Comments Add Comment

बैंकर्स संघका अध्यक्ष दाहालले गरे पदभार ग्रहण

Photo Credit : Anil Sharma/NBA

२० पुस, काठमाडौं । बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष भुवन दाहालले पदभार ग्रहण गरेका छन् । करिब एक महिना अघि नै अध्यक्षमा सर्वसम्मत निर्वाचित भए पनि पदभार ग्रहण भने गरेका थिएनन् ।

शनिबार संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले नवनिर्वाचित अध्यक्ष दाहाललाई जिम्बेवारी हस्तान्तरण गरेका थिए । त्योसँगै आइतबार दाहालले पदभार ग्रहण गरेका हुन् ।
संघको नयाँ कार्यसमिति उपाध्यक्षमा अनुकुल भाटनगर दोहोरिएका छन् । उनी यस अघि पनि उपाध्यक्ष नै थिए । भारतीय मुलका भाटनगर नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।

संघको सदस्यहरुमा नेपाल क्रेडिट एण्ड कमर्श बैंकका सीईओ रमेशराज अर्याल, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ र माछापुच्छ्रे बैंकका सीईओ सुमन शर्मा यथावत रहेका छन् ।

संघको नयाँ कार्यसमितिमा सबै सर्वसम्मत चयन भएका छन् । नयाँ कार्यसमितिमा ४ नयाँ अनुहार देखिएका छन् ।

यसअघि संघको कार्यसमितिमा नरहेका सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुँवर संघको कार्यकारी सदस्यमा निर्वा्चित भएका हुन् ।

यो पनि पढ्नुहोस बैंकर दाहालको जीवन कथा : सरकारी जागिर छाडेर यसरी भए सफल

सरकारी जागिर छाडेका दाहाल

दाहाल हाल सानिमा बैंकको प्रमुख कार्यकारी अधिृकत छन् । उनी बैंकर हुनु अघि नेपाल सरकारको जागिरे थिए । सफल बैंकर मानिने भुवन दाहाल ०२८ सालमा सिन्धुलीको भिमान भन्ने गाउँमा जन्मिएका हुन् ।

मध्यमवर्गीय परिवारका उनले बालापनका केही वर्ष सिन्धुलीमै बिताए ।दाहाललाई मन पर्ने पेशा भनेको अध्यापन थियो । उनले शिक्षक बन्ने सपना देखेका थिए ।

शिक्षकमा पनि अंग्रेजी विषयको शिक्षक हुने दाहालको चाहाना थियो । जसका कारण उनले स्नातक तहसम्म अंग्रेजी र अर्थशास्त्र विषय लिएर पढे । उनले फाइनान्स विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरे । गाउँमा मान–सम्मान बढी हुने भएकाले पनि उनी अंग्रेजी भाषाको शिक्षक हुन चाहान्थे ।

केहि समय शिक्षब पनि बने । तर त्यसलाई निरन्तरता भने दिन सकेनन् । शिक्षण पेशामा लागिरहेकै बेला उनले लोकसेवा आयोगका विज्ञापनहरु हेर्न थाले । गोरखापत्रमा लोकसेवा आयोगको विज्ञापन देखे र खरिदार पदमा उनले आवेदन दिए । नभन्दै उनको नाम निस्कियो ।

संसद सचिवालयमा खरिदार पदमा केहि वर्ष जागिर खाए । सरकारी जागिर खाएपछि भविश्य सुरक्षित बन्यो भन्ने भनाइ समाजमा हुँदाहुँदै पनि उनले सरकारी जागिर छाडे । सरकारी जागिर छाड्नुको एकमात्रै कारण थियो सेवा सुविधा । नेपाल सरकारको खरिदार पदमा जागिर खाँदा उनको तलब जम्मा १ हजार २ सय ४० रुपैयाँ थियो ।

तर, नबिल बैंकमा उनले सहायक पदमा जागिरका लागि आवेदन दिए । नविल बैंकले सहायक पदमा त्यसबेलै ३ हजार ३ सय ५० रुपैयाँ तलब दिन्थ्यो । त्यसमा राजधानी बाहिर जानेलाई थप ८ सय रुपैयाँ पनि । यसकारण उनले बैंकिङ करिअर रोजे ।

०४८ सालमा नविल बैंकको सहायक पदबाट शुरु गरेको करिअर मुलुकको कान्छो बैंक सानिमा बैंकसम्म पुग्दा उनी बैंकको सीईओ भए । हाल उनी वाणिज्य बैंकका सीईओहरुको छाता संस्था बेंकर्स संघको अध्यक्ष निर्वाचित भएर पदभार ग्रहण शुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment