Comments Add Comment

सुदूरपश्चिममा तीन वर्षमा सवारी दुर्घटनामा ४८२ को मृत्यु

२२ पुस, डोटी । तीन वर्षायता सुदूरपश्चिम प्रदेशमा सवारी साधन दुर्घटनामा करिब पाँच सय जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष ०७३ साउनदेखि ०७६ असार मसान्तसम्म सवारी दुर्घटनामा ४८२ जनाको मृत्यु भएको हो ।

आर्थिक वर्ष ०७३/७४ मा एक सय ३३, ०७४/७५ मा एक सय ५७ र ०७५/७६ मा एक सय ९२ जनाको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांक छ ।

दुर्घटनामा मृत्यु हुनेमा कैलालीमा सबैभन्दा धेरै २०२ जना रहेका छन् । कञ्चनपुरमा ९२, डडेल्धुरामा ८१, बैतडीमा २६ र दार्चुलामा १८ जनाको मृत्यु भएका छ ।

यस्तै, डोटीमा ५१ र बाजुरामा १२ जनाको मृत्यु भएको छ । तीन वर्षको अवधिमा अछाम र बझाङ्गमा भएका दुर्घटनामा भने कसैले ज्यान गमाउनु परेन ।

तीन वर्षको अवधिमा दुर्घटनामा एक हजार १८७ घाइते भएका छन् ।

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा भने सवारी दुर्घटनाबाट ५७ जनाको मृत्यु भएको छ । यो अवधिमा १५६ जना घाइते भएका छन् ।

तीन वर्षको अवधिमा एक हजार ८६ दुर्घटना भएका छन् । ०७३/ ७४ मा तीन सय १२, ०७४/७५ मा तीन सय ७६ र ०७५/ ७६ मा तीन सय ९८ दुर्घटना भएका छन् ।

यस्तै चालु आर्थिक वर्षको मंसिरसम्ममा १३८ दुर्घटना भएका छन् ।

सबैभन्दा बढी दुर्घटना हुने जिल्ला कैलाली रहेको छ । कैलालीमा तीन वर्षको अवधिमा ३०५ सवारी दुर्घटना भएका छन् । यो अवधिमा बझाङ्गमा कुनै पनि सवारी दुर्घटना नभएको प्रहरीको तथ्यांकमा छ ।

तीन वर्ष यताको तथ्यांकले सवारी दुर्घटना वर्षेनी बढेको देखाएको छ । चालु आर्थिक वर्षको प्रारम्भिक तथ्यांकले भने यो वर्ष सवारी दुर्घटना कम हुने देखिएको छ ।

१० करोड राजश्व संकलन

ट्राफिक प्रहरीले बिगत तीन वर्षको अवधिमा एक लाख ४० हजार ४१ सवारी साधनहरुलाई कारबाही गरेको छ । सवारी साधनको अवस्था ठीक नभएका, क्षमताभन्दा बढी लोड बोकेका, तीव्र गतिमा सवारी चलाएका, अनुमति पत्र नभएका, मादक पदार्थ सेवन गरी सवारी हाँकेकाहरुलाई कारबाही गरिएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

कार्यालयका अनुसार सवारी साधनहरुलाई गरिएको बारबाहीबाट सो अवधिमा ८ करोड ८ लाख ८६ हजार रुपैयाँ राजश्व सकलन भएको छ । यस्तै चालु आर्थिक वर्षको पाँच महिनामा थप एक करोड ९८ लाख ९८ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

कैलालीमा सवैभन्दा बढी चार करोड ८५ लाख ९१ हजार रुपैयाँ राजश्व संकलन भएको छ । बझाङ्ग जिल्लामा भने राजश्व संकलन नभएको तथ्यांकले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment