Comments Add Comment

अब अनलाइनबाटै वैदेशिक रोजगार !

कर्मचारी र म्यानपावरको भेट नहुने

१५ पुस, काठमाडौं । वैदेशिक रोजगार विभागले कामदार विदेश पठाउने सम्बन्धी सबै प्रक्रियालाई पूर्णरुपमा अनलाइन प्रणालीमा लगेको छ । विभागले मागपत्र प्रमाणीकरणदेखि श्रम स्वीकृति जारी गर्नेसम्मका प्रक्रिया अनलाइनबाट गर्न सकिने प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

बुधबारबाट लागू हुने गरी सिस्टम तयार भएको वैदेशिक रोजगार विभागले जनाएको छ । अब कामदारको लागि श्रम स्वीकृति लिँदा म्यानपावर कम्पनीका प्रनिनिधि र विभागका कर्मचारीबीच भेट नै हुनेछैन ।

विभागमा महानिर्देशक भीष्मकुमार भुसालले वैदेशिक रोजगारीमा कामदार लैजाने सबै प्रक्रियालाई पारदर्शी गर्दै लैजाने नीति अनुरुप यस्तो प्रणाली कार्यान्वयनमा ल्याइएको बताए । यसले विभागभित्र मात्रै नभएर दूतावासदेखि म्यानपावर कम्पनीसम्म पनि सुशासन कायम गर्न मद्धत पुग्ने दाबी भुसालको छ ।

‘म्यानपावर कम्पनीका प्रतिनिधि पूर्व श्रम स्वीकृत पाउन फाइल बोकर विभागको कार्यालयमा आउनुपर्दैन,’ भुसालले भने, ‘अनलाइनबाटै अधिकतम काम गर्न सकिने गरी प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यसले प्रक्रिया छिटो र सरल मात्रै हुँदैन पारदर्शी पनि हुन्छ ।’

यो प्रणालीमा वैदेशिक रोजगारसँग सम्बद्ध सबैजसो निकाय तथा संस्थाहरुलाई जोडिएको छ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएफएस)मा जोडिएका निकाय तथा संस्थाले आफ्नो तोकिएका प्रक्रियाहरु अनलाइनमार्फत नै पूरा गर्न सक्छन् ।

यसले वैदेशिक रोजगारको एकीकृत तथ्यांक प्रणाली पनि बन्ने भएको छ । प्रमुख श्रम गन्तव्य मुलुकमा रहेका नेपाली दूतावासहरु पनि यसमा समेटिएका छन् ।

यो पूर्ण प्रणाली कार्यान्वयनमा आएपछि दूतावासले मागपत्र प्रमाणीकरण गरेकै दिनमा म्यानपावर कम्पनीले अनलाइनबाट पूर्वस्वीकृतिका लागि प्रक्रिया थाल्न सक्छन् । यसअघिजस्तो म्यानपावर कम्पनीका प्रतिनिधि फाइल बोकेर विभागको ढोका–ढोकामा जानु नपर्ने भुसालले बताए ।

दूतावासबाट प्रमाणित मागपत्र सिस्टममा राखिने भएकाले विभागले चाहेका बेला तत्कालै हेर्न सक्छ । दूतावासमा प्रमाणित भएको मागपत्र नै अन्तिम हुने भएकाले त्यसैअनुरुप पूर्व श्रमस्वीकृति जारी हुन्छ । त्यसमा रोजगारदाताले कुनै पनि फेरबदल गर्न सक्ने छैनन् । अहिले प्रमाणित मागपत्रभन्दा फरक कागज बनाएर पूर्व श्रम स्वीकृति लिने चलन ब्याप्त छ ।

अनलाइनबाट पूर्व श्रम स्वीकृति लिएकाले अनलाइनबाटै अन्तरवार्ताको अनुमति लिन सक्छन् । प्रक्रियामा कुनै कागजात अपुग भए वा नमिले विभागले अनलाइनमै सूचना माग्नेछ ।

विभागीय कर्मचारी र म्यानपावर कम्पनीको भेट नहुने भएकाले यसअघिजस्तो मिलेमतोमा अनाधिकृत श्रम स्वीकृति जारी गर्ने जोखिम कम भएको छ । कामदार छनोटपछि अनलाइनबाटै विभागले श्रम स्वीकृति जारी गर्छ । विभागले केही हप्ता अघिबाटै राहदानीमा श्रमको स्टिकर टाँस्ने छैन ।

विभागले श्रम स्वीकृतिको ई–स्किटर पनि अनलाइनमै जारी गर्छ । जसलाई म्यानपावरले प्रिन्ट गरेर लिन सक्छन् भने कामदारको इमेलमा पनि ई-स्टिकर पठाइनेछ ।

यो पद्धतिपछि विमानस्थलमा छुट्टै श्रम डेस्क पनि राख्नु नपर्ने अवस्था सिर्जना हुनेछ । अध्यागमन डेस्कमा जोडिने प्रणालीका राहदानी नम्बर राख्नासाथ श्रम स्वीकृति लिए नलिएको सबै विवरण देखिनेछ । त्यसैबाट सीधै अध्यागमन विभागका अधिकारीले प्रणालीबाट श्रम स्वीकृतिको विवरण हेर्न सक्नेछन् र त्यसैअनुरुप निरीक्षण गरेर विदेश उड्ने अनुमति दिन सक्छन् ।

यो प्रणालीमा कामदारदेखि म्यानपावर कम्पनी स्वास्थ्य संस्था, अभिमुखीकरण तालिम केन्द्र, बिमा कम्पनी, बैंकसम्म जोडिएका छन् । वैदेशिक रोजगार विभागसहित वैदेशिक रोजगार कार्यालयहरु, अध्यागमन विभाग, राहदानी विभाग, नेपाली दूतावास, कन्सुलर विभाग र वैदेशिक रोजगार बोर्डले पनि यो प्रणालीमा तोकिएका प्रक्रिया तथा सूचनाको पहुँच पाउँछन् ।

‘हामीले ८५३ वटै म्यानपावर कम्पनीका अनलाइन सिस्टम हेर्ने कर्मचारीलाई पनि यसको तालिम दिँदैछौं,’ उनले भने, ‘जनवरी १ बाट पूर्ण अनलाइन पद्धतिबाट कार्यसम्पादन सुरु हुन्छ ।’

यसअघि नै यो प्रणालीको आंशिक प्रयोग सुरु भइसकेको थियो । अब भने मागपत्र प्रमाणीकराणकै प्रक्रियादेखि अनलाइन निगरानी सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment