Comments Add Comment

बुटवलका निजी विद्यालय तीन श्रेणीमा विभाजन गरी शुल्क निर्धारण

२१ पुस, बुटवल । बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका निजी विद्यालयलाई तीन श्रेणीमा विभाजन गरी शुल्क निर्धारण गरेको छ । शिक्षा समितिको बैठकले सर्वपक्षीय छलफलका आधारमा शुल्क निर्धारण गरेको हो ।

उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीका अनुसार बुटवलका १९ वटै वडामा सञ्चालित संस्थागत विद्यालयलाई वर्गीकरण गरी शुल्क तोकिएको छ । उपमहानगरको शिक्षा तथा जनसंंख्या महाशाखाका अनुसार ‘क’ श्रेणीको विद्यालयले बढीमा पूर्वप्राविमा एक हजार आठ सय ४५, प्राविमा दुई हजार ५० तथा निमाविमा दुई हजार चार सय ४३ र माविमा तीन हजार एक सय ८० रुपैयाँ मासिक शुल्क उठाउन पाउनेछन् ।

यस्तै ‘ख’ श्रेणीको विद्यालयले पूर्वप्राविमा एक हजार पाँच सय आठ, प्राविमा एक हजार छ सय ७६ तथा निमाविमा एक हजार नौ सय ७० र माविमा दुई हजार पाँच सय ९७ रुपैयाँ मासिक शुल्क निर्धारण गरिएको छ ।

‘ग’ श्रेणीको विद्यालयले पूर्वप्राविमा एक हजार तीन सय ३०, प्राविमा एक हजार चार सय ७८ तथा निमाविमा एक हजार सात सय ४९ र माविमा दुई हजार तीन सय २५ रुपैयाँ मासिक शुल्क निर्धारण गरिएको छ ।

बुटवलले कम्प्युटर कक्षाका लागि पनि शुल्क निर्धारण गरेको छ । जसमा बढीमा तीन सय ७५ रुपैयाँ र कक्षा शिक्षण सिकाइमा डिभाइस जडान गरी उपयुक्त सफ्टवेयरमा दुई विषयसम्म पढाउँदाको बढीमा एक सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

बुटवलमा बालविकासदेखि कक्षा १२ सम्म पढाइ हुने ५६ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् ।

बुटवलमा सामुदायिक विद्यालयको संख्या ३८ रहेको छ । यहाँ मदरसा तीन, गुरुकुल एक, खुला विद्यालय एक, सामुदायिक सिकाइ केन्द्र पाँच र बाल विकास केन्द्र ६१ रहेका छन् । सामुदायिकतर्फका सबै तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या भने २१ हजार दुई सय १५ रहेको छ ।

इन्टरनेटका लागि अनुदान

बुटवल उपमहानगरपालिकाले १७ वटा आधारभूत विद्यालयलाई इन्टरनेटको शुल्क भुक्तानीका लागि प्रति विद्यालय १२ हजार रुपैयाँ अनुदान दिने भएको छ ।

यस्तै सुर्योदय प्राथमिक विद्यालय बुटवल ११ का लागि बाउण्ड्री (तारबार) निर्माणका लागि १० लाख, मायादेवी जनजागृति प्रावि बुटवल ११ लाई बाउण्ड्री निर्माण गर्न १० लाख, नहरपुर माविलाई बाउण्ड्री निर्माण गर्न १४ लाख ७० हजार अनुदान दिने भएको छ ।

यसैगरी शहीद स्मृति प्रावि बुटवल ११ लाई दुई कोठे भवन (ट्रस) निर्माणका लागि १० लाख रुपैयाँ र मैनावगर प्रावि मैनावगरमा अध्यय्न गर्ने बालबालिकाको पोशाक व्यवस्थापन गर्न ७० हजार रुपैयाँ अनुदान दिने निर्णय भएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

प्रधानाध्यापकसंग ३२ बुँदे कार्यसम्पादन सम्झौता

बुटवलले शिक्षाको गुणस्तर विकासका लागि सबै सामुदायिक विद्यालयहरूका प्रधानाध्यापकहरूसंग ३२ बुँदे कार्यसम्पादन करार सम्झौता गरेको छ ।

सोही सम्झौताका आधारमा अनुगमन गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा रहेको अनुगमन समितिले अनुगमन सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment