+
+
Shares

साढे १२ अर्बको ग्लाड परियोजना : लुम्बिनीमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु

विश्व बैंकले १३ मार्च २०२६ मा बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि ८५ मिलियन अमेरिकी डलर अर्थात करिब साढे १२ अर्ब बराबर ऋण सहायता स्वीकृत गरेको थियो ।

टोपराज शर्मा टोपराज शर्मा
२०८३ असोज २ गते १७:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजना (ग्लाड) सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन असोज ४ गतेसम्म सुरु भएको छ।
  • करिब साढे १२ अर्बको परियोजनाले लुम्बिनी, तिलौराकोट, देवदह र रामग्रामलाई जोडेर एकीकृत सांस्कृतिक तथा पर्यटन हब बनाउने लक्ष्य राखेको छ।
  • विश्व बैंकले १३ मार्च २०२६ मा ८५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकृत गरेपछि परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।

२ असोज, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्रहरुलाई समेटेको बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजना (ग्लाड) सम्बन्धी लुम्बिनीमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

करिब साढे १२ अर्ब बराबरको बजेटमा बुद्धको जीवनीसँग जोडिएका कपिलवस्तु (तिलौराकोट), रूपन्देही (देवदह) र पश्चिम नवलपरासी (रामग्राम) लाई समेटेर एकीकृत सांस्कृतिक पर्यटन हबको रूपमा विकास गर्ने लक्ष्य राखेको बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाकाबारे लुम्बिनीमा पहिलोपटक अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो ।

बुद्ध जन्मस्थल लुम्बिनीलाई कपिलवस्तुको तिलौराकोट, मावली क्षेत्र देवदह र बुद्धको अस्तुधातु रहेको एकमात्र ठाउं रामग्रामसँग जोडेर एकीकृत सांस्कृतिक तथा पर्यटन हबका रूपमा विकास गर्ने बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

बृहत्तर लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण, आगन्तुक व्यवस्थापन, पर्यटन पूर्वाधार तथा सेवा सुदृढीकरण र स्थानीय आर्थिक विकासमा केन्द्रित सम्मेलन असोज ४ गतेसम्म चल्नेछ ।

सम्मेलनमा उच्च पदस्थ सरकारी अधिकारी, बौद्ध धर्मगुरु तथा समुदाय, सम्पदाविद्, पर्यटनविद्, विकास साझेदार र स्थानीय प्रतिनिधिसहित १५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व सहभागी रहेका लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईले जानकारी दिए ।

सम्मेलनमा चार प्रमुख विषयका रुपमा सम्पदा संरक्षण, आगन्तुक व्यवस्थापन, पर्यटन पूर्वाधार तथा सेवा र समावेशी स्थानीय आर्थिक विकासलाई लिइएको र यसैमा आधारित रहेर छलफल हुने युनेस्कोकी संस्कृति एकाइ प्रमुख नाभा बस्न्यात थापाले जानकारी दिइन् ।

उनका अनुसार तीन दिनको छलफलपछि साझा घोषणापत्र जारी गरिनेछ । घोषणापत्रले दिगो पर्यटन, सम्पदामैत्री आगन्तुक व्यवस्थापन, स्थानीय लाभ–साझेदारी तथा भावी नीति र विकासका लागि कार्यान्वयनयोग्य मार्गनिर्देशन दिने अपेक्षा गरिएको उनको भनाइ छ ।

निमित्त सदस्य सचिव राईले अन्तर्राष्ट्रिय अनुभव र विज्ञका सुझावलाई बृहत्तर लुम्बिनी क्षेत्रको दीर्घकालीन संरक्षण तथा दिगो व्यवस्थापनका व्यवहारिक योजनामा रूपान्तरण गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताए ।

विश्व बैंकले १३ मार्च २०२६ मा बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि ८५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकृत गरेको थियो । परियोजनाको बजेटमध्ये १५ मिलियन डलर गन्तव्य योजना, स्थानीय आर्थिक विकास तथा निजी क्षेत्रको सहभागिताका लागि, ६६ मिलियन डलर पर्यटन पूर्वाधार सुधारका लागि र ४ मिलियन डलर परियोजना व्यवस्थापन तथा समन्वयका लागि छुट्याइएको छ । सरकारले यसलाई स्वीकार गर्दै चालु आव २०८३/८४ को बजेटमा समेत समावेश गरिसकेको छ ।

परियोजनाले लुम्बिनी, तिलौराकोट, देवदह र रामग्रामलाई जोडेर पर्यटन पूर्वाधार तथा सेवाको सुधार, गन्तव्य व्यवस्थापन र संस्थागत समन्वय सुदृढीकरण, निजी लगानी आकर्षण तथा स्थानीय समुदायका लागि रोजगारी र आर्थिक अवसर विस्तार गर्ने लक्ष्य राखेको छ । सडक, सरसफाइ तथा ढल व्यवस्थापन, विद्युतीकरण, आगन्तुक सुविधा र ध्यान केन्द्रलगायतका पूर्वाधारमा समेत लगानी गरिनेछ ।

परियोजना पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा सहरी विकास तथा भवन निर्माण विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरातत्व विभागको सहकार्यमा कार्यान्वयन हुनेछ । लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, यहाँका लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, कपिवलस्तु नगरपालिका, सैनामैना नगरपालिका, रामग्राम नगरपालिकासहित विभिन्न सम्बन्धित स्थानीय तह, युनेस्को र अन्तर्राष्ट्रिय सम्पदा साझेदारसँग पनि सहकार्य गरिने भएको छ ।

परियोजनाले लुम्बिनी आउने पर्यटकको बसाई अवधि र औसत खर्च बढाउने, पर्यटनबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ पाउने वातावरण बनाउने तथा नेपालको पर्यटन क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता सुदृढ गर्ने लक्ष्य लिएको छ । विश्व बैंकका अनुसार बृहत्तर लुम्बिनी क्षेत्रका १० मध्ये आठ बढी गरिबी भएका नगरपालिका लुम्बिनी प्रदेशमा रहेकाले पर्यटनबाट सिर्जित आर्थिक अवसरलाई स्थानीय समुदायसम्म पुर्‍याउनु परियोजनाको महत्वपूर्ण पक्ष रहेको दाबी गरिएको छ ।

युनेस्कोका लागि नेपालका प्रतिनिधि याको दु तोईले लुम्बिनीको अद्वितीय सर्वव्यापी महत्व यहाँको आध्यात्मिक परम्परा र जीवन्त समुदायसँग जोडिएको बताएका छन् । उनका अनुसार विश्व सम्पदा मूल्यको संरक्षणसँगै भावी पुस्ताका लागि लुम्बिनीको आध्यात्मिक तथा सांस्कृतिक धरोहर जोगाउन एकीकृत दृष्टिकोण आवश्यक छ ।

विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका डिभिजन निर्देशक डेभिड एन. सिसलेनले पनि लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै यसको दिगो व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय अनुभव र साझेदारी आवश्यक रहेको बताएका छन् ।

यस परियोजनाका लागि स्रोत जुटाउने प्रक्रिया अघि बढाउन पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष पहल गरेका थिए । विश्व बैंकबाट ऋण सहायता स्वीकृत भएसँगै परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । सम्मेलनले अब बृहत्तर लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण, पर्यटन विकास र स्थानीय आर्थिक लाभलाई कसरी दीर्घकालीन रूपमा जोड्ने भन्ने कार्यदिशा तय गर्ने अपेक्षा गरिएको विकास कोषका निमित्त सदस्य सचिव राईको भनाइ छ । लुम्बिनी सन् १९९७ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको सम्पदा स्थल हो । विश्व सम्पदा समितिले सन् २०२६ मा लुम्बिनीको संरक्षणसँग सम्बन्धित विभिन्न विषयमा नेपाललाई थप काम गर्न आग्रह गरेको थियो ।

लुम्बिनी कुनै देशको सिमाभन्दा माथि : मन्त्री पौडेल

सम्मेलनको लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडगराज पौडेल (गनेश)ले उद्घाटन गरेका हुन् । सम्मेलन उद्घाटन गर्दै मन्त्री पौडेलले लुम्बिनी कुनै देशको सिमाभन्दा माथि रहेको बताउँदै वृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले लुम्बिनीको संरक्षण र विकासको लागि सबैको सहकार्य खाँचो रहेको बताए । उनले लुम्बिनीको सम्पदा संरक्षणमा  विश्व बैंकको साझेदारीमा ग्लाड परियोजना सुरु गरी लुम्बिनीको विश्वव्यापी प्रवर्द्धन गर्न जुटेको बताए । मन्त्री पौडेलले लुम्बिनी भ्रमण गर्ने गन्तव्यको रूपमा मात्र नभई  बुद्धको शिक्षाको अनुभव गर्ने, शान्ति र करुणा विकास गर्ने, ध्यान र सचेतनाको अभ्यास र आध्यात्मिक र समग्र कल्याण पत्ता लगाउने ठाउँको रूपमा प्रस्तुत गर्नुपर्ने बताए ।

मन्त्री पौडेलले सम्मेलनले लुम्बिनी विकास कोष, युनेस्को, इकोमोस र विश्व बैंक, बौद्ध समुदाय, स्थानीय समुदाय, विज्ञ र हाम्रा विकास साझेदारहरू बीच साझा समझदारी निर्माण गर्न मद्दत गर्ने विश्ववास व्यक्त गरे ।

सम्मेलन उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका सांसद एवं पुर्व मन्त्री सिके गुप्ता, संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला, लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजन,  नेपालका लागि युनेस्को प्रतिनिधि जाको दु टोइट, विश्व बैंक प्रतिनिधि इलाड सेनफेल्ड लगायतले बोल्दै बृहत्तर लुम्बिनी क्षेत्रको दीगो पर्यटन प्रदर्वद्धन र सम्पदा संरक्षणमा सम्मेलन ऐतिहासिक हुने बताए  । सम्मेलनमा स्थानीय पालिकाका प्रमुख एवम राष्ट्रिय अन्तराष्ट्रिय विज्ञहरुको उपिस्थिति रहेको यूनेस्को यूनेस्को सँस्कृती क्षेत्र प्रमुख नभा बस्न्यात थापाले बताइन् ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?