Comments Add Comment

कस्तो पानी पिउँदैछन् काठमाडौंवासी ?

मुहानमा दिसाको रासदेखि फोहोरको डङ्गुरसम्म

झण्डै २५ वर्षदेखि चर्चामा रहेको मेलम्ची खानेपानी पर्खिंदा पर्खिंदै काठमाडौंवासीको आँखा टट्टाइसके । तैपनि मेलम्चीको पानी अझै काठमाडौंका धारामा झरेको छैन । मेलम्चीले नमेटाएको तिर्खा अहिले काठमाडौंबासीहरुले आसपासका सानातिना खोलानालाबाट पूरा गरिरहेका छन् । ती स्रोतमा उपलब्ध पानी ट्यांकरमा ढुवानी गरिन्छ ।

ट्यांकरको पानीलाई धेरै काठमाडौंबासीले खाना बनाउने वा स्नान, भाँडा बर्तन धुनेजस्ता आन्तरिक काममा नै प्रयोग गर्छन् । धेरैले त यही पानीलाई सीधै पिउनेसमेत गरेका छन् । तर, यो पानी पिउन लायक छ कि छैन ? भनेर कसैले पनि हेर्ने गरेका छैनन् । ट्यांकरले घरघरमा लैजाने पानी कहाँबाट ल्याउँछ ? कस्तो शुद्ध पानी ल्याउँछ ? भन्ने बारेमा कसैले पनि ध्यान दिँदैन । तर, यही धेरैलाई चासो नभएको विषयमा गम्भीर खेलाची हुने गरेको भेटिएको छ ।

काठमाडौंबासीलाई सबैभन्दा धेरै घरायसी प्रयोजनको लागि पानी ओसार्ने हरियो स्टिकर भएको ट्यांकरको पछिपछि लागेर हामी काठमाडौंको बल्खुदेखि चोभार हुँदै उता लाग्यौं । चोभारको जंगल सकिने बित्तिकै रहेको चक्रतीर्थ वाटर सप्लायर्स प्रालि छ । यो अन्य प्रयोजनको लागि आवश्यक पर्ने पानी भर्ने ठाउँ हो । त्यसको केही पर टोदह कटेपछि कीर्तिपुर नगरपालिका र  दक्षिणकाली नगरपालिकाको सीमाना छुट्याउने खहरे खोला आउँछ । सोही खहरे खोलाको किनारमा ४ वटा पानी सप्लायर्स कम्पनीहरु रहेका छन् । जसले मुहानको पानी भन्छन् र खोलाको पानी उठाएर बेच्ने गरेको भेटिएको छ ।

त्यहाँ हषिर्त पानी सप्लायर्स, महालक्ष्मी खानेपानी सप्लायर्स लगायत ३ जटा निजी पानी वितरण कम्पनी र एउटा दक्षिणकाली नगरपालिकाको दक्षिणकाली खानेपानी सप्लायर्स सञ्चालनमा रहेका छन् । तीन कम्पनी कीर्तिपुर तर्फ छ भने दक्षिणकाली पानी सप्लायर्स दक्षिणकाली नगरपालिका तर्फ छ ।

हामीले त्यहाँ पुगेर सबैभन्दा पहिले हषिर्त कम्पनीका सञ्चालक र त्यहाँ कार्यरत कर्मचारीहरुसँग पानी प्रशोधन र सप्लाईको विधिको बारेमा कुरा गर्यौं । त्यहाँका सञ्चालक र कर्मचारीहरुले त्यहाँ मूलबाट सिधै पानीलाई पाइप मार्फत् ल्याएर फिल्टर गरेर राख्ने बताए । उनीहरुले पानीमा कुनैपनि औषधि हाल्नु नपर्ने भन्दै मुहानको पानी सिधै पिउन पनि सक्ने बताए ।

उनले भनेको मुल कस्तो रहेछ र सिधै पिउन मिल्ने पानी कस्तोे रहेछ ? भनेर खहरे खोला खोलै एक किलोटिर जति माथि तिर लाग्यौं । त्यहाँका आसपासका मानिसहरुको हवाला दिँदै उनीहरुले मूलको पानीमाथि शंका नगर्न आग्रह गरे । त्यहाँ एक ट्यांकर पानीको साढे ३ सय रुपैयाँ लिने गरेको र काठमाडौंमा ल्याउँदा ५ हजार लिटरको ट्यांकरको १७ देखि १८ सय रुपैयाँसम्म लिने गरेको बताए । उनीहरुले आफूले पानी संकलन गरेको ट्यांकी देखाएनन् र पानी शुद्ध भएको भन्दै त्यसमा शंका नगर्ने बारम्बार आग्रह गरे ।

चक्रतीर्थ पानी सप्लायर्सकी सञ्चालिक सृजना नगरकोटीले आफूहरुले पहेँलो स्टिकरको ट्यांकरमा पनि पानीलाई फिल्टर गरेर पठाउने गरेको जानकारी दिइन् । आफ्नो कम्पनीले इनारबाट पानी तालेर बिक्री गर्ने भएकोले पनि फिल्टर गर्ने गरेको बताइन् ।

एकातर्फ खिया लागेर रातो रातो भइसकेको त्यो ट्यांकर भित्रबाट सफा नहुने र अर्काे तर्फ मूलको पानी भनेर खहरे खोलाको पानी बेच्ने गरेको भन्ने जानकारी पाएपछि हामीहरु मूलको खोजी गर्दै उनीहरुले पाइप गाढेको खोदा खोलै माथि तिर उकालो लाग्यौं । सडकबाट झण्डै एक किलोमिटरजति माथि पुग्दासम्म यस्तो दृश्य देखिन्छ, जुन सम्झिएपछि ट्यांकरको पानी पिउन पनि धेरैलाई संकोच हुनसक्छ ।

एक किलोमिटर हाराहारीमा खोला माथि पुगेपछि त्यहाँ खोलाको १० मिटर जति माथि एउटा ट्यांकी राखिएको छ । खुल्ला रुपमा रहेको सोही ट्यांकीमा पाइप राखेर पानी तल पानी नियन्त्रण गर्ने कार्यालयसम्म ल्याउने गरिन्छ । तल ल्याएपछि फिल्टर विधि मार्फत् फिल्टर गरिने गरेको कार्यालयले जनाएको छ । त्यो प्रशोधन पछि पनि अर्काे ट्यांकीमा राखिन्छ । जुन माथिको जस्तै फोहोर छ ।

खोलैखोला त्यो ट्यांकी भएकोभन्दा ५०० मिटर जति माथि पुग्दा त्यहाँ एउटा प्रचलनमा नै रहेको मानिसको लास जलाउने घाट छ । त्यहाँ मानिसको लास जलाउँदा कत्तिको फोहोर हुने कुरालाई बेवास्ता गर्दा पनि त्यो घाट नपुग्दै खोलाको किनारमा नै दुई ठाउँमा मानिसले दिसा गरेको भेटिन्छ । स्थानीयका अनुसार त्यहाँ त्यही ट्यांकरका चालक र सहचालकहरु समेत पानीको सहज हुने भएकोले खोलाको किनारतिर नै शौच गर्न जाने गरेको बताउँछन् ।

पानी सप्लायर्सको ट्यांकीको ठिक विपरित अर्काे सामुदायिक ट्यांकी बनाइरहेका जीवलाल श्रेष्ठले खोलामा उनीहरुकै साथीभाइ र धारामा नुहाउन आएकाहरुले त्यस्तो फोहोर गर्ने गरेको बताए । सो ठाउँमा केही माथि हेर्दैजाँदा खोलामा कै ढुंगामा दिसा गरिएको ठाउँ भेटियो । जुन हल्का पानी परेर पनि खहरे खोला ठूलो भयो भने त्यो दिशा बगेर सिधै खानेपानीको ट्यांकीमा पुग्ने गर्छ । त्यही खोलामा नै कुखुरा मारेर पोलेर खाएको खरानी, कुखराका भुत्लाहरु आदि पनि भेटिन्छ ।

चरण चरणमा फोहोरको चक्र

ट्यांकरले बेच्ने पानीहरु चरण चरणमा फोहोर थपिँदै आउने गर्छ । पहिलो त मुहानमा नै यति फोहोर पानीमा मिसिएको हुन्छ । त्यो पाइपको माध्यमबाट अर्काे ट्यांकीमा आउँछ । जुन कैयौं समयसम्म सफा हुने गरेको हुँदैन । त्यसरी कम्पनीले पानी भरिदिने ट्यांकरहरु आफैंमा खियाले रातो भएका ट्यांकरहरु हुन्छन् ।

उनीहरुले छिटो सफा गर्ने तीन महिनामा एक पटक सफा गर्ने गरेको उनीहरु नै बताउँछन् । कसैले त एक वर्षमा एक पटक पनि सफा गर्ने गरेका छैनन् । यसरी ट्यांकरमार्फत् घरसम्म आइपुग्दा पानी पिउन नै नहुने भइसकेको हुन्छ । त्यसपछि ट्यांकरको फोहोर पाइप मार्फत् घरको ट्यांकीमा राखिन्छ । ट्यांकीमा लामो समयसम्म राख्नु आफैंमा हानिकारक कुरा हो ।

यसरी मुहानबाट मानिसको भान्सासम्म आउँदा विभिन्न चरणमा पानीले आवश्यक पर्ने खनिज जस्ता गुणहरु गुमाइसकेको हुन्छ । त्यो केवल एउटा पेय पदार्थ बनेको हुन्छ । जहाँ अलिकती पनि पोषिलो बाँकी नरहने जानकारहरु बताउँछन् ।

तस्वीरः आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment