२२ पुस, सिड्नी । नेपाल भ्रमण वर्ष २०२० को मंगलबार अष्ट्रेलियामा उद्घाटन गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् ।
त्यसअघि सिड्नीका विभिन्न स्थानबाट नेपालीहरु आ-आफ्नो सास्कृतिक पहिरनसहित सर्कुलर क्युवेमा आइपुगेका थिए ।
त्यसक्रममा नेपालीहरुले डढेलो पीडितका लागि सहयोग जुटाउने अवसरका रुपमा स्याल्भेसन आर्मीका चन्दा बाल्टिनहरु बोकेका थिए । केहि नेपाली स्वोयाम्सेवकहरुले जिवजन्तुहरुका लागि पनि सहयोग संकलन गरेका थिए ।
कार्यक्रममा नेपालका पर्यटनमन्त्री भट्टराईले अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरे ।
नेपाल र नेपाली जनता अस्ट्रेलियाको दुःखमा साथमा रहेको उनले बताए । उनले यहाँ भएका आˆना कूटनीतिक नियोग तथा नेपालीहरुलाई सहयोगमा जुट्न आग्रह गरे ।
न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओडीले अस्ट्रेलियाले व्यहोरिरहेको संकटमा नेपालीहरुको पनि साथ र सहयोग रहेको बताए ।
औपचारिक कार्यक्रम समापन भएपछि पर्यटन्मन्त्री भट्टराईसहित सहभागीहरुले नजिकै रहेको ओपेरा हाउसको भ्रमण गरेका थिए । नेपाल र अस्ट्रेलियाको झण्डासमेत बोकेका करिब दुई सय मानिस ओपेरा हाउस नजिकै पुग्दा त्यहाँका सुरक्षागार्डहरुले केहीबेर रोकेर सोधेका थिए ।
प्रदर्शन जस्तो देखिने कार्यक्रमले पर्यटकहरुलाई असुविधा पुग्ने भएकाले सुरक्षागार्डले चासो राखेका हुन् । प्रचारमा आए जस्तो स्थानीय प्रहरीले कार्यक्रम रोक्न आदेश दिएको होइन’ मन्त्री भट्टराईले अनलाइनखबरसँग भने ।
सिड्नीमा भ्रमण वर्षकै कार्यक्रममा नभई ओपेरा हाउसमा व्यवसायिक ब्यानरसहित जान सुरक्षाकर्मीले रोकिएको पाइएको छ । यसअघिको समाचार क्षमायाचनासहित सच्याइएको छ-सम्पादक
प्रतिक्रिया 4