Comments Add Comment

स्कुलहरु झ्यालखाना नबनुन्

हालसालै रुपन्देही सम्मरीमाई– ६, ज्ञानदीप बोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्ने मोहम्मद देवान नामक १३ वर्षीय बालक शिक्षकको हातबाट गृहकार्य नगरेको बाहानामा पिटिए । हात र आँखामा गम्भीर चोट लागेका ती बालकका तस्वीर अहिले मिडियामा आइराखेका छन् ।

यस्ता घटनाहरु बारम्बार घटिरहेका हुन्छन् । मिडियामा पनि आउँछन् र सेलाएर जान्छन् । तर, कुनै ठोस कदम र नीति नियमको कार्यान्वयन र शिक्षकको व्यवहारमा परिवर्तन भने अझै हुन सकेको पाइँदैन ।

यस्ता घटनाले अहिलेको वर्तमान शिक्षण प्रकियामा नै शंका उत्पन्न भएको छ । त्यसैले, दोस्रो अभिभावक भनेर चिनिने शिक्षक–शिक्षिकाले यो विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आइसकेको छ ।

ज्ञानको आलोक दिने शिक्षा विद्यार्थीका लागि तेस्रो आँखा हो । शिक्षाको उज्यालो घामलाई विद्यार्थीको मानसपटलमा पार्ने अभिभावक शिक्षक नै हुन् । स–साना विद्यार्थीलाई पूर्ण जीवन व्यतित गर्ने कला सिकाउने शिक्षकहरु विद्यार्थीका लागि सधै महत्वपूर्ण रहन्छन् ।

हुन त आमाको काखलाई नै शिक्षा आर्जन गर्ने पहिलो पाठशाला मान्न सकिन्छ तर पनि औपचारिक रुपमा राम्रो नराम्रो सबै कुरा केलाएर जीवनको जस्तोसुकै परिस्थितिसँग समेत लड्न सक्ने ज्ञान विद्यालयमा शिक्षकहरुबाट मात्र प्राप्त हुन्छ । एउटा असल शिक्षकले चाहेको खण्डमा मानसिक, आत्मिक, बौद्धिक ज्ञान विद्यार्थीमा बाँड्न सक्छ, जसले समाज र देशलाई नै समुचित दिशा प्रदान गर्न सक्छ । असल शिक्षकको सहयोगले नै विद्यार्थीले आफ्नो प्रगति र विकासका नयाँ द्वारहरु खोल्न सक्छ । नवीन क्षितिजहरु पहिल्याउन सक्छ ।

यो पनि पढ्नुहोस गृहकार्य नगरेको भन्दै कुटिए विद्यार्थी, आँखामा गम्भीर चोट

व्यवाहारिक जीवनमा आई पर्ने गास, वास र कपासका लागि गर्ने संघर्षको पाठ पनि असल शिक्षकले विद्यार्थीलाई पढाउन सक्छ । एउटा इमान्दार शिक्षकले प्रेमपूर्वक विद्यार्थीमा देशको सभ्यता, संस्कृति, रीति, नीति, विचारधारा, शासन प्रणालीसहित समाजका समस्या एवं उत्थानका उपायहरु पढाउन सक्छ ।

तर ! सानै उमेरदेखि भर्ना हुने बालबालिकाहरुलाई शिक्षाको सुन्दर आभूषणमा आकर्षित गर्न के आजका शिक्षकहरुले साच्चै नै विद्यार्थीको चरित्र निर्माण गर्नुपर्ने भूमिकालाई निर्वाह गर्न सकेका छन् त ? शिक्षामा भइरहेको चरम व्यापारीकरणकै पासोमा परी कतै जाँचमा पास गरेर नम्बर मात्र ल्याउन दण्डनीय पद्दति त विकास गरिरहेका छैनन् ? हरेक कक्षा पास गरेर प्रमाण पत्र पाउने नाममा गृहकार्यको बोझ भिराएर, किताबको भारी बोकाएर, कतै विद्यार्थीलाई शिक्षकद्वारा नै विद्यालयमा नारकीय जीवन भोग्न बाध्य पारिएको त छैन ? यी प्रश्नहरुमा, सबै शिक्षकहरुले गम्भीर भएर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ ।

भिक्टर ह्यूगोको एउटा भनाइ छ– जुन मानिसले एउटा स्कुल खोल्छ, त्यसले संसारको एउटा झ्यालखाना बन्द गर्दछ ।

तर, विडम्बना, अचेल विद्यार्थीको नजरमा स्कुल आफंैमा झ्यालखाना जस्तै प्रतिविम्वित हुँदैछन् र स्कुलमा गृहकार्य नगरेको बहानामा दिइने सजायहरु कैदीलाई दिइने सजाय जस्तै छन् । यसको भागिदार शिक्षाको मन्दिरमा रोजगारी गर्न मात्र होइन, विद्यार्थीको प्रोत्साहन र पराक्रममा सारथी बन्न जाने शिक्षकहरु हुन्छन् कि हुँदैनन् ? हुन्छन् भने शिक्षकहरुले विद्यार्थी तह लगाउन सजायको सट्टामा प्रेम र माया किन नबाँड्ने ?

हाम्रो सिकाइ प्रणाली र शिक्षाको विकास क्रममा समाजको नराम्रो ऐठन परेको छ । दण्डले विद्यार्थीको बानी व्यवहारमा आमूल परिवर्तन आउने भ्रममा छन् शिक्षकहरु । त्यसैले, अनुशासन र मर्यादा कायम राख्ने प्रचलनका आधारमा सजायको भागिदार बनाइन्छन् विद्यार्थीहरु ।

शिक्षक र विद्यार्थीको सम्बन्ध सुमधुर हुनुपर्ने बेलामा बेक्कारमा हिंसाबाट ग्रसित छन् विद्यार्थीहरु । जसका कारण पनि मनोवैज्ञानिक असर पर्न गई विद्यार्थीलाई विद्यालयसम्म लैजान गाह्रो परिरहेको हुन्छ । विद्यालय र शिक्षकप्रति नै हीनताबोध सिर्जना हुन सक्छ । हप्काई होइन, प्रेमपूर्वक सम्झाउनुपर्ने वा संरक्षकको भूमिकामा उभिनुपर्ने शिक्षक नै जाइलाग्न थालेपछि विद्यार्थीमा पढाइप्रति ग्लानी लाग्नु स्वाभाविक पनि हो ।

सजायँ दिएर मात्र विद्यार्थी सुधार्न सकिन्छ भन्दै मूर्खता पूर्ण चस्मा शिक्षकले लगाइन्जेलसम्म विद्यालयहरु यन्त्र उब्जाउने कारखाना मात्र हुनेछन् । घिच्याएर वाक्कलाग्दा पाठहरु सजाय खुवाई खुवाई घोकाउँदा, सायदै त्यो विद्यार्थीले प्राकृतिक विकासको निकास त्यस शिक्षाबाट पाउँछ । बरु विद्यार्थीको नजरमा त्यो शिक्षक अल्पज्ञानयुक्त अत्याचार, लदाउने तानाशाहीका रुपमा चित्रित हुन्छ ।

आजका शिक्षकहरुमा कसरी विद्यार्थीको चैतन्य विकास गराउने ? कसरी विद्यार्थीलाई हितकारी र सामर्थ्यवान बनाउने ? कसरी शिक्षाप्रतिको विश्वासमा सत्याभास गराउने ? कसरी विद्यार्थीलाई प्रकाशनशील बनाएर सत्यको पथमा अग्रसर गराउने ? भन्दा पनि गृहकार्य पूरा गर्‍यो कि गरेन ? पूरा नगरेको खण्डमा कस्तो सजायँ दिने ? परीक्षामा अंक ल्यायो कि ल्याएन ? विद्यालयमा शुल्क तिर्‍यो कि तिरेन ? यस्ता प्रश्नहरुले महत्व पाउन थालेका छन् ।

यस्तो पाराले भर्खर भर्ना भएर विद्यालय जान थालेका बालबच्चाहरुलाई कसरी समयक्रम अनुसार पूरा मानिस बनाउन सकिएला र ? अब समयको सदुपयोग गर्ने र राष्ट्रको सुनौलो भविष्य कोर्ने विद्यार्थी उब्जाउन, साँच्चै नै शिक्षकहरु आ–आफ्नो स्थानबाट प्रतिबद्ध भएर लाग्नैपर्छ ।

प्रिय शिक्षकहरु, भोलिका देशका कर्णधारहरुलाई कस्तो पाठ सिकाउने सबै तपाईहरुकै हातमा छ । भयरहित सिकाइ प्रणालीको अनुसरण आजैदेखि हुनुपर्ने जरुरी छ । तपाई शिक्षकहरुको असमाजिक कार्यले विद्यार्थीमा तिरस्कारयुक्त भावना जागृत हुन सक्छ । हिजोसम्म साथीसँग रमाएर स्कुलमा खेल्ने पढ्ने गरेको बालक भोलिदेखि तपाईंकै नकारात्मक व्यवहार देख्दा/भोग्दा स्कुल जान्नँ भन्न सक्छ । हरेक सिकाइमा प्राकृतिक मोहनी जागृत गराउन सक्नुपर्छ तपाईंहरुले ।

कृत्रिमतायुक्त पढाइ एक दुई दिनमा नै अचेत हुन्छ ।जसरी एउटी आमाले गाईलाई बाँ बाँ भनेर चिनाउँछिन् र सिकेका कुराहरुलाई चिरस्थायी बनाउन प्रेमको जलप लगाउँछिन् । हो, त्यसरी नै अब आजका शिक्षकहरुले विद्यार्थीलाई प्रेम र स्नेहको प्राकृतिक भाषा मार्फत उनीहरुले सिकेका कुराहरुलाई मगजमा भर्न सक्नुपर्छ । घोकाएर वा गृहकार्य लेखाएर मात्र होइन देखेर, सुनेर, भोगेर र अनुमान गरेर पनि धेरै कुरा विद्यार्थीले सिक्न सक्छन्, त्यसैले शिक्षकहरु विद्यार्थीमा प्रेरणायुक्त र तनावमुक्त मैत्री वातावरण निर्माण गर्न आजैदेखि लाग्नुपर्छ । यसका लागि शिक्षा मन्त्रालयद्वारा शिक्षकलाई उचित तालिम एवं प्रशिक्षणको व्यवस्था मिलाउनुपर्छ र कानूनीरुपमा नै वर्जित विद्यार्थीलाई दण्ड दिने कुप्रचलन रोक्नुपर्छ । शिक्षकहरुले पनि आफ्नो अहंकार र हिंसात्मक प्रवृत्तिहरु त्याग्न सक्नुपर्छ । समाज र अभिभावकसमेत विद्यालयमा हुने शिक्षकका गतिविधिप्रति चनाखो भइराख्नुपर्छ ।

यो पनि पढ्नुहोस घाइते विद्यार्थीको डर : सरले फेरि पिट्ने पो हो कि ?

जसरी पहाड, झरना, नदी हेरेरै मानिसले धेरै कुरा सिकिरहेको हुन्छ, त्यसरी नै एउटा गुणवान शिक्षकलाई हेरेर नै विद्यार्थीले आफ्नो कलिलो मगजमा स्वाभिमानको ज्ञान भर्न सक्छन् । शिक्षकको आनीबानी, लवाइ खुवाई, हिँड्ने शैली सबैबाट विद्यार्थी प्रशिक्षित हुन सक्ने कुरामा आजका शिक्षकहरु सचेत हुनुपर्छ ।

शिक्षा एउटा कला हो भने शिक्षक कलाकार हुन् । जसरी एउटा दर्शकले एउटा कलाकारले प्रस्तुत गर्ने कला बिनाकुनै सकस, स्वतस्फूर्त आफूभित्र ग्रहण गर्न सक्छ, त्यसरी नै एउटा विद्यार्थीले शिक्षकले व्यक्त गर्ने सत्य र धैर्यताको पाठ यसरी नै ग्रहण गर्न सक्नुपर्छ । अनि मात्र उ विद्यार्थीको हृदयमा असल शिक्षक सावित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment