+
+

महानगरीय प्रहरीले बनायो कार्यसम्पादन मूल्याङ्कन टोली

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २१ गते १२:५८

२१ पुस, काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले आन्तरिक शुद्धिकरणका लागि कार्यसम्पादन मूल्याङ्कन टोली गठन गरेको छ ।

प्रहरीले यसलाई ‘पर्फमेन्स अडिट टिम’ भनेको छ । उपत्यकाको तीन जिल्लाको प्रहरी इकाइ हेर्ने जिम्मेवारी पाएको महानगरीय प्रहरीले आन्तरिक अनुगमन र निरीक्षणसँगै प्रभावकारी सेवा प्रवाहका लागि भन्दै टोली गठन गरेको हो ।

टोलीको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) रेवती ढकाललाई दिइएको छ । टोलीले अपराध अनुसन्धानमा प्रहरी परचालन र सेवा प्रवाहमा प्रभावकारिताको मूल्याङ्कन गर्नेछ ।

‘प्रहरी आचरणविरुद्धको कारबाही गर्नेविरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र आर्थिक अनुशासनमा शून्य शहनशीलताको नीति लिएर अडिट टिम बनाइएको हो’, राखीपोखरीका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल भन्छन् ।

उनका अनुसार टोलीले साधन स्रोतको परिचालन तथा उपलब्धिको अवस्था, निष्पक्षता, समानता, पारदर्शिता र कानूनन सम्मत प्रशासनमा जोड दिनेछ ।

व्यवसायिकता, सम्बन्ध र समन्वयको अवस्था, प्रहरी पोशाक तथा असवाबको प्रयोगमा चुस्त दुरुस्तताको मूल्याङ्कन, मानव अधिकार संरक्षणको अवस्था र बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमताका नागरिकप्रतिको व्यवहारबारे मूल्याङ्कन गरेर पनि टोलीले रिपोर्ट बुझाउने उनले बताए ।

‘टोलीलाई अनुगमन र निरीक्षणमा जतिसुकै वेला निस्किन सक्ने अधिकार छ’, पोखरेलले थपे, ‘निरीक्षणका क्रममा आर्थिक अनियमितता, सेवाग्राहीसँग गलत व्यवहार वा मादक पदार्थ सेवा गरेको भेटिए, टोलीले तत्काल नियन्त्रणमा लिन पनि सक्छ ।’

पोखरेलले हरेक प्रहरी युनिटको प्रोफाइल तयार पारिने बताउँदै अडिटको आधारमा नियमित सुपरिवेक्षण हुने जनाए । जिम्मेवारी दिइएको क्षेत्रमा अपराधको स्थिति र नियन्त्रणको अवस्थाबारे पनि अडिट हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?