० करोड रुपैयाँ बक्यौता छ । महालक्ष्मी सुगर मिल्सबाट २१ करोड उठ्न बाँकी छ ।’

दिउँसो वर्ग संघर्ष, राति जाडोसँग…

दिउँसो धर्ना दिएर साँझ कहाँ बस्ने ? रामविलास र सीतारामलाई परेन आपत ? पहिलो दिन उनीहरु गाउँकै मान्छेको एउटा कवाडीमा पसे र त्यहीँ बास बसे ।

कवाडीमा न खाट, न ओछ्यान । भूइँमा म्याट्रेस बिछ्यायो, अनि एउटा तन्ना ओढ्यो सुत्यो । रामविलास भन्छन्, ‘छेउमा आगो फुक्यौँ । र, त्यही आगो तापेर रात कटायौँ ।

उज्यालो भयो, उनीहरु फेरि उही सुगरमिलको कार्यालयमा पुगे ।

अहँ, आज पनि मालिक आएनन् । उनीहरुले कार्यालयमा ताला ठोकिदिए । अनि, सिंहदरबारतर्फ लागे ।

रामविलाससहित चारजना अगुवाहरु सिंहदरबारभित्र छिरेर उद्योग मन्त्रालयमा पुगे । मन्त्रालमा मन्त्री होइन, उनका पीएसँग भेट भयो । पीएले पनि राकेशलाई फोन लगाए । तर उठेन ।

रामविलास र सीताराम बेलुकासम्म काठमाडौंको सडकमै भौंतारिए । राति फेरि त्यही कवाडीको बास ।

अर्को दिन फेरि अर्को चारजनाको टोली मन्त्रालय पुग्यो । टोलीले उद्योग मन्त्रीलाई भेट्यो । किसानलाई चाहिएको थियो, आफ्नो उत्पादनको मूल्य, तर उनीहरुले आश्वासन मात्र पाए ।

अब के गर्ने त ? अलि चल्तापूर्जा किसानले भने – अब माइतीघरमा धर्ना दिनुपर्छ ।

माइतीघरमा धर्ना दिन थालेपछि सीताराम र रामविलास साँझ बास परिवर्तन गरेर सतुङ्गलतर्फ लागे । र, आइपुगे भाइ रामबाबुको चिसो डेरामा ।

बिहीबार ग्रहण लागेकाले उनीहरु बाहिर निस्केनन् ।

शुक्रबार बिहानैदेखि सबैजना माइतीघर मण्डला कब्जा गर्न आइपुगे । तर, उनीहरुको उद्धार गर्न न साहु आयो, न सरकार ।

सतुंगलस्थित डेरामा भेटिएका दुबै किसानहरु एकै स्वरमा भन्छन्, ‘हजुर Û जाडो छ । घरबाट लिएको पैसा चियानास्ता खाएर सकियो । उखुको पैसा नलिएर त कहाँबाट जाने ?’

उनीहरु बोल्दाबोल्दै कहिले भावुक त कहिले आक्रोशित बन्छन्, ‘किसानहरु यति हार खाएका छन्, गाउँमा भेट्टाए भने मिलवालामाथि आक्रमण हुन बेर छैन ।’

रामविलासका आँखा क्रोधले राता देखिन्छन् ।

सीतारामसहितको टोली त एक महिना पहिले पनि काठमाडौं आएको थियो । यी वृद्धले त्यतिबेला नै काठमाडौंलाई पहिलोपटक टेकेका हुन् । त्यतिबेला पनि उनी उसरी नै धर्ना दिन थापाथली पुगेका थिए । तर साहुले पैसा नदिएपछि रित्तै हात फर्किएका थिए । अहिले उनी संघर्षको दोस्रो चरणका लागि काठमाडौं आइपुगेका छन् ।

सेतै फुलेका रामविलासले अस्तव्यस्त दाह्री मुसार्दै भने, ‘हामी त चिनेका भएर आयौँ । तर, यसरी मर्कामा परेका किसान गाउँभरि कति छन् कति ।’

घडीले साँझको आठ बजाइसकेको थियो । जाडोले निकै ठिहिर्‍याएपछि उनीहरु आगो ताप्न थाले ।

हामी हिँड्नै लागेका थियौं । रामविलासले किसानको हृदय छताछुल्ल पारे, ‘खाना खाएर जानुस् न हजुर ! जा.. भाइ चामल लिएर आइहाल !’

सोमबार नै बसेको मन्त्रिपरिषद बैठकबाट उखुको मूल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको घोषणा गरेको छ । तर, रामविलास र सीताराम जस्ता किसानलाई उखुको मूल्यमात्रै तोकेर पुग्ने अवस्था छैन, उनीहरुलाई वर्षौंदेखिको बक्यौता रहेको आफ्नो उत्पादनको मूल्य चाहिएको छ, जुन मागलाई सिंहदरबारले कसरी समाधान गर्ला ? माइतीघरले यही प्रश्न तेर्स्याइरहेछ सिंहदरबारतर्फ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment