Comments Add Comment

इन्टरनेटमार्फत हुने बालदुर्व्यवहार रोक्न निर्देशिका

२३ पुस, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिरकणले ‘अनलाइन बालसुरक्षा निर्देशिका, २०७६’ जारी गरेको छ । सूचना तथा संचार प्रविधिको विकाससँगै अनलाइन (बेवसाइट, एप, सामाजिक सञ्जाल)मार्फत बालबालिकामाथि बढ्दो दुर्व्यवहारका घटनालाई न्यूनीकरण गर्न निर्देशिका जारी गरिएको हो ।

निर्देशिकाले दुर्व्यवहार र अनुचित सामग्रीको छानबिन यथाशीघ्र गर्ने प्रणाली स्थापित गर्नुपर्ने व्यवस्था गरेको प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले बताए । दूरसञ्चार सेवा प्रदायकले बाल दुर्व्यवहारजन्य सामग्री तुरुन्त हटाउने प्रणाली विकास गर्नुपर्ने भएको छ ।

प्राधिरकणले पनि कानुन कार्यान्वयन निकाय, सेवाप्रदायक तथा अन्य सरोकारवालाहरु समेतको सहभागितामा अनलाइन बालदुर्व्यवहार घटना उजुरी प्रणाली विकास गरी संचालनमा ल्याउने छ ।

दुर्व्यवहारजन्य सामग्री वा लिंकमा उजुरी गर्ने संरचना विकास गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ । सेवा प्रदायकले गम्भीर प्रकृतिका घटनाको जानकारी प्रहरी वा कानून कार्यान्वयन गर्ने निकायलाई गराउनुपर्नेछ ।

अब सेवा प्रदायकले प्रयोगकर्ता, अभिभावक वा हेरचाहकर्ताको नियन्त्रण रहने अनलाइन सामग्रीमा पहुँच प्राप्त गर्न सक्ने औजार (टुल्स) उपलब्ध गराउनु पर्नेछ । यस्तै सेवा तथा सामग्रीमा उमेर समूह स्पष्ट अवगत हुने गरी उल्लेख गर्नुपर्ने भएको छ ।

निर्देशिकामा आफ्ना बालबालिकाको इन्टरनेट प्रयोगको नियमित रेखदेख गर्नु सम्बन्धित अभिभावकको कर्तव्य हुने उल्लेख छ ।

बालबच्चालाई अभिभावकले नै इन्टरनेटको सुरक्षित प्रयोग तथा सुरक्षा औजारको सदुपयोग सम्बन्धमा आवश्यक अभिमुखीकरण गर्नुपर्ने भनिएको छ ।

जोखिमजन्य विज्ञापन तथा बालबालिकालाई उक्साउने तथा भड्काउने जस्ता सन्देशहरुलाई सीमित गर्न आवश्यक पहल गर्नु सम्बन्धित अभिभावकको कर्तव्य हुने निर्देशिकामा बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment