Comments Add Comment

वेष्टह्याम फर्किए डेभिड मोएस

Photo Credit : Getty Images

१४ पुस, काठमाडौं । डेभिड मोएस वेष्टह्यामको प्रशिक्षक बनेर फेरि क्लब फर्किएका छन् । लण्डन क्लब वेष्टह्यामले मुख्य प्रशिक्षकमा डेभिड मोएसलाई नियुक्त गरेको हो ।

मोएसले अब बर्खास्तीमा परेका म्यानुएल पेलेग्रेनीको स्थान लिनेछन् । वेष्टह्यामले पेलेग्रेनीलाई बर्खास्त गरेको भोलिपल्टै मोएसलाई क्लब भित्र्याएको हो । लेस्टर सिटीसंग २-१ ले पराजित भएपछि वेष्टह्यामले पेलेग्रेनीलाई हटाएको थियो ।

वेष्ट ह्यामसँग मोएसले १८ महिनाको सम्झौता गरेको छ । प्रशिक्षक नियुक्त भएपछि ५५ वर्षीय मोएसले आफू क्लबमा फर्किदा खुसी लागेको बताए । साथै उनले अघिल्लो कार्यकालमा भन्दा यो पटक खेलाडी राम्रो रहेकोले क्लबको प्रदर्शन सुधार हुने बताए ।

वेष्टह्याममा मोएसको यो दोस्रो कार्यकाल हुनेछ । मोएसले सन् २०१७ मा ६ महिना क्लब हेरेका थिए । तर, क्लबको खराब प्रदर्शनपछि उनी बर्खास्तमा परेका थिए ।

मोएसले प्रिमियर लिगमा यसअघि एभरटनमा ११ वर्ष बिताएका थिए । यस्तै सर एलेक्स फर्गुसनले छाडेपछि म्यानचेष्टर युनाइटेडको प्रशिक्षण समेत सम्हालेका थिए ।

५५ वर्षीय स्कटिस मोएस अहिलेसम्म ५२६ प्रिमियर लिग खेलमा प्रशिक्षक रहिसकेका छन् । मोएसभन्दा बढी प्रिमियर लिगमा प्रशिक्षणको अनुभव भएका आर्सेन वेंगर, एलेक्स फर्गसन र ह्यारी रेडनाप मात्र छन् ।

वेष्टह्यामको प्रशिक्षकको रुपमा मोएसको पहिलो खेल नयाँ वर्ष २०२० को पहिलो दिन एएफसी बर्नमाउथ विरुद्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment