Comments Add Comment

पोखरा विमानस्थल प्रभावितलाई मन्त्रीको आश्वासन-उचित मुआब्जा दिन्छौं

१२ पुस, पोखरा । सरकारले एउटै आयोजनाका निम्ति पटकपटक अधिग्रहण गरेर उठिबास गराउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित क्षेत्रका वासिन्दाको गुनासो छ । पछिल्लो पटक थप १ सय ४ रोपनी जग्गा अधिग्रहण गने निर्णय भएपछि प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित छन् ।

शनिबार पोखरा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराईले भने स्थानीयको मागलाई सम्बोधन गर्दै मुआब्जाको उचित मूल्य दिएरमात्र जग्गा अधिग्रहण गरिने बताएका छन् । ‘स्थानीयको गुनासोप्रति म संवेदनशील छु,’ भट्टराईले भने, ‘कसैलाई अनावश्यक रुपमा हटाउँदैनौं ।’

थप जग्गा अधिग्रहण गर्दा स्थानीयलाई बिचल्ली बनाउने काम सरकारले नगर्ने भट्टराईको भनाइ थियो । सरकारले पछिल्लो पटक १०४ रोपनी जग्गा अधिग्रहण गर्दा १२ वटा घर परिवार विस्थावित हुने छन् । मन्त्री भट्टराईले थप जग्गा अधिग्रहण हुँदा स्थानीयलाई नोक्सान पार्ने काम नहुने स्पस्ट पारे । ‘१० वर्षपछि कस्तो साँगुरो एयरपोर्ट बनाइए, कस्तो सुविधा पनि टिप्पणी गर्ने काम हुन्छ,’ पर्यटनमन्त्री भट्टराईले भने, ‘आवश्यकताका आधारमा जग्गा अधिग्रहण हुने हो ।’

गाइड पाथ, एप्रोच लाइट, मेट्रोलोजिकल स्टेसन र विशेष गरि नेभिगेसन निर्माणका लागि जमिन आवश्यक परेकाले तेस्रो पटक जग्गा अधिग्रहण गर्न लागिएको भट्टराईले बताए । उड्डयन क्षेत्रको सुरक्षाका निम्ति जग्गा चाहिएको बताउँदै भट्टराईले स्थानीय एउटा कमिटी बन्ने र त्यसैको सिफारिसको आधारमा मुआब्जा तथा स्थानीयलाई क्षतिपूर्ति दिने भट्टराईको भनाइ थियो ।

त्रिभुवन विमानस्थलको अहिले पनि काम र जग्गा अधिग्रहण गर्ने क्रम चलिरहेको भट्टराईले बताए । ‘आउँदो दिनमा पनि अधिग्रहण हुनसक्छ । अहिले नै यति भए पुग्छ भनेर भन्न सकिँदैन,’ भट्टराईले भने । धेरै नोक्सानी हुने गरी अधिग्रहण नगर्ने र प्रचलित मुआब्जा दिने भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment