Comments Add Comment

मोबाइलका टावर राख्न कडाइ, प्राधिकरणसँग पूर्वस्वीकृति लिनुपर्ने

२३ पुस, काठमाडौं । सरकारले असुरक्षा हुने गरी जथाभवी ढंगले मोबाइल तथा इन्टरनेटसहित दूरसञ्चार सेवाका टावर राख्न नदिने भएको छ । साथै दूरसञ्चार सेवा प्रदायकले ७ मिटरभन्दा अग्ला टावरको निर्माण गर्न दूरसञ्चार प्राधिकरणसँग अनुमति लिनु पर्ने भएको छ ।

प्राधिकरणले जारी गरेको दूरसञ्चार टावर निर्माण तथा सञ्चालनसम्बन्धी विनियमावली, २०७६ मा यस्तो व्यवस्था गरिएको हो । ५० मिटरभन्दा अग्ला टावर वा मास्ट (टावरको आधार संरचना) स्थापना गर्न भने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पूर्वसहमति लिनु पर्ने विनियमावलीमा उल्लेख छ ।

हाल सञ्चालनमा रहेका टावरका सम्बन्धमा पनि अबको तीन महिनाभित्र बिस्तृत विवरण दूरसञ्चार प्राधिकरणसमक्ष पेश गर्नुपर्ने दूरसञ्चार प्राधिरकणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।

अनुमति लिएर टावर वा मास्ट जडान कार्य सम्पन्न भएपछि प्राधिकरणसमक्ष कार्यसम्पन्नताको प्रतिवेदन पेश गर्नुपर्ने छ । कुनै पनि टावरको अपेक्षित अवधि पच्चीस वर्ष हुने उल्लेख गरिएको छ ।

विनियमावलीले कुनै पनि टावर संरचनाको अधिकतम् उचाइ नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सम्बन्धित निकायले तोकेको सीमा भित्र हुनु पर्ने व्यवस्था गरेको छ विमानस्थल नजिकै वा हवाईक्षेत्रमा जडान गरिने टावरको उचाइ निर्धारण गर्दा सुरक्षामा कुनै किसिमको वाधा वा अवरोध नपुग्ने गरी विशेष सावधानी अपनाउनु पर्ने भनिएको छ ।

तोकेको मापदण्ड कार्यान्वयन नभएका टावर संरचना हटाउन निर्देशन दिन सकिने व्यवस्था गरिएको छ । विद्युतको उच्च भोल्टेज (हाइटेन्सन) लाइन नजिकै एण्टेना संरचनाको डिजाइन गर्दा विभिन्न मापदण्डहरु पालना गर्नुपर्नेछ ।

टावर संरचनाहरुको प्रारुप तयार गर्दा कुनै विपदबाट (भूकम्प, वायु, चट्याङ, अर्थिड.) सुरक्षित हुने पर्याप्त आधार सहितको विस्तृत विवरण उल्लेख गर्नुपर्ने व्यवस्था विनियमावलीले गरेको छ । जमीनमा जडान गरिने टावरको उचाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघले निर्धारण गरेको आधारभन्दा बढी हुनु नहुने बिनियमावलीमा उल्लेख छ ।

प्राकृतिक विपत्तिका कारण कुनै संरचनामा क्षति पुग्न गएमा जनधनको नोक्सानी हुनबाट बचाउन संरचनाको वरिपरि पर्याप्त खाली जग्गा (कम्तिमा ३ मिटर) हुनु पर्नेछ । टावर संरचना भएको परिसरमा अनाधिकृत रुपमा प्रवेशमा रोक लगाउन सो क्षेत्रमा उपयुक्त तारवार सहितको घेरा लगाउनु पर्ने र प्रष्ट रुपमा देखिने गरी चेतावनी संकेत राख्नुपर्ने छ ।

कुनै पनि आवासीय भवनको छतमाथि टावर राख्दा भवनको भार वहन क्षमता समेत यकीन गर्नुपर्नेछ । स्ट्रक्चरल इन्जिनियरले भवन सुरक्षित रहेको प्रमाणित गरेमा मात्रै भवनकोे छतमा मात्र सेवा प्रदायकले त्यस्ता टावर राख्न पाइनेछ ।

टावर संरचना निर्माण गरिने भवन राष्ट्रिय भवन संहिता अनुरुप निर्माण भएको हुनु पर्नेछ । सार्वजनिक वा निजी आवासीय भवनमा १५ मिटर भन्दा अग्ला टावर संरचना निर्माण गर्न पाइने छैन ।

त्यसरी टावर बनाउँदा सुरक्षाको दृष्टिले बलियो हुने गरी भरथेग गर्ने सिस्टमहरु जडान गनुृपर्नेछ । जमीनबाट भवन र टावर संरचनाको उचाईको योग ४५ मिटरभन्दा बढी हुनु हुँदैन ।

हावाको तीव्र वेग आदिकोे कारणले टावर संरचना भत्किएर हुनसक्ने जनधनको क्षति रोक्न विद्युतीय वेल्डिङ, निर्माण सामग्रीे, ग्याल्भनाइजेसन र अन्य हार्डवेयरहरु गुणस्तरीय हुनु पर्ने विनियममा उल्लेख छ । टावर संरचना निर्माण गर्दा चट्याङ प्रतिरोधी संरचना निर्माण गर्नु पर्नेछ ।

सबै मास्टहरु विद्युतीय रुपमा जमिनसँग जोडिएको हुनु पर्ने र सुरक्षित तवरले अनिवार्य रुपमा अर्थिङ गर्नुपर्ने व्यवस्था छ ।

ठूला पूर्वाधार (टावर) संरचना निर्माण गर्दा हवाईजहाज दुर्घटनाको जोखिम हटाउन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघले निर्धारण गरेको मापदण्डअनुसारका संकेत चिह्न वा बत्ती जडान गर्नु पर्नेछ । सबै अग्ला टावर संरचनामा १.५ मिटर देखि ३ मिटरसम्म उचार्ईका सुन्तला र सेतो वा रातो र सेतो रङका धर्काहरु बनाउनु पर्नेछ ।

विनियमावलीमा सबै मास्ट तथा टावर संरचनाहरुमा अवरोधको सूचना दिन गाढा रातो बत्ती जडान गर्नु पर्ने नियम छ । एन्टेना मास्ट वा टावर संरचनाको कुनै पनि भागमा विज्ञापनजन्य कुनै चिन्ह, सजावटका बत्तीहरु, व्यानर तथा कुनै पनि कम्पनीको नाम राख्न नपाइने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment