Comments Add Comment

अष्ट्रेलियाको डढेलो प्रभावित क्षेत्रमा रहेका नेपाली त्रासमा

भिजिट नेपालको कार्यक्रम प्रभावित

सिड्नी । अष्ट्रेलियामा फैलिएको डढेलो नियन्त्रणमा आउन नसक्दा यहाँ रहेका नेपाली समुदायमा पनि त्रास छाएको छ । अहिलेसम्म कुनै नेपाली ठूलो समस्यामा परेको खबर नआएको भए पनि डढेलो प्रभावित क्षेत्रमा बस्ने नेपाली परिवार जोखिममा छन् ।

सिड्नी र सिड्नीको टाउनहलबाट डेढ सय किलोमिटर टाढा पर्छ बनडानन गाउँ । हाल डढेलो प्रभावित साउदर्न हाइल्याण्डमा पर्ने यो गाउँका दुई हजार सात सय जनामध्ये दुई परिवारका ६ जना नेपाली छन् ।

ती मध्ये एक हो, सन्तोष दराइको ४ जनाको परिवार । डढेलोको त्रास बढ्दै गएपछि यो परिवार गत शुक्रबार त्यहाँबाट आफ्ना आफन्तको घर मोस्भेलमा सरेको छ । टोलबाट झन्डै सात सय मिटर टाढा डढेलो देखिएकोले टोलवासीलाई सुरक्षित इलाकातिर सारिएको थियो ।

सन्तोषले सोमबार साँझ अनलाइनखबरसँग भने, ‘हामी अहिले सुरक्षित छौ ।’

उनी आफ्नी आमा, दुई छोरीहरु र श्रीमतीलाई लिएर नजिकको सुरक्षित बस्ती मोस्भेलमा सरेका हुन् । उनी कार्यरत नर्सिंङ होमले त्यहाँका बासिन्दालाई सिड्नी र क्यानबेराको बीचमा पर्ने गोल्बर्न सारेको छ ।

सुरक्षित स्थानमा सरेका सन्तोषको परिवार ।

‘मंगलबार स्थानीय आकस्मिक सेवा एजेन्सीसँग समन्वय गरेर घर फर्किने सोचाइमा छौं,’ सन्तोषले भने ।

यसैगरी, सिड्नीको टाउन हलबाट १६० किलोमिटर टाढा पर्ने नौरा इलाकाको ३७ हजार जनसंख्यामा २५ परिवार नेपाली छन् । यो ठाउँ पनि अहिलेको डढेलोबाट प्रभावित छ । नौराको पनि साउथ नौरा बढी प्रभावित इलाका हो । त्यहाँ बस्ने ६ नेपाली परिवारमध्ये एक हो सुरज खड्काको परिवार ।

बाबु-आमा, छोरी र श्रीमतीसहित साउथ नौरामै रहेका सुरजले सोमबार साँझ अनलाइनखबरसँग कुरा गर्दै भने, ‘हामीले क्रिसमसको अघिल्लो दिन र नयाँ बर्षको अघिल्लो दिन निबास छोड्नु  पर्‍याे । अहिले चाहिँ निवासमै छौं ।’

हावाहुरी र डढेलो बस्तीको नजिकै आइपुग्दा स्थानीय आपतकालीन सेवा दिने स‌ंस्थाहरुले त्यहाँबाट सर्ने सुझाब दिएका थिए । त्यसैले ६ वटै परिवार छिमेकी बस्तीमा भएका नेपालीहरुका घरमा सरेका थिए ।

नौरामा भएका सबै २५ परिवार भाइबर तथा फेसबुक ग्रुप बनाएर नियमित सम्पर्कमा छन् । कुनै परिवारलाई समस्या भएमा तत्काल सहयोगमा जुट्छन् ।

कुनै पनि बेला विद्युत् आपूर्ति बन्द हुने सम्भावना भएकाले समाचार थाहा पाउने उनीहरुले एफएम रेडियो किनेका छन् । हाल जारी डढेलोहरुको तत्काल सूचना दिने मोबाइल एपले पनि सहयोग गरेको छ । स्थानीय एबीसी इलावारा र पावर एफएमले चौबिसै घण्टा सूचनाहरु जारी गर्छन् ।

खानेकुरा र पानीको संकट हुनसक्ने पूर्वअनुमान गरेर पर्याप्त खानेकुरा सञ्चित गरेका प्रभावित क्षेत्रका बासिन्दाले । बिस्तारै पानी पर्न थालेको र अग्नि नियन्त्रकहरुले डढेलो नियन्त्रण प्रयास जारी राखेकाले अहिलेर्लाइ घर फर्केको सुरजले बताए ।

‘डढेलोको डर अझै छ, तर सरकारी संयन्त्रहरुको प्रयास बिश्वासलाग्दो भएकाले हामी आश्वस्त छौं,’ उनले भने ।
भिक्टोरियाका लागि नेपाली महावाणिज्यदुत चन्द्र योञ्जनले सिड्नीबाट मेलबर्न जाँदै गर्दा राजमार्गमा अल्झिएको एक नेपाली परिवारलाई सरकारी निकायले उद्धार गरेर मेलबर्नतर्फ पठाएको बताए । सो परिवार सम्पर्कमा आएको र सुरक्षित रहेको उनले जानकारी दिए ।

डढेलो नियन्त्रण बाहिरै

अष्ट्रेलियामा गत सेप्टेम्बरदेखि सुरु भएको विनाशकारी डढेलो (मेघा बुस फायर) अहिले पनि नियन्त्रणमा आउन सकेको छैन । डढेलोले ५० करोड जीवजन्तुको मृत्यु भएको समाचार आएको छ भने दर्जनौं मानिसहरु हताहत भएका छन् ।

यहाको न्यु साउथ वेल्स, भिक्टोरिया, कुइन्स्ल्याण्ड, साउथ अस्ट्रेलिया र तास्मानिया राज्यमा आगो निभाउन खटेका हजारौ अग्निनियन्त्रकहरुले अथक प्रयास जारी राखेका छन् । मेघा फायरले सबैभन्दा बढी न्यु साउथ वेल्समा नोक्सानी पुर्‍याएको छ ।

डढेलो नियन्त्रणमा खटिएका अग्नि नियन्त्रक ।

सरकारले पछिल्ला केही दिनमा झन्डै दश हजार घरहरु डढेलोबाट बचाएको बताएको छ । हजारौ अग्नि नियन्त्रकहरु आगो निभाउन खटिएका छन् । प्रधानमन्त्री स्कट मोरिसनले झन्डै तीन हजार बायु तथा जल सैनिक परिचालन गरेको बताएका छन् । सरकारले दुई अर्ब अस्ट्रेलियन डलर पुनस्र्थापनाका छुट्याएको छ ।

अमेरिका, क्यानाडा, न्युजिल्याण्ड र सिंगापुरले अन्तर्राष्ट्रिय सहयोगस्वरुप दक्ष अग्निनियन्त्रकहरु, हवाईजहाज तथा राहत तथा पुनर्स्थापन सामग्रीहरु पठाएका छन् । बिस्थापितहरुका लागि नागरिक पहल सुरु भएको छ ।

राजधानी क्यानबेरा, भिक्टोरियाको मेलबर्न तथा न्यु साउथ वेल्सको सिड्नीमा स्वतस्फुर्त डेरा ब्यबस्थापनमा जनता जुटेका छन् ।

चर्चित सेलिब्रेटीहरुले आर्थिक संकलन थालेका छन् । यहाँको अस्ट्रेलियन कम्पेटीशन तथा कन्जुमर कमिसनले डढेलो पिडितका लागि नक्कली अर्थ संकलन हुन सक्ने भनेर निगरानी सुरु गरेको छ ।

सहयोगमा जुट्दै नेपाली समुदाय

अष्ट्रेलियामा रहेको नेपाली समुदाय पनि डढेलो प्रभावितका लागि सहयोगमा जुटेको छ । सोमबार बिहान यहाँको एक नेपाली व्यवसायिक समुहले दश हजार अस्ट्रेलियन डलर न्यु साउथ वेल्स रुरल फाएर सर्भिसलाई हस्तान्तरण गर्‍यो ।

एक्सपोर्ट ग्रुपका डाइरेक्टर संजीव शर्माका अनुसार गत क्रिसमसको बिदा मनाउन मेलबर्नमा जम्मा भएको उक्त ग्रुपका दुई सय कर्मचारीहरुले पाँच हजार डलर रकम जम्मा गरेका थिए । ब्यवस्थापनका तर्फबाट त्यति नै रकम थपेर दश हजार डलर बुझाइएको हो । न्यु साउथ वेल्स राज्यको रुरल फायर सर्भिसले उक्त सहयोगका लागि धन्यबाद व्यक्त गरेको छ ।

त्यस्तै दक्षिण अस्ट्रेलियाको एडिलेडमा गैरआवासीय नेपाली संघले पाँच हजार डलर सहयोग गरेको त्यहाँकी मन्त्रि जीन्ग्लीले अनलाइनखबरलाई बताइन् । गैरआवासीय नेपाली संघले भिक्टोरिया र कुइन्ल्यान्दमा आर्थिक संकलन अभियान सुरु गरेको छ । यसअघि पनि उक्त संगठनले २० हजार डलर सहयोग गरेको थियो ।

भिजिट नेपालको कार्यक्रम प्रभावित

अनियन्त्रित आगलागनीले नेपाली समुदायको भिजिट नेपाल २०२० को कार्यक्रम प्रभावित बनेको छ । याउे कार्यक्रर्लाइ डढेलो बिरुद्दको अभियानमा बदल्ने तयारी गरिएको छ ।

मंगलबार सिड्नीमा आयोजना हुने भिजिट नेपाल २०२० को उद्घाटनमा आइपुगेका नेपालका पर्यटनमन्त्री योगेश भट्टराईले डढेलो पीडितलाई सहयोग गर्न यहाँको नेपाली समुदायलाई अपिल गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment