Comments Add Comment
बामदेवसँग विशेष वार्ता :

‘मेरो आवश्यकता प्रधानमन्त्रीमा हो, राष्ट्रिय सभामा होइन’

'राष्ट्रियसभा लडाइँ झगडा नगर्नेखालका व्यक्तिको सभा हो, म त्यस्तो परिनँ'

१९ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा) का प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभाका सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने बचनबाट अध्यक्ष प्रचण्ड ‘ब्याक’ भएपछि आफू उम्मेदबार नबनेको खुलासा गरेका छन् ।

नेकपा सचिवालय बैठकमा संविधान संशोधनको प्रस्ताव राखेका गौतमले आफ्नो कुरालाई प्रधानमन्त्री केपी ओलीले पहिले नै अश्वीकार गरे पनि प्रचण्ड चाहिँ शुरुमा दिएको आश्वासनबाट अहिले आएर पछि हटेको बताए ।

अनलाइनखबरसँग विशेष कुराकानी गर्दै गौतमले दुवै अध्यक्ष संविधान संशोधन गर्न तयार नभएपछि आफू राष्ट्रियसभामा जान नचाहेको बताए ।
तर, गौतमले तत्कालै केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर आफू बन्न नखोजेको समेत प्रष्ट पारेका छन् ।

ओलीले आफू तीनै वर्ष प्रधानमन्त्री हुने र अब मृगौला पुनः प्रत्यारोपणपछि थप सक्रिय हुने बताएपछि आफू पछि हटेको पनि गौतमले बताए । उनले भने, ‘संविधान संशोधन नै गरेको भए पनि म तत्कालै राष्ट्रियसभामा जाने होइन । भोलि प्रधानमन्त्री बन्नुपर्ने अवस्थामा मात्र जाने भनेको हो । केपी कमरेडलाई हटाएर बन्ने त कुरै होइन ।’

प्रस्तुत छ, नेकपा सचिवालय सदस्य गौतमसँग अनलाइनखबरकर्मी मात्रिका पौडेलले गरेको कुराकानीको सम्पादित अंश-

तपाईँले प्रधानमन्त्री बन्न नपाए राष्ट्रियसभामा जान्न भन्नुभएको र प्रधानमन्त्रीले ठाडै अश्वीकार गरेको कुरा आएको छ, यथार्थ त्यही हो ?

संसदीय व्यवस्थाको जननी बेलायत हो । त्यहाँदेखि भारतसम्म सबै ठाउँमा राष्ट्रियसभा र प्रतिनिधिसभामा फरक देखाउने व्यवस्था छैन । बेलायतमा त राष्ट्रियसभालाई हाउस अफ लर्ड भनेर झन् ठूलो देखाउने कोशिष गरिएको छ । भारतमा पनि राष्ट्रियसभाबाट प्रधानमन्त्री नहुने व्यवस्था छैन ।

तर हाम्रोमा राष्ट्रियसभाबाट प्रधानमन्त्री हुन नपाउने भनियो । त्यसैले संविधानमा संशोधन गरौं, यो मेरोमात्रै कुरा होइन भनेको हुँ । म राष्ट्रियसभामा जाउँ कि नजाउँ त्यो छुट्टै कुरा हो । तर यो चाहिँ संशोधन गर्नुहुन्छ भने म सकारात्मक हुन्छु ।

उहाँहरुले संविधान संशोधनको आश्वासन दिनुभएको थियो कि तपाईको माग मात्र हो ?

उहाँहरुले (दुई अध्यक्ष) के भन्नुभएको थियो भने तपाईँ जानुस्, वातावरण बनाएर पछि संशोधन गरे पनि त हुन्छ नि । अध्यक्षहरुमध्ये पनि प्रचण्डको त्यो भनाइ थियो । केपी कमरेडको त होलसोल हुँदै हुन्न भन्ने थियो ।

मैले त्यसरी त जादिनँ भनेँ । लामो समयसम्म प्रतिनिधिसभाको सदस्य भएर काम गरेको हुनाले संसदीय अभ्यास मलाई राम्रैसँग थाहा छ । म सांसद नभए पनि संसदलाई प्रभावित गर्नसक्ने व्यक्तिका रुपमा छँदैछु । त्यसैले मैले कहिल्यै राष्ट्रियसभामा जाने विचार गरिनँ ।

राष्ट्रियसभाबारे मेरो दृष्टिकोण पनि अलि फरक छ । यसमा चाहिँ विज्ञता हासिल गरेका, उमेरले पाका भएका यस्ता व्यक्तिलाई पठाउँ, जसले त्यहाँबाट आफ्ना अनुभवका आधारमा राम्रो नराम्रो छुट्याएर धेरै तटस्थ बसेर काम गर्न सकुन् । लडाइँ झगडा नगर्नेखालका व्यक्तिहरुको सभा हो राष्ट्रियसभा । म स्वाभावैले पनि त्यस्तोखाले परिनँ । त्यसो भएर म जादिनँ भनेको हो ।

तर प्रतिनिधिसभा र राष्ट्रियसभाको विभेद अन्त्य हुन्छ भने जान सकिन्छ भनेर प्रष्ट बताएको हुँ । यति मात्र होइन, तपाईहरुले संशोधन गर्दिहाल्नुहुन्छ भने पनि म तुरुन्तै राष्ट्रियसभामा जादिनँ । जतिबेला लौ तपाईको आवश्यकता पर्‍यो भन्नुहुन्छ, त्यतिबेला म जान्छु । प्रधानमन्त्रीका रुपमा काम गर्नुपर्ने आवश्यकता नै सबैभन्दा ठूलो आवश्यकता हो । संसदको सदस्यका रुपमा होइन ।

संसदको सदस्यका रुपमा त तपाईहरु धेरैजना हुनुहुन्छ मेरो त्यहाँ आवश्यकता हुन्न भनेर मैले भनेको थिएँ । मैले हिजो -विहीबार) सचिवालय बैठकमा यिनै कुरा अझ यो भन्दा लामो पृष्ठभूमिसहित बताएको छु ।

मैले प्रधानमन्त्री हुने सम्भावना हुँदामात्रै म जान्छु भन्दा उहाँले  मै छु नि प्रधानमन्त्री, मैले के गल्ती गरेको छु र हट्ने ? भन्नुभयो

उसो भए किन प्रस्ताव गरे त ?

वास्तवमा, यो प्रस्ताव नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभामा लैजानका निम्ति थियो । अहिले तपाई पनि जाने भनेर उहाँसँग दुईजना अध्यक्षले भित्रीरुपमा सल्लाह गरिसक्नुभएको रहेछ । समझदारी गरिसक्नुभएको रहेछ ।

बामदेव जाँदैन भन्ने उहाँहरुको अनुमान छँदै थियो । त्यसैले प्रचण्डले बामदेव र नारायणकाजी कहाँबाट जाने हो, राष्ट्रियसभामा लैजाउँभनेर प्रस्ताव राख्नुभयो । केपी कमरेडले नारायणकाजीलाई प्रदेश ४ बाट लैजाउँ, बामदेवले जहाँ रोज्नुहुन्छ, त्यहीँबाट भन्नुभयो ।

हिजोसम्म प्रचण्ड कमरेडले तपाईलाई ल्याउन मैले केके गर्न सक्छु, सबै गर्छु भन्नुभएको थियो । उहाँ पनि संविधान संशोधनमा ब्याक हुनुभएछ ।

संविधान संशोधन गर्न लाग्ने हो भने यहाँ धेरैका छन् भन्नुभयो । धेरैका छन् त के भो ? उनीहरुको ताकत छैन हाम्रो ताकत छ । जति गर्नुपर्ने हो त्यति (संशोधन) गरे भैहाल्यो, अरुले भनेजति सबै गर्नुपर्छ र ? भन्ने मेरो कुरा रहृयो

यसमा के कुरा आयो ?

हुँदैन । केको चाहिँ पेटारो खोलेजस्तै हुन्छ, पाण्डोराको बक्स खोलेजस्तो हुन्छ भन्ने कुरा गर्नुभयो ।

मैले पनि त्यसो हो भने यसमा कुरै नगरौं, सक्किहाल्यो । मलाई राष्ट्रियसभा जान आवश्यक छैन । तपाईहरुले नै निर्णय गरेर लौ प्रतिनिधिसभामा ल्याउने भनेर भनेको हो । मैले उसबेला पनि राष्ट्रियसभामा जान्न भनेको हो भनेर भनेँ ।

संविधान संशोधन त नेकपाले मात्रै गर्न संख्या पुग्दैन, अरु पनि सहमति गराउनुपर्ला नि ? अरुका पनि माग उठिहाल्छन् नि ?

होइन, अरु माग किन पुरा गर्नुपर्छ र ? यो (राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने) नै एउटा व्यवस्था हो, जुन सबैका निम्ति आवश्यक छ । नेकपाको निम्तिमात्र होइन, कांग्रेसको पनि हो, राजपाको पनि हो । किनकी दुईटा सदनमा विभेद गर्नुहुन्न, समानता हुनुपर्छ भन्ने त पुँजीवादी विचार नै हो नि ।

कतिपयले चाहिँ बामदेव केपी ओलीलाई हटाएर प्रधानमन्त्री बनिहाल्न खोजे भन्छन् नि ?

होइन नि । केपी ओलीले भन्नुभयो, म लगातार अब तीन वर्षसम्म काम गर्छु । मेरो स्वास्थ्यमा पूर्ण रुपले सुधार भयो । एपेडिक्सले म बाँचे, एपेण्डिसाइटिस जिरो पोइन्ट जिरो जिरो प्रतिशत पनि बाँकी छैन । अब किड्नी ट्रान्सप्लान्ट गर्छु । त्यो पाँच घण्टामा हुन्छ । पाँच दिन आराम गरेपछि अहिले भन्दा कयौं गुणा बढी काम गर्न सकिहाल्छु ।

प्रधानमन्त्रीले यो कुरा अलि अगाडि कुरा मसँग भन्नु भएको थियो । हिजो पनि मैले प्रधानमन्त्री हुने सम्भावना हुँदामात्रै म जान्छु भन्दा उहाँले तपाई प्रधानमन्त्री हुने सम्भावनै छैन । मै छु नि प्रधानमन्त्री, मैले के गल्ती गरेको छु र हट्ने ? भन्नुभयो । मैले पनि तपाईलाइै हटाउने कुरै छैन, किन हटाउने भनेँ ।

त्यो बाहेक राष्ट्रियसभा सदस्यमा चयनमा विमति होइन तपाईँको ?

राष्ट्रियसभा सदस्य उम्मेदवार चयन सहमतिका साथ भएको छ । यसमा मेले नै भूमिका खेलेको हुँ ।

सभामुख चयनमा चाहिँ के हुन्छ त अब ?

सभामुख चयनमा पनि यसैगरी सहमति गर्नुपर्छ । अहिले कस्तो छ भने राष्ट्रियसभामा १०/६ बाँडिएको छ । दश र ६ भनेर बाँडेको भने होइन । यो ठाउँमा यो हुनुपर्‍यो, यो ठाउँमा यो हुनुपर्‍यो भन्दा १० र ६ भयो । (खासमा ९ र ७ हो) ।

यो पूर्वमाओवादी, यो पूर्व एमालेपट्टीको भन्ने कुरा कहिँ पनि उल्लेख नगरी भित्रभित्रै बुझेर सबै गर्‍यौं । त्योचाहिँ मैले बुझेको थिएँ, त्यहीभएर फटाफट यहाँ यो, यहाँ यो भनेँ र हिजोदेखि बिहानसम्म छलफल भएर अन्तिममा यही टुंगो लाग्यो । अब सभामुखको उम्मेदवार छनौट गर्दा पनि त्यही गर्नुपर्छ । जो सबैभन्दा योग्य सक्षम छ, त्यही आउनुपर्छ ।

प्रचण्डले चाहिँ पूर्वमाओवादीको कोटा भन्नुभएको छ नि ?

पूर्वमाओवादीबाट यसपटक (राष्ट्रियसभा सदस्य बाहिरिने) दुई वर्षमा परेको दुईजना । अहिले उम्मेदवारमा ६ जना परिसकेका छन् नि त ।

कार्यकारी अध्यक्षले सभामुखमा अडान लिनुहुँदैन भन्ने हो ?

त्यस्तो गर्नै हुँदैन । हामीहरुसँग सभामुख चलाउन सक्ने क्षमतावान व्यक्ति को छ, त्यो हेर्नुपर्छ ।

सभामुखमा दुईटा अध्यक्षले टुंगो लगाउन सकस पर्दा तपाईँले मध्यस्थ गर्नुहुन्छ ?

कसैका लागि पनि मध्यस्थता गर्दिनँ अब । बैठकमा कुरा राख्छु । बैठकमा कुरा राख्दाखेरि आज जसरी कुरा राखियो त्यसै गरी राख्ने हो । यो चाहियो, त्यो चाहियो, यतातिर भावना भड्किन्छ आदि इत्यादि भन्नुभयो भने तपाईहरु चाहिँ काम नलाग्ने मान्छे हो, तपाईहरुले पार्टी एकता गर्नुभएन भन्दिछु ।

भनेपछि, राष्ट्रियसभा अध्यक्ष नारायणकाजी र सभामुख सुवास नेम्वाङ बनाउने हो ?

होइन होइन, त्यस्तो होइन । राष्ट्रियसभाको अध्यक्षको त कमी कमजोरी के भएको छ र ? राष्ट्रियसभामा भएकाहरुमध्ये अलि कान्छो व्यक्तिलाई अध्यक्ष बनाइदिनुभयो भन्ने मेरो गुनासो हो । तर रामै्र चलिरहेको छ, किन हटाउने उहाँलाई । त्यो सम्मानित संस्थाको अध्यक्षलाई बिनाकारण हटाउने त कुरै आउँदैन ।

सभामुख चाहिँ के गर्ने त ?

हाम्रो पार्टीभित्र भएका मध्ये त्यहाँ पूर्व र पश्चिम भन्ने छैन अब । पूर्व-पश्चिम एउटै हो, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जो सबैभन्दा सक्षम छ, त्यही व्यक्ति हुन्छ ।

त्यो व्यक्ति को हो त ?

जो सक्षम हुनुहुन्छ, उहाँहरुले छलफल गर्नुहुन्छ होला नि त । सक्षम व्यक्ति चाहिँ सभामुख हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment