Comments Add Comment

कार्यविभाजनलाई लिएर अनेरास्ववियूमा असन्तुष्टि

२० पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले एकता टुंगो लागेको भन्दै ३ सय ३५ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरे पनि असन्तुष्टिका स्वर सुनिन थालेका छन् ।

तत्कालीन अखिल क्रान्तिकारीका केही नेताहरुले पार्टी अध्यक्ष प्रचण्डसमक्ष आफ्ना असहमति राख्दै हालको केन्द्रीय समिति अस्वीकार्य हुने बताएका छन् ।

प्रचण्डलाई बुझाइएको असहमतिपत्रमा तत्कालीन अखिल क्रान्तिकारीका उपाध्यक्षत्रय पञ्चा सिंह, दीपक देवकोटा र रविकिरण यादवको हस्ताक्षर छ । यसैगरी तत्कालीन अखिल क्रान्तिकारीका प्रदेश १ संयोजक मदन भट्टराई, प्रदेश २ संयोजक सूर्यनारायण साह, प्रदेश ४ संयोजक क्षितिज सापकोटा, प्रदेश ५ संयोजक नारायण खनाल र कर्णाली प्रदेश संयोजक अम्मराज शाहीले पनि असहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

शाहीले अनलाइनखबरसँग भने, ‘कसैलाई मनोनितको नाममा, कसैले विशेष कोटाको नाममा आफू निकटका व्यक्तिहरुलाई केन्द्रीय सदस्य बनाइएको छ । यसरी ल्याइएका कतिपय निर्वाचन हारेकाहरु छन्, कतिपय एकदमै जुनियर छन्, यस्तो गर्दा धेरै सिनियर साथीहरु छुटे ।’ संगठनको नेतृत्वले गुटगत राजनीति गरेको असन्तुष्ट पक्षको भनाइ छ ।

तर अखिल क्रान्तिकारीका तत्कालीन अध्यक्ष एवम् अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले भने अहिलेको केन्द्रीय समिति गुटगत रुपमा नभइ विधिसम्मत ढंगले चयन गरिएको बताए ।

‘विधिसम्मत छलफल गरेर, बिभिन्न कार्यदल बनाएर अहिलेको केन्द्रीय समिति बनाइएको हो । मबाहेकका सिनियर साथीहरु रहेको कार्यदलले तयार पारेको मापदण्डको आधारमा बनाइएको हो । अहिले असहमति जनाउने कतिपय साथीहरु पनि कार्यदलमा हुनुहुन्थ्यो,’ तामाङले भने ।

उनले अहिलेको असन्तुष्टिलाई ‘महाधिवेशनको तुस’ र ‘अमूक नेताको इन्ट्रेष्ट’ भनेर भनेर टिप्पणीसमेत गरे । उनले भने, ‘जे बबण्डर गर्न खोजिएको छ, त्यो राष्ट्रिय सम्मेलनको निर्वाचनको बाँकी रहेको तुस हो । व्यक्तिगत रुपमा रञ्जित तामाङलाई असफल बनाउन खोज्ने अमूक नेताहरुको इन्ट्रेष्टबाट भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment