Comments Add Comment

पटनाबाट आएकी आरतीलाई सिमभञ्ज्याङमा स्वागत

६२ गन्तव्य देखाउँदै पर्यटकको स्वागत

१६ पुस, हेटौंडा । भारतको पटनाबाट आरती सिंह र उनका साथीहरु मंगलबार मकवानपुरको सिमभञ्ज्याङ आएर होटलमा बास बसे । बुधबार बिहानै थाहा नगरपालिका उपमेयर खड्गबहादुर गोपाली, वडाध्यक्ष विनोद लामा लगायतको टोली होटलमै पुग्दा १० सदस्यीय भारतीय पर्यटकहरु अचम्मित बने । भारतबाट नेपाल आएका पर्यटकलाई एक्कासी स्वागत गर्दा उनीहरु अचम्मित बनेका हुन् ।

नगरपालिकाले नयाँ वर्ष मनाउन आएका पर्यटकलाई पुष्पगुच्छा र खादासहित पर्यटकलाई स्वागत गरेको हो । पहिलो दिन थाहा नगरको सिमभन्ज्याङमा थाहा नगरका उपमेयर खड्ग गोपालीले भारतीय पर्यटकलाई स्वागत गरेका थिए ।

नयाँ वर्ष मनाउन आएका उनीहरुलाई यस क्षेत्रको गन्तव्य देखाउँदै नगरपालिकाले गरेको स्वागतबाट आफूहरु हर्षित भएको भारतीय पर्यटक सिंहले बताइन् ।

नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन मकवानपुरको उत्तरी पर्यटकीय क्षेत्र थाहा नगरले आफ्नो क्षेत्रमा ६२ वटा प्रर्यटकीय गन्तव्य देखाउँदै पर्यटकको स्वागत गरेको छ । थाहा नगरपालिकाको दामन, सिमभन्ज्याङ चित्लाङसहितका गाउँका सांस्कृतिक पहिचानसहित गन्तव्य चिनाएको हो ।

थाहा नगरपालिकाले भ्रमण वर्ष २०२० को पहिलो दिन अर्थात जनवरी फष्टमा सिमभन्ज्याङ,दामन र चित्लाङमा आउने पर्यटकहरुलाई स्वागत गर्ने कार्यक्रम राखेको हो ।

त्यसैगरी हेटौडा उपमहानगरपालिका–११ स्थित शहिद स्मारकमा बुधबार आउने पहिलो स्वदेशी एवं विदेशी पर्यटकहरुलाई पनि स्वागत गरिएको छ । स्मारकमा बिहानै भारत र सिन्धुलीबाट आएका पर्यटकलाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्वागत गरेका हुन् ।

नयाँँ वर्षको अवसरमा हेटौंडाका महिलाहरुले हेटौंडाबाट शहिद स्मारकसम्म स्कुटी र्‍याली गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment