Comments Add Comment

‘ऋण लिएर आन्दोलन गर्न काठमाडौं आएका हौं’

१५ पुस, काठमाडौं । वर्षभरी पसिना बगाएर उब्जाएको उखुको पैसा नपाएको भन्दै सर्लाहीबाट आएका डेढ दर्जन उखु कृषकहरु चार दिनदेखी माइतीघर मण्डला परिसरमा आन्दोलरत छन् । तीन वर्ष देखिको उखुको पैसा नपाएको आन्दोलित कृषकले बताएका छन् ।

उद्योगीको कार्यालयमा ताला लगाएर भए पनि सरकारले बक्यौता उठाइदिनुपर्ने माग कृषकको छ । परिवार चलाउन उखु खेतिमा लागेका किसान सोही खेतीकै कारण ऋणको भुमरीमा परेको बताउँछन् । साहूसँग ऋण गरेर काठमाडौं आएका कृषकले आफ्नो गुनासो अनलाइनखबरसँग यसरी पोखे ।

आफ्नो पसिनाको मूल्य पाइनँ

महेन्द्र महतो

मेरो घर सर्लाहीको सिसौडियामा पर्छ । अहिले ६५ वर्षको भएँ । मैले वर्ष भरी दुःख गरेर उब्जनी गरेको उखुको तीन लाख रुपैयाँ अन्नपूर्ण मिल्सबाट लिन बाँकी छ ।

मेरो खेत थोरै छ । मैले धेरै जमिन अधियाँमा लिएर उखु खेती गरेको थिएँ । खेत भाडामा लिएबापत मैले खेत मालिकलाई उतिबेलै ऋण खोजेर तिरीसकेँ । तर उद्योगीले मलाई उखुको पैसा दिएनन् ।

ऋणको ब्याज बढ्दो छ तर आफ्नै पसिनाको मूल्य मैले पाइनँ । धेरै पटक आग्रह पनि गरेँ । तर उनीहरुले पैसा दिने बहाना मात्रै बनाए । दुई वर्ष देखिको उखुको पैसा मैले पाएको छैन । हामीले जिल्ला प्रशासनमा पटक–पटक छलफल पनि गर्यौं तर पैसा आएन । सरकारले पैसा नदिएसम्म हामी आन्दोलन त्याग्ने छैनौँ ।

परिवार पाल्न गाह्रो भयो

रामविलास महतो

म ६० वर्षको भएँ । मेरो घर सर्लाहीको सिसौडिया ११ मा पर्छ । मैले अन्नपूर्ण सुगर मिल र महालक्ष्मी सुगर मिलमा उखु बेचेको थिएँ । अन्नपूर्ण सुगर मिलसँग मैले तीन लाख रुपैयाँ लिनु छ भने महालक्ष्मीसँग १ लाख रुपैँया लिन बाँकी छ । अन्नपूर्णले मलाई पैसा नदिएको तीन वर्ष भयो । महालक्ष्मीसँग १ वर्ष देखिको पैसा लिन बाँकी छ ।

हामी पैसा माग्न पटक–पटक दुवै मिलको अफिसमा धायौँ । हामीले आजको दिनमा मात्रै होइन १७ महिनादेखि पैसा माग्दै आएका छौं । उद्योगको म्यानेजरले हामीलाई साहु नभएको भन्दै पैसा दिन नसक्ने बताइरहेको छ ।

परिवारमा ११ जना सदस्य छन् । वर्षभरी बगाएको पसिनाको मूल्य नआउँदा परिवार पाल्न कठिन भएको छ । दैनिक ज्यालादारी गरेर जीवन धानेका छौँ । केटाकेटीको स्कुलको पैसा तिर्न सकेको छैन । अब त अति भयो भनेर साहूसँग ऋण गरेर काठमाडौं आयौं ।

ऋण गरेको पैसा पनि सकियो । गाउँबाट आएर ज्यालादारी गर्ने केटाहरुको कबाडमा बसेको छौं । काठमाडौं चिसो छ, खान पनि पाएको छैन लुगा पनि छैन । गाडीवालाले सित्तैमा घर लैजाँदैन होला । अब सरकारले जसरी पनि उद्योगीसँग पैसा उठाएर हाम्रो व्यवस्थापन गर्नु पर्छ । होइन भने हामी आन्दोलन झनै चर्काउँछौं ।

राज्यले जिम्मा लिनुपर्छ

राजेश यादव

मेरो घर सर्लाहीको रामनगर गाउँलिका ४मा पर्छ । काठमाडौं आएको पाँच दिन हामीले अन्नपूर्ण सुगर मिलको कार्यालयमा तालाबन्दी गर्‍यौं । त्यहाँबाट समस्या समाधान नभएपछि हामी बाध्य भएर माइतीघरमा आन्दोलन गर्न बाध्य भयौं ।

यहाँ नै आन्दोलन गरेको आज ४ दिन भयो । मेरो दुई मिलबाट गरेर १२ लाख रुपैयाँ लिनु छ । मैले आफ्नो ६ विगाहा जमिनमा उखु खेति गरेको थिएँ । मैले दुई वर्ष देखिको उखुको पैसा पाएको छैन ।

पटक–पटक आग्रह गर्दा पनि मिलले पैसा दिँदैन । पटक–पटक जिल्ला प्रशासनमा छलफल र सहमति पनि भएको छ तर पाएका छैनौं । सरकारले चाहेको भए हामीले पैसा पाउँथ्यौं । मलाई लाग्छ, सरकार र व्यवसायी मिलेका छन् । जनता सधै दु:खी छन् ।

राज्यले उद्योग चलाउन लाइसेन्स दिएपछि जनताको पैसा उठाउने जिम्मा लिनुपर्छ । देशभर पैसा नपाएर २५ हजार किसान पीडित छन् । राज्यले कहिले सुन्छ थाहा छैन । हामी पैसा नलिइ घर फर्कन सक्ने अवस्थामा छैनौं ।

ऋण गरेर परिवार चलाएको छु

बिन्देश्वर राय

म ४० वर्षका भएँ । साढे दुई बिघाहामा उखु खेती गरेको थिएँ । तीन वर्षको ६ लाख रुपैयाँ चिनी उद्योगीसँग लिन बाँकी छ ।

हामीले रकम लिन बाँकी रहेको कुरामा कुनै झुट छैन । सबै प्रमाण छन् । उखु खेति गरेर राम्रै पैसा पाइन्छ भनेर ऋण गरेर खेती गरियो तर उब्जनीको पैसा नपाएर खेत धरौटीमा राखेर ऋण तिर्नु पर्यो ।

अहिले पनि ऋणको ब्याज तिरिरहेको छु । ऋण लिएरै घर चलाएका छौँ । जीवन धान्नै कठिन भएपछि १२ हजार रुपैयाँ ऋण लिएर आन्दोलन गर्न काठमाडौं आएको हुँ । पैसा नदिए घर जान सकिन्न । कसरी हुन्छ सरकारले पैसा उठाइदियोस् ।

उद्योगीले नेतालाई चुनाव खर्च दिएका छन्

कृष्णकान्त झा

म २४ वर्षको भएँ । मेरो परिवारले २ विगाहामा उखु खेती गरेको थियो । दुई वटा मिलसँग गरेर हामीले १० लाख रुपैयाँ पाउन बाँकी छ ।

मेरो परिवारले गरेको खेतीको पैसा दुई वर्षअघिको पाएको छैन । उखु खेती गरेकै कारण अहिले मासिक ऋणको ब्याज तिरीरहनु परेको छ । परिवार चलाउन कठिन भइसक्यो । आफ्नै पसिनाको पैसा नपाउने भएपछि हामी आन्दोलनका लागि बाध्य भयौं ।

पैसा नलिई हामी सर्लाही फर्कन सक्ने अवस्था छैन र फर्कदैनौं पनि । रेल र पानीजहाज चलाउने गफ छाँट्ने सरकारले हामी किसानको आवाज किन नसुनेको होला ? सरकार हाम्रै पसिनाले उब्जाएको दाल–चामल खान्छन् तर हाम्रो हितका लागि बोल्दैन । उल्टै उद्योगीलाई संरक्षण गर्छ । उद्योगीले यिनीहरुलाई चुनाव खर्च दिएको छ त्यसैले यिनीहरु बोल्नसमेत सक्दैनन् ।

यो पनि पढ्नुहोस ‘किसानमारा’ चिनी उद्योगलाई सहुलियतमाथि सहुलियत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment