Comments Add Comment

गण्डक नहरको पानीले बालीमा क्षति पुर्‍याएको किसानको गुनासो

२० पुस, वीरगञ्ज । पर्साको विन्दबासिनी गाउँपालिका-४ मधवल अमरपट्टीमा गण्डक नहरको पानीले गर्दा गहुँ, मसुरोलगायतका बाली नष्ट भएको किसानले गुनासो गरेका छन् ।

आवश्यक्ता हुँदा नहरमा पानी नआउने र आवश्यक नभएको समयमा पानी छोडिदिने भएकोेले बाली नष्ट भएको उनीहरुको भनाइ छ ।

जसौली क्षेत्रमा पानी पसेर १० विगाहा खेतमा लगाइएको गहुँ तथा मसुरी नष्ट भएको विन्दबासिनी-४ का अध्यक्ष अनोजकुमार चौरासियाले दाबी गरे ।

उनका अनुसार १० बिगाहा खेतको बाली नष्ट भएकोले त्यसको क्षतिपूर्ति दिनुपर्नेमा माग किसानले गरिरहेका छन् ।
गहुँबालीका लागि पुस १५ देखि पानी छाड्नुपर्ने थियो । यस वर्ष गण्डक नहरमा गहुँ बालीका लागि पानी छोडिएको छैन ।

भारतीय क्षेत्रमा दोन नहरमा साइफन मर्मतको काम चलिरहेको छ । तिहार अगावै भारतीय पक्षले पत्र पठाएर मर्मत गर्नुपर्ने भएकोले पानी छाड्न नसक्ने जानकारी दिएको थियो ।

तर नहरमा तिलावे नदिको पानी भने छोडिएको छ । तिलावेको पानीबाट आसपासका किसानले सिँचाइ गरिरहेका छन् ।

गण्डकस्थित सिँचाइ डिभिजन कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर सुरेश साहले किसानको माग अनुसार झौवातर्फ एक दिन पानी छोडिएको तर किसानले दाबी गरेजस्तो क्षति नभएको बताए । ‘झौवाका किसानले तीन दिन पानी चाहियो भनेर मागेका थिए, तिलावे ब्यारेजबाट पानी दियौं, एकै दिनमा किसानलाई क्षति भयो भन्ने गुनासो आएपछि बन्द गरिसकेका छौं ।’

किसानले पनि पम्पसेट लगाएर पानी फालेकोले बालीमा खासै क्षति हुन नपाएको उनको भनाइ छ ।

प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद साहले पनि केही किसानको बदमासीका कारण अरुको बालीमा असर पर्न गएकोमा आफूपनि दुखित रहेको बताए ।

‘हामीले किसानलाई निवेदन दिएर पानी लैजान र आवश्यकता अनुसार सिँचाइ गरिसकेपछि फेरि जानकारी गराउन भनेका छौं,’ उनले भने, ‘तर केहिले पानीका लागि निवेदन दिन्छन तर बन्द गर्न भनिदिदैनन् । सिँचाइ उपभोक्ता समिति गठन गरेर संयुक्त रुपमा पानी लैजाने र सिँचाइ गरिसकेपछि बन्द गर्ने बानी बसाल्ने हो भने यस्तो समस्या आउने नै थिएन ।’

पर्साको जिरो आरडी दसौतादेखि रौतहटको बागमतीमा गएर झरेको नहरको लम्बाई ८१ किलोमिटर छ । भारतीय पक्षले वर्षमा दुईपटक साढे आठ सय क्युसेक पानी छोडन्ुपर्ने गण्डक सम्झौतमा उल्लेख छ ।

गहुँ बालीको सिजनमा नहरमा पानी नआएपछि किसान चिन्तित छन् । गण्डक नहरको पानी पर्सा, बाराको गरी ११ नम्बर ब्लकसम्म मात्रै पुग्ने गरेको छ । जसबाट पर्सा र बाराका ४० हजार हेक्टरभन्दा बढी जग्गा सिंचित हुन्छ ।

नहरको दक्षिणतर्फ भारतीय सीमासम्मका किसान पैनी र टर्सरीको माध्यमबाट सिँचाइ गर्ने गर्दछन् । नहरको उत्तरी भेगका किसान पम्पसेटलगायत वैकल्पिक उपाय र आकाशे पानीको भरमा सिँचाइ गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment