Comments Add Comment

सञ्चारमन्त्रीको स्पष्टोक्ति : म चुप्पी बोकेर पत्रकारिता सिध्याउन हिँडेको छैन

१७ पुस, धनगढी । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकार निष्ठावान, मर्यादित र आलोचनात्मक चेत भएको प्रेसको विकासमा लागिरहेको बताएका छन् ।

बिहीबार नेपाल पत्रकार महासंघ कैलाली शाखाको भवन उदघाटन गर्दै सरकारका प्रवक्तासमेत रहेका बास्कोटाले भने, ‘म चुप्पी बोकेर पत्रकारिता सिध्याउन हिँडेको छैन । बरु नेताहरु कार्यकर्ता सिध्याउन हिँड्छन् त्यसरी कहिलेकाहीँ ।’

उनले प्रदेशस्तरबाट मिडियाले पाउने सेवा पाउने गरी कानुन बनाइरहेको पनि उनले जानकारी दिए । ‘लोक कल्याणकारी विज्ञापन, प्रेस पास, उजुरी, धर्ना जे-जे गर्नुपर्छ त्यही गर्नेगरी सात प्रदेशमा एकीकृत कार्यालय बनाउनुपर्छ भन्ने सोचेर ५० लाखको दरले सातै प्रदेशलाई बजेट उपलब्ध गराएका छौं,’ मन्त्री बास्कोटाले भने ।

सूचना प्रविधि विधेयकबारे धेरै प्रश्न उठेको भन्दै उनले यसले मिडियालाई नै फाइदा हुने दाबी गरे । ‘होडिङ बोर्ड नराख्दा प्रचारको लागि उसले कि पि्रन्ट, कि इलेक्ट्रोनिक डिजिटल मिडियाको प्रयोग गर्छ । यसले के घाटा भयो त ? सारा पैसा तपाईंकोमा आउँदैछ,’ उनले भने ।

पत्रकारहरु आफ्नो व्यावसायिक धर्मप्रति प्रतिवद्ध भए नेपाली प्रेस स्वतन्त्र हुने उनले बताए । तर अहिले त्यस्तो नभएको भन्दै उनले भने, ‘भन्यो भने बढ्ता हुन्छ, तर कलम चलाउनुपर्ने पत्रकार कहिलेकाहीँ तरबार नै चलाउनु हुन्छ । तरबारभन्दा शक्तिशाली त कलम नै छ । उल्टो सुल्टो दुईटै चलाएपछि त गाह्रो पर्छ ।’

सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्यो भन्ने आरोपमा उनले व्यंग्य गरे । ‘स्वतन्त्रता कुन्ठित भयो भन्नेचाहिँ आफैं कुन्ठित भएको अभिव्यक्ति मात्रै हो,’ उनले भने, ‘कुन्ठाग्रस्त मनस्थितिको कुन्ठित अभिव्यक्ति मात्रै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment