News Summary
Generated by OK AI. Editorially reviewed.- ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले विद्युत् सेवा र गुणस्तरमा आएका गुनासाहरू अध्ययन गर्न छुट्टाछुट्टै दुई समिति गठन गरेका छन् ।
- सीडीई राजु महर्जनको नेतृत्वमा गठित समितिले ट्रान्सफर्मरको गुणस्तर, भोल्टेज प्रवाह र ट्रिपिङको समस्याबारे अध्ययन गर्ने जिम्मेवारी पाएको छ ।
- प्राधिकरण सञ्चालक समितिले शम्भु केसीको नेतृत्वमा भूमिगत तार व्यवस्थापनका क्रममा देखिएका जोखिम र गुणस्तरको अवस्था जाँच गर्न अर्को समिति गठन गरेको छ ।
१७ साउन, काठमाडौं । ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले अनियमितताका उजुरीहरूमाथि अध्ययन गर्न दुई छुट्टाछुट्टै समिति गठन गरेका छन् ।
ऊर्जा मन्त्रालयले प्राधिकरणको ट्रान्सफर्मरको खरिद र तिनको गुणस्तरबारे अध्ययन गर्न सिनियर डिभिजनल इन्जिनियर (सीडीई) राजु महर्जनको नेतृत्वमा समिति गठन गरेको हो । मन्त्रालयका सूचना अधिकारी समेत रहेका महर्जन नेतृत्वको समितिले काम थालिसकेको बताए ।
नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले भूमिगत तार व्यवस्थापन र त्यसक्रममा आएका गुनासाहरूको अध्ययनका लागि सञ्चालक समिति सदस्य शम्भु केसीको नेतृत्वमा अर्को समिति गठन गरेको हो ।
दुवै समिति प्राधिकरणको गुणस्तर र सेवा प्रवाहसँग सम्बन्धित छन् ।
नेपाल विद्युत् प्राधिकरणले ग्राहक र सेवाग्राहीको गुनासो सुन्न ११५१ को हटलाइन सेवा सुरु गरेको थियो ।
करिब १५ सय उजुरीमध्ये ठूलो हिस्सामा ट्रान्सफर्मर र भूमिगत तार व्यवस्थापनबारेमा गुनासो आएपछि अध्ययन गर्न समिति गठन भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सीडीई महर्जनको नेतृत्वमा गठित समितिले विभिन्न ठाँउको भोल्टेज प्रवाह, बारम्बार विद्युत् आपूर्ति रोकिने समस्या (ट्रिपिङ) लगायत ट्रान्सफर्मरहरूको गुणस्तरबारे समेत अध्ययन गर्नेछ । समितिले काम थालिसकेको छ ।
विद्युत् प्राधिकरणको सञ्चालक समितिले सदस्य शम्भु केसीको नेतृत्वमा गठन गरेको समितिले भूमिगत तार व्यवस्थापन र त्यसमा देखिएका समस्याबारे अध्ययन गर्ने कार्यादेश पाएको छ ।
काठमाडौं उपत्यकाका केही शहरी क्षेत्रमा विद्युत् प्राधिकरणले भूमिगत रूपमा तार व्यवस्थापनको काम थालेको थियो ।
त्यसक्रममा गुणस्तरीय काम नभएको र जोखिम बढेको भनेर प्राधिकरणले सञ्चालन गरेको गुनासो सुन्ने हटलाइनमा बारम्बार उजुरी आएको थियो । त्यसलाई सम्बोधन गर्न अर्को समिति गठन भएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया 4