Comments Add Comment

चिसो छल्दै जिम्बु र भोटेजिराको व्यापार

Photo Credit : tasteofnepal

१७ पुस, जाजरकोट । तातो मौसममा यार्सागुम्वा सङ्कलन गरेर आम्दानीको स्रोत बनाउँदै आएका शे-फोक्सुण्डो गाउँपालिका- ९ का इमान दुन्दुप गुरुङ अहिले जाजरकोटका गाउँमा छन् । उनी दुई छोरा र श्रीमतीका साथ रुकुम पश्चिमका गाउँ घुमेर जाजरकोट पुगेका हुन् ।

जाजरकोटको नलगाड नगरपालिकामा मुख्य बजारयात्रा गर्दै तीन दिनदेखि सदरमुकामस्थित खलङ्गामा उनी बस्दै आएका छन् । गुरुङसँगै शे-फोक्सुण्डो गाउँपालिकाका धेरै मानिस अहिले देशका विभिन्न ठाउँमा पुगेको छन् ।

गुुरुङ परिवार जाजरकोट सदरमुकाममा दैनिक बिहानैदेखि ३० केजीको जिम्बु बोकेर सदरमुकामवासीको घर, दैलोमा पुग्दै व्यापार गरिरहेको छ ।

गएको १५ दिनमा एक लाखको जिम्बु बिक्री गरिसकेको बताउने गुरुङ भन्छन् , ‘उपल्लो डोल्पा घरमा हिउँ परेको छ, वर्षायाममा जङ्गलमा पाइने जिम्बु जम्मा गरेर चिसो मौसममा हजुरहरुको घरदैलोमा आएर व्यापार गरिरहेका छौँ ।’

खेतबारीमा खाद्यान्न उत्पादन नहुँने भएकाले जङ्गलमा उत्पादन हुँने जडीबुटी सङ्कलन गरेर बिक्री गरी आएको पैसाले दैनिक पारिवारिक समस्या समाधान गर्दै आएको गुरुङले बताए ।

गुरुङ जस्तै वडा नं- ७ का सार्के वैजु श्रीमतीसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जिम्बु बिक्री गरिरहेका छन् ।

दुई छोरा काठमाडौँमा पढाउँदै आएका वैजु वर्षेनी जिम्बु बिक्री गरी भएको आम्दानीले छोराको पढाइखर्च जुटाउँदै आएको बताउँछन् ।

अहिले जेठो ११ र कान्छो ९ कक्षामा काठमाडौँ पढ्दैछन् । ‘यार्सागुम्बा, जिम्बु बेचेर आएको पैसाले पढाइ तथा घरखर्च जुटाउँदै आएका छौँ’, उनले भने, ‘हाम्रो जमीनमा उत्पादन हुने उवा, तितेफापर, सिमीले हामीलाई तीन महिना खान पुग्दैन, सडक यातायात पुगेको छैन् ।’

उपल्लो डोल्पाबाट दुनैसम्म पिठ्यूँमा बोकेर ल्याएको जिम्बु, सिमीलगायतका बस्तु दुनैबाट ट्र्याक्टरमा राखेर कर्णाली प्रदेश र अन्य ठाउँमा निर्यात गरिँदै आएको उनको भनाइ थियो ।

उपल्लो डोल्पाको हिमाली भागमा चौंरी पाटनमा उम्रिने यो जिम्बु दाल तथा तरकारीमा राख्दा वास्नादार हुने भएकाले अत्यधिक प्रयोग हुँदै आएको छ ।

उपल्लो डोल्पाका सबै स्थानीय तहको जङ्गलमा पाइने यो वास्नादारा जिम्बु देशका अन्य ठाउँमा अत्यधिक माग हुने गरेको छ ।

यहाँका स्थानीयवासी जङ्गलमा पाइने जिम्बु सित्तैमा सङ्कलन गरी आर्थिक उपार्जनको राम्रो माध्यम बनाउँदै आएका छन् ।

भौगोलिकरूपमा सडक सञ्जालसँग नजोडिएका डोल्पो बुद्ध, शे-फोक्सुण्डो, छार्काताङसुङ गाउँपालिकाका पाटनमा जिम्बु पाइन्छ । यहाँका अधिकांश स्थानीयवासी जिम्बु सङ्कलन गरेर बाहिरी जिल्लामा पुगेर बिक्री गर्छन् ।

जिम्बु प्रतिमाना ५० मा बिक्री हुन्छ । असोज कात्तिक महिनामा पाटन क्षेत्रमा जिम्बु सुक्ने भएकाले सोही समयमा पाटन पुगेर जिम्बु टिप्ने गरिन्छ ।

बालबालिकादेखि सबै उमेरका स्थानीयवासी जिम्बु टिपेर अर्थ उर्पाजनमा सङ्लग्न हुन्छन् । जिम्बु बेचेर कतिपयले राम्रो आम्दानी गदै आएको फोक्सुण्डो गाउँपालिकाका प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उपल्लो डोल्पाका सबै स्थानीय तहमा पाइने भोटे जिरा (पोट्का) को माग अत्यधिक हुने गरेको छ । तरकारी, मासु र चटनीमा अत्यधिक रुपमा प्रयोग हुने भोटेजिरा उपल्लो डोल्पाको पाटनमा पाइन्छ ।

प्रतिकेजी पाँच सय देखि ७०० सम्म पर्ने यो भोटे जिरा अर्गानिक मानिन्छ । स्थानीयवासील भदौ महिनाको तेस्रो सातातिर भोटे जिरा सङ्कलन गर्दछन् । ती जडीबुटीबाट यहाँका स्थानीयवासीले मनग्य आम्दानी गर्दै आएको र स्थानीय सरकारले कर नलिएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment