Comments Add Comment

तराईमा शीतलहर : बढ्दो जोखिम, कमजोर पूर्वतयारी

बेलैमा राहत पुर्‍याउन र जलवायुसम्बन्धी अध्ययनमा ध्यान दिन जरुरी

१३ पुस, राजविराज । मंसिरको पहिलो साता एकाबिहानै ५० वर्षीय रामदेव सदा घरको आँगनमा बाँस चिर्दैछन् । सप्तरीको सदरमुकाम राजविराजबाट डेढ किलोमिटर हिँडेपछि उनको गाउँ बोरिया पुगिन्छ । करीब ३५ घर रहेको गाउँमा बसोबास गर्ने यो समुदायलाई धेरैले दलित बस्ती भनेर चिन्छन् ।

रामदेव चिरेको बाँसले बार बनाउँदैछन् ताकि मुटु काँप्ने चिसोले घरभित्र छिरेर कसैको ज्यान नलियोस् ।

जाडो महिना र त्योसँगै आउने शीत लहरले उनको घरमा सबैलाई तर्साएको छ । गएको वर्षाले सदाको घरको एउटा भित्तो नै लग्यो । रामदेवकी श्रीमतीको पहेंलो र रातो रङको सारी त्यही भत्केको भित्तामा झुण्ड्याएर उनीहरु बर्खा महिनासँगै छठ पनि कटाए । तर, अब यो सारीले जाडो छेक्न सक्दैन । जाडो भन्दा पहिले नै भित्तो बनाइसक्नुपर्ने उनलाई चटारो छ ।

रामदेव आत्तिएका छन् । किनभने, शीतलहरसँग उनको तीतो सम्बन्ध छ ।

उनका बुवा कालीचरण सदाको मृत्यु दुई वर्षअघि शीतलहरकै बेला भएको थियो । रामदेवलाई गते वा बार याद छैन । तर, बुवा रातभर जाडोले काँपेको उनले बिर्सेका छैनन् ।

‘बुवाको मृत्यु दुई वर्षअघि पुसमा यही घरमा भएको हो । दुई दिनदेखि थरथर काँपिरहनुभएको थियो, तर मैले वहाँलाई न्यानो बनाउन सकिनँ’ रामदेव दुःखमनाऊ गर्छन्, ‘आफ्नै आँखा अगाडि बुवा कठांग्रिँदा बचाउन सकिनँ । मेरा छोराछोरीले पनि यस्तो भोग्न नपरोस् भन्ने मेरो चाहना छ ।’

रामदेवको परिवारमा ६ जना छन् । दुई श्रीमती र तीन छोरीहरु । उनीहरु सबैजना एउटै कोठामा बस्छन् । सुत्ने बिस्तरा पनि जोडेर एउटै बनाइएको छ । उनीहरुसँग भारतको पञ्जावमा दुई वर्षअघि किनेको ब्ल्याङ्केट छ । पुग्नेले त्यही ओढ्छन्, नपुग्नेले ओछ्याइएको तन्ना ओढेर रात कटाउनुपर्छ ।

सदा दैनिक मजदुरी गर्छन् । दिनको ५/६ सय कमाउन मुस्किल हुन्छ । काम महिनैभरि पाउन पनि गाह्रो छ । महिनाको १५/२० दिनको कमाइले दुईछाक टार्न पुगेको छ । तर लुगा, जुत्ता र सिरक डस्ना किन्न पुग्दैन । ६ हजार रुपैयाँ ऋण काटेर ल्याएको बाँसले आफ्नै घरको गारो बनाउनुपरेपछि उनी यो हप्ता कमाउन पनि जान पाएका छैनन् ।

सदाको अनुभवमा केही वर्षयता तराईमा जाडो विगतका वर्षभन्दा अत्यधिक बढेर गएको छ । मंसिरमा भेट हुँदा सदाले भनेका थिए, ‘यो वर्ष शीतलहर चाँडै आयो, मेरो पर्खाल चाँडो बनेन भने जाडोमा मरिने डर हुन्छ । सरकारले शीतलहरमा दाउरा र ब्लाङ्केट बाँड्छ भनेको त सुनेको हो, तर अहिलेसम्म पाएको छैन ।’

अहिले पुस लागेसँगै सप्तरीलाई शीतलहरले ढाकिसकेको छ । रामदेव सदा मोबाइल बोक्दैनन् । छिमेकीलाई फोन गर्दा रामदेवले घरको गाह्रो लगाइसकेको थाहा भयो । तर, चिसोका कारणले उनी काममा भने जान पाएका छैनन् । उनका छोरीहरुको स्कुलमा पनि बिदा दिइएको छ । जाडो कहिले जाला भनेर कुर्ने बाहेक उनको परिवारसँग अर्को विकल्प छैन ।

नेपालमा हरेक वर्ष करिब ४२ जनाको मृत्यु शीतलहरका कारणले भैरहेको तथ्याङ्क स्वास्थ्य अनुसन्धान परिषदसँग छ । मृत्युका यस्ता घटनाहरुको प्रारम्भिक अभिलेख गृह मन्त्रालयले राख्ने हुँदा कतिपय कारणहरु स्वास्थ्य मन्त्रालयसम्म पनि आइपुग्दैनन् । अझ सर्वसाधारणलाई प्राकृतिक प्रकोपका कारण हुने मृत्युलाई पनि पोष्टमार्टम गर्नुपर्छ भन्ने ज्ञान नहुँदा वा झण्झट मानिदिँदा शीतलहरका कारण हुने धेरै मृत्युका घटना जानकारीमा नै आउँदैनन् ।

गरीब नै बढी मारमा

यो रामदेव सदाको परिवारको मात्र कथा होइन । गरिब र पिछडिएको बोरिया गाउँका सबै घरको कथा उस्तै छ । एक त खेतीपाती गर्न आफ्नो जग्गा छैन, अर्कातर्फ ज्याला मजदुरीको काम सधैं पाइँदैन । त्यसैले जाडो भगाउने एक मात्र उपाय भनेको आगो ताप्नु भएको छ यहाँका समुदायलाई । तर, त्यही आगोले पनि धेरैको स्वास्थ्यमा समस्या उत्पन्न भएको छ ।

आगोले विशेष गरी महिला, भर्खरै जन्मेका शिशु र वृद्धवृद्धाहरुमा दमको समस्या बढाएको छ । आगो ताप्नका लागि दाउरा लगायतका साधनको पनि अभाव छ तराईमा ।

सप्तरीको एक गैरसरकारी संस्था सेभ द सप्तरीका सामाजिक परिचालक बद्रीनारायण मण्डल भन्छन्, ‘सप्तरी जस्ता तराईका जिल्लाहरुको मुख्य समस्या गरिबी हो, जसमा जलवायु परिवर्तन र यसको असरहरुले झन समस्या थपिदिएको छ ।’

धेरै गर्मी वा जाडो भएका बेला मानिसहरु बाहिर मजदुरी गर्न जान सक्दैनन् । हुस्सु र कुहिरोले गर्दा घरबाट निस्किन सक्ने अवस्था नै हुदैन । कहिलेकाहिँ हप्ता दिनसम्म घाम झुल्किँदैन । त्यसैले यहाँका सबैजसो मानिसहरु घरभित्रै आगो तापेर बस्छन् । धुवाँको वरिपरि लामो समयसम्म झुम्मिरहँदा महिला तथा बालबालिकाको स्वास्थ्यमा यसले असर पुर्‍याउने गरेको मण्डल बताउँछन् ।

अत्याधिक चीसो मौसमका कारणले बालबालिका, वृद्घवृद्घा तथा गर्भवती महिलाहरु उच्च जोखिममा हुन्छन् । उनीहरु झाडापखाला, रुघाखोकी, ज्वरो र निमोनिया जस्ता रोगहरुबाट ग्रसित हुने गरेको पाइन्छ । पछिल्ला केही अनुसन्धानका तथ्याङ्कहरुका आधारमा, गरीब एवं पिछडिएका परिवार, जो ईन्धनका लागि दाउरा, पराल र गोबरमा निर्भर छन्, उनीहरु श्वास–प्रश्वासका बेलामा धुवाँ र खरानीका कारण आफ्ना स्वास्थ्यमा हानी पुर्‍याइरहेका हुन्छन् ।

राजबिराजस्थित गजेन्द्र नारायण सिंघ अस्पतालका प्रमुख डा.चुमनलाल दास भन्छन्–बालबालिकाहरु विशेषतः रुघाखोकी, निमोनिया, झाडापखाला र छाला सम्बन्धी समस्याका कारण अस्पतालमा भर्ना हुने गरेका छन् । वृद्धवृद्धा वृद्धवृद्धा भने धेरैजसो श्वासप्रश्वास एवं हाइपोथर्मिया अर्थात शरीरको ताप निकै कम हुने समस्याका कारण भर्ना हुने गरेका छन् ।

मानव स्वास्थ्यमा यस्ता प्रत्यक्ष प्रभाव बाहेक गर्मी र चिसो तरंगका घटनाले विशेष गरी मजदुर र किसानहरुको कार्यक्षमता र उत्पादकतामा समेत कमी ल्याउँछ । अधिकांश किसानका अनुसार, उनीहरु कम कृषि उत्पादनले प्रभावित भएका छन् । फलस्वरुप बालबालिकामा खाद्य असुरक्षा र कुपोषण जस्ता समस्या बढेका छन् ।

प्रदेश २ मा बढ्ता जोखिम

प्रत्येक वर्षझैं जाडो महिना शुरु भैसकेको छ । जाडो भन्नेवित्तिकै तराईमा हुस्सु र शीतलहरका बारेमा समाचार आउने गर्छन् । सरकारले कम्बल र दाउरा बाँड्नका लागि बजेट छुट्याउँछ । अरु बेला भने केही कतै सुनिँदैन ।

बाढी, लु र शीतलहर जस्ता प्राकृतिक प्रकोपसँग प्रत्येक वर्ष जुधिरहन पर्ने भूगोल । त्यहीमाथि चरम गरिबीले तराई क्षेत्रमा बसोबास गर्ने गरीब समुदायका लागि पीडामाथि पीडा थप्ने काम गरिरहेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसार सन् २००१ देखि २०१० सम्ममा २६२ चोटि शीतलहर भएको तथ्यांकमा देखिन्छ । नेपालमा यो १० वर्षको अवधिमा ३७६ जनाको मृत्यु भएको छ । ८० जना बिरामी भएका छन् भने १ हजार ७९३ जनालाई शीतलहरले प्रत्यक्ष असर पारेको छ ।

शीतलहरका कारण सन् २००४ मा एक वर्षमा सबैभन्दा बढी १०८ जनाको मृत्यु भएको थियो । यो महिना रौतहटमा जाडोका कारण चार जनाको मृत्यु भएको थियो । तर, उनीहरुको मृत्यु शीतलहरकै कारणले हो वा होइन भन्ने गृहमन्त्रालयले पुष्टि गरिसकेको छैन ।

नेपालको आधा जनसंख्या बसोबास गर्ने तराई क्षेत्र नै शीतलहरबाट सबैभन्दा बढी प्रभावित हुने गरेको छ । शीतलहरले नेपालका पश्चिम, मध्य र पूर्वी तराईका २२ जिल्लाका सबभन्दा जोखिमयुक्त समुदायलाई प्रभावित पार्ने गरेको छ ।
सातवटा प्रदेशमध्ये प्रदेश २ का सबै जिल्ला तराईमा पर्छन् । देशको सबैभन्दा धेरै गरिबीको रेखामुनि रहेका परिवार पनि यही प्रदेशमा छन् । नेपालको राष्ट्रिय बहुआयामिक गरिबी सुचकाङ्क प्रतिवेदन २०१८ का अनुसार प्रदेशका २ मा २५ लाख जनसंख्या गरिब छन्, जुन प्रदेश २ को कुल जनसंख्याको ३५ प्रतिशत हो ।

सन् २०१९ को पहिलो शीतलहर डिसेम्बर १९ मा शुरु भयो । यसले गर्दा तराईका जिल्लाहरुमा बिशेषगरी पूर्वी र पश्चिमी तराईका जिल्लाहरुमा घाम नलाग्ने र बाक्लो कुहिरो लाग्यो । पश्चिमी तराईको कपिलवस्तु र नवलपरासी अनि पूर्वी तराईमा बाक्लो हुस्सु लाग्यो । चौथो दिनसम्म आइपुग्दा हल्का कम हुँदै गएको पाइयो ।

शीतलहरका कारण मानिसहरुको आवत–जावत तथा दैनिकीमा पनि असर पुगेको तथा विभिन्न स्वास्थ्य समस्याहरु बढेको पाइन्छ । धेरैजसो विद्यालयहरु पनि यो समयमा बन्द रहेका छन् ।

जलवायु परिवर्तनले थपेको संकट

विभिन्न अध्ययनका अनुसार नेपालको तराईका जिल्लामा डिसेम्बरको अन्तिमदेखि जनवरीको अन्तिमसम्म करिब एक महिनामा शीतलहरको प्रभाव बढ्ने गरेको पाइएको छ । यो समयमा यी तराईका जिल्लाहरुको तापक्रम हिमाली भेगमा जस्तै शुन्यबाट पनि तल झर्छ ।

हुस्सु र कुहिरो चौबिसै घन्टा निरन्तर लागिरहनु र घाम नलाग्नु शीतलहरका मुख्य कारक हुन् । जल तथा मौसम विज्ञान विभागका अनुसार बाक्लो बादलले गर्दा दिनभर हुस्सु लाग्छ । जब पश्चिमी वायुको तेज बढ्छ, त्यसले अधिकतम र न्युनतम तामक्रम निकै तल पुर्‍याउँछ । विभागको तथ्यांक अनुसार पछिल्लो दशकको तुलनामा अचेल हुस्सु लाग्ने दिनको लम्बाइ बढ्दै गएको छ । शीतलहर करिब एक महिनासम्म लगातार रहिरहने अवस्था छ ।

विभागको मौसम विश्लेषण शाखा प्रमुख डा. इन्दिरा कँडेलका अनुसार शीतलहरको प्रवित्ति विश्लेषण गर्ने चार प्रमुख कारणहरु छन् । जसमा दृढता, आवृत्ति, तीव्रता र हदसम्म पर्छन् । डा. कँडेलका अनुसार सन् १९९० देखि यता शीतलहर ह्वात्तै बढेको छ ।

सन् २००४, २०१० र २०१७ को अभिलेखले भने शीतलहरको प्रभाव आकाशिएको देखिन्छ । कँडेलका अनुसार शीतलहरको मापन गर्ने तरिका विभिन्न देशमा फरक–फरक हुन्छन् । नेपालमा भने एकदिनमा तापक्रम एकैपटक ४ देखि ८ डिग्री घट्नु र त्यस्तो अवस्था दुई दिनसम्म जारी रहनेलाई शीतलहरका रुपमा लिइन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसले दिनहुँ तापक्रमको मूल्याङ्कन गर्छ र शीतलहरका सम्भावनाहरुबारे अध्ययन गर्छ । मौसमविद् गंगा नगरकोटीका अनुसार नेपालको शीतलहर धेरैजसो पश्चिमी वायु तथा अरबी समुन्द्रमा आउने आँधीमा भर पर्छ ।

जब पश्चिमी वायु वा यसका कणहरु भूमध्य समुन्द्रबाट नेपाल प्रवेश गर्छन् यसले साथमा चिस्यान पनि भिर्‍याउँछ । पश्चिमी वायु भूमध्य समुन्द्रमा बन्छन् र इरान, अफगास्तानिस्तान अनि पाकिस्तान हुँदै नेपाल प्रवेश गर्छन् । भारतका धेरै भागमा शीतलहर आएका बेलामा नेपालमा शीतलहरको प्रभाव बढ्ने गर्छ ।

नेपालजस्ता पहाडी र कम विकसित देशमा बस्ने मानिसहरुको स्वास्थ्यमा जलवायु परिवर्तनका प्रत्यक्ष वा परोक्ष परिवर्तनहरु भैरहेको कुरा विज्ञहरुले दाबी गरेका छन् ।

राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदका प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल भन्छन्, ‘नेपालजस्तो प्राकृतिक प्रकोपको जोखिममा रहेका देशहरुमा जलवायु परिवर्तनका अप्रत्याशित उत्तार–चढावहरु देखिन्छ । अत्याधिक पानी पर्नु, एकदमै चिसो र एकदमै तातो हावा चल्नु, बाढी र पहिरो आउनु यसका लक्षण हुन् । यहाँसम्म कि हालसालै बारा जिल्लामा आएको तुफान पनि यसकै उदाहरण हुन् । जसका कारण मानिसहरु अंगभंग हुने, मानसिकरुपमा बिरामी हुने साथै मृत्युसम्मका घटना बढिरहेका छन् ।’

वरिष्ठ अनुसन्धानकर्ता धिमालका अनुसार गर्मीमा लाग्ने रोगहरु अल्पाइन क्षेत्रमा समेत भेटिनु भनेको जलवायु परिवर्तनको मानवमा परेको असरको ठूलो प्रमाण हो । त्यस्तै यहाँ, पानीका मुहानहरु प्रदुषित हुँदा झाडापखाला लगायत अन्य रोगहरु पनि बढिरहेका छन् ।

‘खानामा विषाक्तताको समस्या, मानसिक बिरामी र अरु मनोवैज्ञानिक समस्याहरु बढ्दै जानुमा पनि जलवायु परिवर्तन एउटा कारक हुनुपर्छ । तर, हामीले राम्रोसँग अभिलेख राख्ने र अध्ययनको काम हामीले पर्याप्त गर्न सकिरहेका छैनौं, धिमाल भन्छन् ।

कमजोर पूर्वतयारी

शीतलहरका लागि भनेर सरकारले आधा तराई जिल्लाका लागि १० लाख रुपैयाँ बजेट छुट्याएको छ । तर, ती स्थानमा गएको वर्षको बजेट नै खर्च भएको छैन । यसपालि शीतलहर आउनु एक/डेढ महिनाअगावै सप्तरी, सिराहा, बारा र पर्सा जिल्ला पुग्दा जाडो लक्षित कार्यक्रमहरु सञ्चालन गरिएको पाइएन ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रका उपसचिव शम्भुप्रसाद रेग्मीका अनुसार शीतलहरको प्रभावलाई सम्बोधन गर्न तराई क्षेत्रका कम्तिमा ११ जिल्लालाई १० लाख रुपैंया आर्थिक सहयोग प्रदान गरिएको छ । बाँकी ११ जिल्लाले ५ लाख रुपैंया आर्थिक सहयोग पाउँछन् ।

रेग्मीका अनुसार कम्बल, दाउरा, न्याना कपडाहरु जस्ता राहत सामग्रीहरु अति असुरक्षित भएका तथा अति आवश्यक परेका परिवारमा बाँडिनेछ । जाडोयाम अगावै सम्बन्धित निकायहरुसँग छलफल गरी कार्यविधि तयार गर्ने र उपलब्ध श्रोत साधनहरु परिचालन गर्ने गरिएको छ । साथै स्थानीय सरकारको परिचालन एवं कार्यान्वयनमा पनि सकृय रहने गरेको रेग्मी बताउँछन् ।

सरकारी निकायहरुले आपतकालीन समयलाई मध्यनजरमा राखेर आफूहरु पूर्णरुपमा तयारी अवस्था रहेको दाबी गरे पनि स्थानीयवासी भने निराश छन् । विपदले जनधनको क्षति भइसकेपछि मात्र सरकारी निकाय सकृय हुने गरेको उनीहरुको गुनासो छ ।

स्थानीय सरकारहरुले प्राकृतिक प्रकोप व्यवस्थापन चक्रका चार मुख्य खम्बाहरु, जस्तै– सामना गर्ने क्षमता, तत्परता, रिकभरी र रेस्पोन्सलाई बजेट निर्माणका प्रकृयागत नीति नियम तथा कार्य निर्देशिकामा राखेका त छन्, तर बजेट छुट्याउँदा त्यसलाई पालना गरेको पाइँदैन ।

हरेक वर्ष विभिन्न मौसममा तराई क्षेत्रमा बढी प्रभावित हुने गरेकाले केही स्थानीय सरकारहरुले जागरुकता कार्यक्रम, तत्परता र क्षतिको रोकथाममा ध्यान दिन थालेका छन् । उदाहरणका लागि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले गत वर्षदेखि स्वास्थ्य स्वयंसेवकहरु घरघरमा पठाएर वृद्धवृद्धाहरुको स्वास्थ्य जाँच गराइरहेको पाइयो । तर, यस्ता सकारात्मक उदाहरणहरु नगन्यरुपमा छन् ।

जलवायु परिवर्तनका प्रभावसम्बन्धी आवश्यक एवं पर्याप्त अनुसन्धान र ध्यानाकर्षण नपुगेकाले समस्या समाधानको पहल कम भएको जल तथा मौसम विज्ञान विभागले पनि स्वीकारेको छ । डा. कँडेलका अनुसार अन्य राष्ट्रहरु जस्तो अनुसन्धान केन्द्रहरु नेपालमा नहुनु एक कारकतत्व हो ।

नेपालमा अनुसन्धान इकाई पनि नभएको र पर्याप्त जनशक्ति पनि नभएकाले सरकारबाट थप लगानी तथा ध्यानाकर्षणको जरुरी रहेको कँडेलको भनाइ छ ।

डाक्टर मेघनाथ धिमालका अनुसार दक्ष जनशक्ति नहुँदा जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको असरको पर्याप्त अध्ययन भएका छैनन् । ‘अरु मुलुकमा स्वास्थ्यको जम्मा बजेटको २ प्रतिशत अनुसन्धानका लागि छुट्याउने गरिन्छ, हाम्रो देशमा .५ प्रतिशत पनि अनुसन्धानमा खर्च गरिँदैन । हामीसँग बजेट पनि थोरै छ, अनुसन्धानका लागि आवश्यक दक्ष साधन स्रोत पनि छैनन्’ उनी भन्छन् ।

नेपालको भूमि भारत र तिब्बत जस्ता दुई भीमकाय प्लेटको बीचमा पर्छ । हाम्रो देशको प्राकृतिक प्रकोपको अवस्था र सिलसिला हेर्दा भारतिय प्लेटसँग धेरै कुराहरु मेल खान्छ । यसैका आधारमा नेपाल भारत सीमा क्षेत्रका प्रदेशहरुले हरेक वर्ष भोग्ने समान खालका प्राकृतिक प्रकोपहरुको दुई देशले मिलेर अध्ययन गर्ने र समाधानका लागि सहकार्य पनि गर्न सकिन्छ । तर, दुई देशबीचमा जलवायु परिवर्तनका असरको संयुक्त अध्ययनका लागि ठोस पहल भएको देखिँदैन ।

प्राकृतिक विपदहरुको न्यूनीकरणका कार्यक्रम भन्दा राहत बाँड्ने कार्यक्रमहरु प्राथमिकतामा परेका छन् । यस्ता राहत बजेटका कार्यक्रम पनि पीडितसम्म निकै ढिलो पुग्ने गर्छन् । सिरक, कम्बल र दाउरा बाँड्ने जस्तो तत्कालीन राहतका कार्यक्रमहरुमा चुस्ततासँगै दीगो समाधानका लागि अध्ययन अनुसन्धानको पनि खाँचो छ । सर्वसाधारणको मृत्यु, धनजनको क्षति तथा अरु असर नियन्त्रणका कार्यक्रमहरु एकीकृत बनाउनुपर्ने आवश्यकता देखिन्छ ।

(सिन्ह्वामा कार्यरत पत्रकार काफ्लेले  इन्टरन्युज अर्थ जर्नालिजम नेटवर्कको सहयोगमा तयार पारेको रिपोर्ट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment